+

क्यान्सरबारे ११ भ्रम र सत्य

२०८१ जेठ  २५ गते १४:१७ २०८१ जेठ २५ गते १४:१७
क्यान्सरबारे ११ भ्रम र सत्य

हाम्रो शरीरमा अनगिन्ती कोषिकाहरु हुन्छन् । यसमध्ये नयाँ बन्ने कोष र कोषिकाहरुको वृद्धिको क्रम सामान्य अवस्थामा कोषभित्र रहेको डीएनएले नियन्त्रण गरिरहेको हुन्छ । तर खराब जीवनशैली र बाह्य वातावरणीय प्रतिकूलताको कारण कोष तथा कोषिकाहरुको वृद्धि अनियन्त्रित हुन्छ ।

कोषिकाहरुको अनियन्त्रित वृद्धि हुनु नै क्यान्सर हो । क्यान्सर आफैंमा गम्भीर प्रकारको रोग हो । अहिलेसम्म संसारभरिमा २०० भन्दा बढी क्यान्सर पत्ता लागिसकेको छ ।

क्यान्सर लाग्ने बित्तिकै दिमागमा उपचार खर्च एकदमै धेरै हुन्छ, उपचारका लागि विदेश लैजानुपर्छ भन्ने कुरा आइहाल्छ । साथै क्यान्सरलाई लिएर धेरैजसो मानिसको मनमा यो रोगलाई लिएर डर र धेरै भ्रम पनि छन् ।

भ्रम : क्यान्सरको निदान र उपचार धेरै महँगो छ ।

– नेपालमा क्यान्सर रोगलाई हेर्ने दृष्टिकोण नै अन्य रोग भन्दा फरक छ । यो रोग लागेपछि ‘सम्पत्ति र मान्छे दुवै सकिन्छ’ भन्ने समाजमा धारणा छ । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई रोगले भन्दा पनि चिन्ताले धेरै पिरोल्छ ।

धेरै क्यान्सर साधारण क्लिनिकल परीक्षण र आधारभूत परीक्षणद्वारा पत्ता लगाउन सकिन्छ । क्यान्सरको उपचारका लागि सरकारले एक लाख रुपैयाँ बिरामीलाई दिने गर्छ । सरकारले क्यान्सरका बिरामीलाई दिने सहुलियत एक लाख रुपैयाँले धेरै क्यान्सरको उपचार सम्भव छ ।

पहिलो, दोस्रो स्टेजको क्यान्सरमा ७० देखि ८० प्रतिशत खर्च त्यही रकमले धान्छ । सरकारी अस्पतालमा निजीको तुलनामा खर्च पनि कम लाग्छ, त्यसैले बिरामी आत्तिनु भन्दा पनि छिटो उपचार गर्नतिर लाग्नुपर्छ ।

भ्रम : धुम्रपान र मद्यपानबाट क्यान्सर हुन्छ, धुम्रपान, मद्यपान नगर्ने मान्छेलाई हुँदैन ।

– धुम्रपानले कम्तीमा १७ प्रकारको क्यान्सर निम्त्याउन सक्छ, साथै मद्यपानले पनि विभिन्न क्यान्सरको जोखिम बढाउँछ । तर धुम्रपान र मद्यपान मात्र सबै क्यान्सरको कारण होइन । अन्य धेरै कारण जस्तै पारिवारिक इतिहास, आनुवंशिक प्रवृत्ति, केही रसायनको सम्पर्क, प्रदूषण र विकिरणले पनि क्यान्सर निम्त्याउन सक्छ । धुम्रपानले क्यान्सर हुने सम्भावना धेरै गुना बढाउने काम भने गर्छ ।

भ्रम : मोटोपनले मधुमेह र उच्च रक्तचापको जोखिम बढाए पनि क्यान्सर बढाउँदैन ।

मोटोपनले मधुमेह, उच्च रक्तचाप जस्तो समस्या निम्ताउँछ भन्ने कुरा त धेरैलाई थाहा छ, तर यसले क्यान्सरको जोखिम पनि बढाउँछ भन्ने कुरा धेरैलाई थाहा छैन । धुम्रपान, मद्यपानसँगै क्यान्सरको अर्को कारक तत्व मोटोपन पनि हो । मोटोपनको कारण स्तन क्यान्सर, कलेजोको क्यान्सर लगायतको जोखिम बढ्छ ।

भ्रम : क्यान्सरको उपचारमा दिइने किमोथेरापी पीडादायी उपचार हो ।

किमोथेरापीमा नसाबाट औषधि दिइन्छ । यो पीडादायी उपचार पद्धति होइन । किमोथेरापी क्यान्सरको उपचार, नियन्त्रण र केही प्रकारको क्यान्सरको पुनरावृत्ति रोक्नका लागि प्रयोग गरिन्छ । किमोथेरापी विशेषज्ञहरूको निगरानीमा गरिन्छ । यो पूर्णतया सुरक्षित हुन्छ र पीडादायी हुँदैन ।

भ्रम : क्यान्सरको बिरामी पूर्णरुपमा निको हुँदैन ।

– सन् १९९० को दशकदेखि क्यान्सर उपचार प्रोटोकलमा धेरै प्रगति भएको छ । त्यसयता क्यान्सरबाट हुने मृत्युदरमा निरन्तर कमी आएको छ । स्तन, प्रोस्टेट, कोलोन, लिम्फोमा जस्ता क्यान्सरको लागि पाँच वर्षको बाँच्ने दर ९० प्रतिशत नाघेको छ । यदि प्रारम्भिक चरणमा पत्ता लगाएर उपचार गरियो भने क्यान्सर पूर्ण रूपमा निको हुनसक्छ ।

भ्रम : क्यान्सर विना लक्षण देखा पर्छ ।

– केही लक्षण नै थिएन कसरी क्यान्सर भयो भन्ने बिरामी पनि हुन्छन् । तर धेरै प्रकारको क्यान्सर जस्तै मुख, स्तन, कोलोन र अन्य धेरै क्यान्सरमा लक्षण देखा पर्छन् । ६ महिनामा १० प्रतिशत भन्दा बढी तौल घट्नु, बारम्बार ज्वरो आउनु, भित्री र बाहिरी रगत बग्नु, शरीरको कुनै पनि भागमा दुखाइ वा पीडाविहीन गाँठो हुनु, घाउ निको नहुने घाउहरू क्यान्सरका लक्षण हुनसक्छन् ।

भ्रम : ब्लड क्यान्सर कहिल्यै निको हुँदैन ।

– ब्लड क्यान्सर एक समावेशी शब्द हो, जसमा ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा समावेश हुन्छ । रक्त क्यान्सरको लागि विभिन्न उपचार नेपालमा उपलब्ध छन् । कतिपय अवस्थामा ब्लड क्यान्सरलाई औषधि सेवनबाट नै नियन्त्रण गर्न सकिन्छ । साथै ब्लड क्यान्सरमा सबैभन्दा धेरै प्रयोगमा आउने उपचार विधि किमोथेरापी हो ।

अर्को उपचार विधि बोनम्यारो प्रत्यारोपण हो । यदि प्रारम्भिक चरणमा यो उपचार विधि अपनाएमा मानिसले स्वास्थ्य लाभ गर्ने सम्भावना धेरै रहन्छ ।

भ्रम : उपचारको केही वर्षपछि क्यान्सर फेरि दोहोरिन्छ ।

– उपचारपछि क्यान्सर दोहोरिन्छ भन्ने निश्चित छैन, तर यो दोहोरिने सम्भावना रहन्छ । क्यान्सर दोहोरिए पनि उपचार सफल हुने सम्भावना धेरै हुन्छ । धेरै प्रकारका क्यान्सरहरूमा,  दोहोरिएको क्यान्सरको उपचार पनि सम्भव छ । यस्तो अवस्थामा आत्तिनुपर्ने अवस्था हुँदैन ।

भ्रम : क्यान्सर रोगीले सामान्य जीवन जिउन सक्दैनन् ।

– क्यान्सर रोगीले पनि अरू जस्तै सामान्य जीवन जिउन सक्छन् । तिनीहरूले पनि आफ्नो सबै जिम्मेवारी पूरा गर्न सक्छन् । समयमै निदान र उपचार पाएका क्यान्सर रोगीले कुनै बाधा विना सामान्य जीवन बिताउन सक्छन् । तर क्यान्सरका बिरामीले उपचारको क्रममा र पछि स्वस्थ जीवनशैली अपनाउनुपर्छ, ताकि उनीहरूले रोगका कारण अन्य समस्या सामना गर्न नपरोस् र उनीहरूले आफ्नो नियमित जीवनलाई निरन्तरता दिन सकुन् ।

भ्रम : यदि परिवारमा कसैलाई क्यान्सर छैन भने मलाई पनि लाग्दैन ।

– यसमा पनि कुनै सत्यता छैन । यदि परिवारमा कसैलाई पनि क्यान्सर भएको छैन भने यसको मतलब पूर्णरूपमा जोखिममुक्त हुनुहुन्छ भन्ने होइन । धेरैजसो क्यान्सर अनुवांशिक परिवर्तनहरूका कारण हुन्छन् जुन व्यक्तिको जीवनभरि सुर्तीजन्य धुवाँ र विकिरण जस्ता बुढ्यौली र वातावरणीय कारकहरूको परिणाम स्वरूप हुन सक्छ । साथै खानपानशैली, अव्यवस्थित जीवनशैलीले पनि क्यान्सरको जोखिमलाई बढाउँछ ।

भ्रम : हर्बल तथा आयुर्वेदिक उत्पादन प्रयोग गरेर क्यान्सर निको हुन्छ ।

– धेरै प्रकारको हर्बल तथा आयुर्वेदिक औषधिहरुले क्यान्सर निको हुने भनेर प्रचारप्रसार गरेको पाइन्छ । तर अहिलेसम्म कुनै पनि यस्तो जडीबुटी उत्पादन भएको छैन, जुन क्यान्सरको उपचारमा पूर्णरूपमा प्रभावकारी साबित हुनसक्छ । त्यसैले कुनै पनि हर्बल तथा आयुर्वेदिक उत्पादन प्रयोग गरेर उपचारलाई रोक्न हुँदैन ।

क्यान्सर डा. अरुण शाही स्वास्थ्य
डा. अरुण शाही
लेखक
डा. अरुण शाही
क्यान्सररोग विशेषज्ञ

डा. शाही हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत छन् । उनले एमबीबीएस, एमडी मेडिकल अन्कोलोजी (बंगलादेश) र महामारी विज्ञानमा एमपीएच गरेका छन् । साथै भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालबाट मेडिकल अन्कोलोकीको तालिम लिएका छन् । उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर  १०९५३ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?