+
+

कांग्रेसले भ्रातृ संस्था फेरि भंग गर्दैछ ?

पछिल्लो पटक थपिएको समयानुसार महाधिवेशन गर्ने अवधि १५ असारसम्म तोकिएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ जेठ २५ गते २०:०५
नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ र महिला संघकी अध्यक्ष उषा राउत मिश्र ।

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसले उपलब्ध गराएको अवधिभित्र भ्रातृ संस्थाहरूले महाधिवेशन गर्न नसकेपछि भंग गर्ने वा निरन्तरता दिनेमा अन्योल देखिएको छ ।

पछिल्लो पटक थपिएको समयानुसार महाधिवेशन गर्ने अवधि १५ असारसम्म तोकिएको छ । १३ भ्रातृ संस्थामध्ये १० वटा ३ फागुन २०७८ मा भंग गरिएको थियो । त्यसयता पटकपटक गरी तदर्थ समितिका लागि समय थपे पनि भ्रातृ संस्थाले महाधिवेशन भने गर्न सकेनन् ।

कांग्रेसको केन्द्रीय समितिको गत पुस १२ देखि १४ गतेसम्म भएको बैठकले १५ असार २०८१ भित्र महाधिवेशन सम्पन्न गर्ने अवधि थपेको थियो । यो अवधिमा महाअधिवेशन गर्न नसके के गर्नेबारे भन्ने पार्टीले निर्णय लिएको छैन ।

पटकपटक थपिएको समयमा समेत भ्रातृ संस्थाले महाधिवेशन गर्न नसकेपछि भंग गर्नुपर्ने आवाज पार्टीमा उठेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । ‘सबै संगठन भद्दा भयो । चल्न नसक्ने भए । केही गर्न नसक्ने र केही चाहिं गर्न नपाउने खालका भए,’ विश्वकर्माले भने, ‘त्यसकारण यसलाई पुनर्विचार गर्नुपर्छ कि भनेर धेरैजसो नेताको कुरा सुन्नमा आएको छ ।’

पार्टीभित्रका समूहलाई हिस्सा मिलाउनका लागि जम्बो आकारको तदर्थ समिति बनाइएको छ । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ५२, भूतपूर्व सैनिक संघ ७९, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति बनाइएको छ ।

पार्टी भित्रका समूहलाई चित्त बुझाउन जम्बो आकारको तदर्थ समिति बनाउनु परेको पार्टी नेताहरूको स्वीकारोक्ति छ ।

भंग गर्नुपर्ने र गर्न नहुने दुई खालका धारणा पार्टीभित्र देखिएका छन् । संस्थापन पक्षका नेताहरू जिम्मेवारीअनुसार समयमा काम गर्न नसकेकाले भंग गर्नुपर्ने पक्षमा देखिएका छन् ।

भ्रातृ संस्थामा दुई प्रकृतिका विचार रहेको महामन्त्री गगन थापा बताउँछन् । ‘जति थपिदिए पनि सक्दै सकिंदैन भन्ने साथीहरू पनि प्रशस्त हुनुहुन्छ,’ महामन्त्री थापाले भने, ‘मसहित केही साथीहरूको विचार भने भंग नगरेर यसैलाई अधिवेशनतिर लानुपर्छ भन्ने छ । भंग गर्नुपर्ने साथीहरूको मुख्य विचार बन्यो भने नयाँ कमिटी आउला ।’

भातृ संघ सञ्चालनका लागि पार्टी विधानले नै निश्चित व्यवस्था गरेको छ । भ्रातृ संस्थाको विधानले दिएको अधिकारमा टेकेर नेतृत्व चयन गर्न सकिने अवस्था छ ।

भ्रातृ संस्थाको आन्तरिक समस्या तथा पार्टीले गर्ने हस्तक्षेपले समयमा महाधिवेशन हुन सकेको छैन । स्वायत्त संस्थाका रूपमा भनिए पनि भ्रातृ संस्थाहरूले विधान बनाउनेदेखि नेतृत्व चयन गर्नसक्ने अवस्थासमेत छैन ।

पार्टीले भ्रातृ संस्थामा हस्तक्षेप गर्दा समस्या देखिएको महामन्त्री थापा स्वीकार्छन् । ‘हामीले नै संस्थालाई काम गर्ने हात खुट्टा बाँधिदिने र भ्रातृ संस्थालाई काम गर्न नदिने अवस्था बनाएका छौं,’ महामन्त्री थापाले भने ।

भ्रातृ संस्थालाई महाधिवेशन उन्मुख बनाउने बारेमा पार्टीभित्र नयाँ विकल्पमा बारेमा पनि चर्चा भएको छ । पार्टीका नेताहरूलाई जिम्मेवारी दिएर भ्रातृ संस्थाको महाधिवेशन गराउन सकिने विकल्प रहेको प्रचार विभाग प्रमुख विश्वकर्मा बताउँछन् ।

विद्यमान तदर्थ समितिलाई विघटन नगर्ने हो भने केन्द्रीय नेताहरूले संयोजन गर्ने गरी महाधिवशेन तयारी समिति बनाउन सकिने विकल्प उनले सुनाए । विश्वकर्माले भने, ‘कार्यतालिका बनाएर, सदस्यता छानबिन व्यवस्थित गरेर केन्द्रीय नेतालाई संयोजन गर्ने जिम्मेवारी दियौं भने असम्भव छैन ।’

पछिल्लोपटक दिएको समय अवधि सकिएकाले भ्रातृ संस्थाबारे निर्णय केन्द्रीय समितिले गर्नेछ । केन्द्रीय समितिको बैठक असारको पहिलो साता बोलाउने कांग्रेसको तयारी छ ।

केन्द्रीय समिति बैठकले भंग गर्ने/नगर्ने ठोस निर्णय लिने महामन्त्री थापाले जानकारी गराए । एकपटकका लागि कार्यतालिका निर्धारण गरेर शर्तसहित समयावधि थप्न सकिने विकल्पमा पार्टीभित्र छलफल हुने उनले बताए ।

‘भंग गरेर नयाँ बनाउन लागियो भने संगठनलाई झन् कमजोर बनाउँछ । अधिवेशनको कार्यतालिका सहित पार्टीबाट पनि नेताहरूलाई जिम्मेवारी दिएर महाधिवेशनतिर नेतृत्व लिएर आउने बनाउनुपर्छ । केन्द्रीय समितिको बैठकमा दुइटै विचारमा छलफल गरेर निर्णय गर्छौं,’ थापाले भने ।

भ्रातृ संस्थामा माउ पार्टीको गुटको छाया देखिँदा नियमित बैठकसमेत बसाउन संघका अध्यक्षहरूले सकेका छैनन् । ‘संगठन चल्नै नसक्ने गरी यस्तो भद्दा संगठन बनाउनु हुन्थेन,’ नेता विश्वकर्मा भन्छन्, ‘बैठक बस्न परे आफ्नो गुटको नेतालाई सोधेर मात्रै छलफलमा आउन थाले । संगठनलाई पुनर्गठन त गर्नैपर्छ ।’

केन्द्रमा ठूलो आकारको समिति बनाउँदा त्यसको असर तल्लो तहमा परेको छ । भद्दा आकारको संगठन केन्द्रमा बनाउँदा तल्लो तहमा नेतृत्व लिन र संगठन गर्न नेतृत्वको अभाव रहेको नेता विश्वकर्माले सुनाए ।

१३ भ्रातृ संस्था ११ वटा तदर्थ समितिमार्फत सञ्चालन भइरहेका छन् । महाधिवेशन गरेर निर्वाचित समितिका रूपमा क्रियाशील एक्लो भ्रातृ संस्था मुस्लिम संघ हो ।

नेपाल विद्यार्थी संघका दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघकी उषा राउत मिश्र, प्रजातान्त्रिक सेनानी संघका बालकृष्ण दाहाल, किसान महासंघका गणेश तिमिल्सिना मनोनीत अध्यक्ष हुन् ।

मनोनीत अध्यक्ष हुने थप भ्रातृ संस्थामा दलित संघका लोकबहादुर विश्वकर्मा, भूतपूर्व सैनिक संघका मेघराज टण्डन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपाङ संघ प्रकाश पन्थ छन् ।

प्रमुख भ्रातृ संस्थाका रूपमा परिचित नेविसंघ, तरुण दल, महिला संघ लगायतले यसैवर्ष भित्र महाधिवेशन गर्ने निर्णय गरेका छन् । तर महाधिवेशनको यकिन समय भने तोकेका छैनन् ।

महाधिवेशनको प्रक्रिया सुरु भए पनि १५ असारभित्र भने सम्भव नहुने महिला संघकी अध्यक्ष उषा राउत मिश्र बताउँछिन् । विधानका कारणले तोकिएको समयमा महाधिवेशन गर्न अप्ठ्यारो परेको उनले सुनाइन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?