+

सौरभ नेत्रवालकर : भारतमा जन्मिएर पाकिस्तानलाई हराउने अमेरिकाको सुपर हिरो

२०८१ जेठ  २५ गते ९:०५ २०८१ जेठ २५ गते ९:०५
सौरभ नेत्रवालकर : भारतमा जन्मिएर पाकिस्तानलाई हराउने अमेरिकाको सुपर हिरो

२५ जेठ, डालस । आईसीसी टी–२० विश्वकप २०२४ मा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै डेब्यू टी–२० विश्वकपमा विश्वमै सनसनी मच्चाएको छ । सुपर–८ को सम्भावना मजबुत पनि बनाएको छ ।

पाकिस्तानविरुद्ध ब्याटिङ र बलिङ दुबैमा अमेरिका हाबी बन्यो । सबै खेलाडीको योगदान त्यति नै महत्वपूर्ण छ । त्यसमा सुपर ओभरमा बायाँहाते तीव्र गतिका बलर सौरभ नेत्रवालकर हिरो बने ।

ग्राण्ड प्रेरी रंगशालामा १६० रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ३ विकेट गुमाउँदै १५९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो ।

पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद आमिरले १८ रन खर्चेका थिए । सुपर ओभरमा पहिलो बलमा आमिरले आरोन जोन्सलाई चौका दिए । त्यसपछि लगातार वाइड र कमजोर फिल्डिङको फाइदा उठाउँदै अमेरिकाले १८ रन जोडेको थियो ।

उक्त लक्ष्य बचाउन अमेरिकाले सौरभलाई ल्यायो । पाकिस्तानी मुलका अली खानसँग विदेशी फ्रेन्चाइज लिग खेलको अनुभव थियो । योर्कर र गती पनि त्यति नै राम्रो थियो ।

तर कप्तान मोनांक पटेलले सौरभलाई विश्वास गरे । इफ्तिखर अहमदलाई सौरभले अफ साइडको बल डट राख्दै सुरुवात गरे । दोस्रो बलमा इफ्तिखरले डीप मिड विकेटमा चौका हाने । उक्त चौकाको दबाबमा लगत्तै अर्को बल वाइड गर्न पुगे ।

उक्त वाइडपछि उनलाई अमेरिकी खेलाडीले सम्झाउन थालेका थिए । दर्शकदीर्घामा पाकिस्तानी समर्थकको बाहुल्यता थियो । अमेरिकी दर्शक पनि थिए । सौरभकी आमा पनि रंगशालामै छोराको खेल हेरिरहेकी थिइन् ।

त्यसपछि सौरभले तेस्रो बलमा इफ्तिखर अहमदलाई मिलिन्ड कुमारबाट क्याच गराउँदै जितको आधार तय जस्तै गराए । लगत्तै सादब खानलाई उनले वाइड गरे । चौथो बलमा चौका खर्चिए पनि आत्तिएनन् ।

पाकिस्तानलाई २ बलमा ९ रन चाहिएको थियो । पाँचौं बलमामात्रै दुई र अन्तिम बलमा एक रन दिँदै रोमाञ्चक र पाकिस्तानमाथि पहिलो पटक जित दिलाए । उनले सुपर ओभरमा १३ रन खर्चिएका थिए ।

विश्वस्तरीय ब्याटरविरुद्ध कसिलो बलिङ

पाकिस्तानले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको थियो । पाकिस्तान ओपनर बाबर आजम र मोहम्मद रिजवानमा बढी निर्भर छ ।

सौरभले दोस्रो ओभरमा मोहम्मद रिजवानलाई अफ साइडको बलबाट सुरुवात गरे । दोस्रो बलमा लाइन एण्ड लेन्थमा बल राखे । रिजवान उक्त बल रोक्न चाहन्थे । तर एज लाग्न पुग्यो र फस्ट स्लिपका फिल्डर स्टिभ टेलरले ड्राइभ हान्दै ९ रनमा एक हातले अद्भूत क्याच लिए ।

अमेरिकाको जितको एउटा टर्निङ प्वाइन्ट उक्त विकेट पनि थियो । रिजवान आउट भएपछि पाकिस्तानका ब्याटर खुलेर खेल्न सकेनन् ।

सौरभले चौथो ओभरमा मात्रै एक रन दिएर पाँच बल डट राखे । त्यो डटले अर्को ओभरमा अली खानले उस्मान खानलाई ३ रनमा आउट गरेका थिए । पाँचौं ओभरमा उनले ३ रन दिए । उनले सुरुवाती ३ ओभरमा मात्रै ८ रन खर्चेका थिए । त्यसको कारण अन्य बलरलाई विकेट निकाल्न सहज भयो । पाकिस्तान पावर प्लेमा ३०–३ को अवस्थामा थियो ।

त्यसपछि पाकिस्तानले लगातार ठूलो सट खेल्न संघर्ष गर्न थाल्यो । उस्मान खान ३ र फखार जमान ११ रनमा आउट भएपछि पाकिस्तान ४.४ ओभरमा २६–३ को अवस्थामा थियो । त्यो दबाबमा पाकिस्तानका कप्तान बाबर आजम खुल्न सकेनन् । अर्को एण्डबाट सादब खानले आक्रामक क्रिकेट खेल्न थाले ।

बाबर आजम

बाबर आजम एक समय २४ बलमा १० रन बनाएर खेलेका थिए । पछि बाबर ४३ बलमा ४४ रनमा आउट भए । चौथो विकेटका लागि बाबर र सादबले ७२ रनको इनिङ खेल्दै राम्रो योगफलको सम्भावना देखाए ।

केन्जिगेको बलमा सादब सर्ट फाइन लेगमा सौरभ नेत्रवालकरबाट ४० रनमा क्याच आउट भएका थिए । सादबले २५ बलमा १ चौका र ३ छक्का हाने । त्यो समय पाकिस्तान १२.४ ओभरमा ९८–४ को अवस्थामा थियो । सादब आउट भएको अर्को बलमा केंजिगेले आजम खानलाई शून्यमा एलबीडब्लू आउट गरे ।

त्यसपछि तल्लोक्रममा पाकिस्तानको आशा इफ्तिखर अहमद थिए । १९ औं ओभरको पहिलो बलमा सौरभले इफ्तिखरलाई १८ रनमा क्याच गराएका थिए । त्यसै ओभरको तेस्रो बलमा लङअनमा शाहिन शाह अफ्रिदीले छक्का हानेका थिए । उनले ४ ओभरमा १८ रन खर्चेर २ महत्वपूर्ण विकेट लिए । जसमा १३ बल डट राख्दा बाउन्ड्रीको रुपमा एक मात्रै छक्का खर्चिए ।

अमेरिकाका अली खानले ४ ओभरमा ३० रन खर्चेर १ विकेट, नोस्थुश केजिंगेले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट र जसदीप सिंहले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए ।

पाकिस्तानका तीव्र गतिका बलर अफ्रिदी, हरिस रौफ, नसिम शाह र मोहम्मद आमिर जस्ता विश्वको उत्कृष्ट तीव्र गतिको बलिङ आक्रमण सामु अमेरिकाका ब्याटरले पनि त्यति नै उत्कृष्ट ब्याटिङ गरे । कप्तान मोनांक पटेलले ३८ बलमा ७ चौका र १ छक्कासहित ५०, एन्ड्रिस गौस ३५ र आरोन जोन्सले ३६ रनको योगदान दिए ।

अन्तिम समयमा चुक्दा सुपर ओभर

अमेरिका १६ ओभरमा १२६–३ को अवस्थामा हुँदा सहजै जित्ने अनुमान थियो । किनभने न्युजिल्यान्डका पूर्व क्रिकेटर कोरी एन्डरसन र भारतीय मुलका हरमीत सिंह जस्ता फिनिसर आउन बाँकी थियो । १७ औं ओभरमा नसिम साहले ६ रन, १८ औं ओभरमा अफ्रिदीले ७ रन र १९ औं ओभरमा आमिरले ६ रन दिएपछि अमेरिकालाई कठिन परेको थियो ।

अन्तिम ६ बलमा १५ रन चाहिँदा अमेरिकाको हातमा ७ विकेट थियो । हरिस रौफको दोस्रो बलमा अफ्रिदीले आरोन जोन्सको क्याच छाड्न पुगेका थिए । सुरुवाती तीन बलमा मात्रै तीन रन खर्चेपछि १२ रन चाहिएको थियो । चौथो बलमा वाइड लङवाइडमा उत्कृष्ट छक्का हानेपछि खेल फर्किएको थियो ।

पाँचौं बलमा जोन्सले एक रन लिए । त्यसपछि अन्तिम बलमा मिडअफमा नितिश कुमारले चौका हानेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

भारतमा यू–१९ विश्वकप, अमेरिकाबाट टी–२० विश्वकप

सुपर ओभरको जितमा हिरो बनेका सौरभ नेत्रवालकरको जन्म भारतको मुम्बईमा सन् १९९१ मा भएको थियो । क्रिकेटका लागि प्रसिद्ध शहर मुम्बईको संस्कारबाट हुर्किएका उनी सन् २०१० को यू–१९ विश्वकपमा भारतीय टोलीमा थिए ।

सन् २०१० को यू–१९ विश्वकपमा पाकिस्तानले क्वाटरफाइनलमा भारतलाई २ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको थियो । सौरभले उक्त खेलमा ५ ओभरमा १ मेडनसहित १६ रन खर्चेर १ विकेट लिएका थिए ।

सन्दीप शर्मा र जयदेव उनादकट पनि उक्त खेलमा खेलेका थिए । पाकिस्तानविरुद्ध ४ भन्दा कम इकोनमीमा रन खर्चिने सौरभ एक्लो भारतीय बलर थिए । उक्त विश्वकपमा सौरभले ६ खेलमा ९ विकेट लिएका थिए ।

त्यसपछि भारतमा उनले निरन्तर घरेलु क्रिकेट खेले । सन् २०१३ डिसेम्बरमा मुम्बईबाट उनले कर्नाटकाविरुद्ध रणजी ट्रफीमा डेब्यू गर्दै कुल ३ विकेट लिएका थिए । रणजी खेलेको उनले त्यही एकमात्रै खेल हो । त्यही समय उनले कम्प्युटर इन्जिनियरिङ समेत पढेका थिए ।

भारत छाडेर अमेरिका

घरेलु क्रिकेटमा खासै मौका नपाएपछि उनी कम्प्युटर विज्ञान पढ्न सन् २०१५ मा अमेरिका आए । २०१६ देखि उनले कम्प्युटर कम्पनी ओर्कलमा काम गर्न थाले । तर उनी क्रिकेटबाट टाढा हुन सकेनन् । अमेरिकामा घरेलु क्रिकेट खेल्न थाले । त्यसैमा २०१८ मा उनी पहिलो पटक अमेरिकाको टोलीमा परे ।

सन् २०१८ मा अमेरिकाबाट डिभिजन–थ्रीमा उनले ४ खेलमा ९ विकेट लिदै उच्च प्रदर्शन गरे । २०१९ मा अमेरिकालाई ओडीआई मान्यता फिर्ता गर्दा उनी टोलीको कप्तान थिए । उनको कप्तानीमा ओडीआई मान्यता पाएपछि अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा सुरुवातमा ७ मध्ये ६ खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो ।

सन् २०२० फेब्रुअरीमा नेपालमा ४ मध्ये ३ खेल अमेरिकाले हारेको थियो । नेपालसँग दोस्रो खेलमा अमेरिका ३५ रनमा अलआउट भएको थियो । २०२१ मेदेखि सौरभले आफ्नो बलिङमा ध्यान दिन भन्दै कप्तानी छाडेका थिए । त्यसपछि मोनांक अमेरिकाको कप्तान बनेका थिए ।

सौरभ अमेरिकाका सर्वाधिक सफल बलरमा पर्दछन् । ४८ ओडीआईमा उनले ७३ विकेट लिएका छन् । उनीपछि निसर्ग पटेलले ४१ खेलमा ४२ विकेट लिएका छन् ।

टी–२० आईमा पनि सौरभ अमेरिकाबाट सर्वाधिक २९ विकेट लिने बलर हुन् । उनी अमेरिकाबाट ओडीआईमा पाँच विकेट लिने पहिलो र टी–२० आईमा एक्लो खेलाडी हुन् ।

टी–२० विश्वकप २०२४ सुपर ओभर सौरभ नेत्रवालकर
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय