+
+

४ अर्ब खर्चिएर मेलम्चीको नयाँ हेडवर्क्स बनाइँदै, पुरानो काम नलाग्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २४ गते २०:२५

२४ जेठ, काठमाडौं। सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ मुहानस्थल (हेडवर्क्स) बनाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मेलम्ची खानेपानी आयोजनाको हाल अम्बाथानमा रहेको हेडवर्क्सको विकल्पमा रुपमा उपयुक्त स्थानमा नयाँ हेडवर्क्स बनाउन खानेपानी मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ ।

हेडवर्क्स भन्नाले खोलाबाट सुरुङमा पानी हाल्ने गरी बाँध र त्यसको नियन्त्रण प्रणाली र बालुवा थिग्र्याउने गरी बनाइने स्थायी संरचनासहितको पूर्वाधारलाई बुझाउँछ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार मेलम्चीको मुहानभन्दा माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा नयाँ संरचना निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो ।

१ असार २०७८ को भीषण बाढीले मेलम्चीको तयार भएको हेडवर्क्स पुरेको थियो । त्यसपछि आयोजनाले वर्षाभरि सुरुङको मुख बन्द गर्ने र हिउँदमा खोलेर सोझै खोलाबाट पानी हालेर काठमाडौं ल्याउने गरिरहेको छ ।

एसियाली विकास बैंक (एडीबी) एक क्यानेडियन परामर्शदातामार्फत गराएको अध्ययन प्रतिवेदनमा अहिले हेडवर्क्स रहेको स्थानभन्दा ७ देखि ८ सय मिटरमाथिको तटीय क्षेत्रमा मुहानस्थल सार्नुपर्ने निष्कर्ष निकालिएको छ ।

मेलम्चीको खानेपानी नियमित काठमाडौं ल्याउन अहिलेको हेडवर्क्स काम नलाग्ने गरी पुरिएकाले अब नयाँ स्थायी हेडवर्क्स बनाउनु पर्ने अवस्था आएको हो । हरेक वर्ष पटके रुपमा हुने यस्तो मर्मतलाई टार्न र स्थायी समाधान निकाल्न मुहान सार्नुपर्ने अध्ययनको निष्कर्ष छ ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल सार्न चार अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

यो अनुमान यसअघि आयोजनाको हेडवर्क्स र सुरुङका लागि गरिएको कामका आधारमा गरिएको हो । स्रोतका अनुसार अबको मुहान नदी किनारभन्दा पर बाढी नपस्ने सुनिश्चित गरी भूमिगत रुपमा निर्माण गरिनेछ ।

नयाँ हेडवर्क्स निर्माण गर्न १८ मिलियन अमेरिकी डलर अर्थात् करिब २ अर्ब रुपैयाँ एडीबीले अनुदान दिने र बाँकी रकम एडीबाट ऋण लिने तयारी छ । त्यसका लागि केही समयभित्रै एडीबीसँग ऋण तथा अनुदान प्राप्तिको समझौता गर्ने तयारी छ ।

सरकारले २०७६ असोजमा सिनोसँग १५ महिनामा काम सक्ने गरी ९० करोडमा बाँधस्थल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । तर, काम सकिएर परीक्षण थाल्ने समयमै बाढी आएर मेलम्चीको बाँध र पानी छान्ने संयन्त्र (डिसेन्डर) पुरिएको थियो ।

प्रस्तावित नयाँ मुहानस्थलबाट साविकको सुरुङसम्म पानी ल्याउन नयाँ सुरुङ खन्नुपर्छ । त्यस स्थानसम्म पुग्न बाटो पनि निर्माण गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?