+
+

एमडीएमएस ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २५ गते १५:१४
फाइल तस्वीर

२५ जेठ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइलमा ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागु गर्नबाट सरकार पछि नहटेको स्पष्ट पारेकी छिन् ।

नेपाल मोबाइल व्यवसायी महासंघको शुक्रबारदेखि राजधानीमा सुरु दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै सञ्चारमन्त्री शर्माले सरकारले ढिलोचाँडो मोबाइलमा एमडीएमएस लागु गरेरै छाड्ने बताएकी हुन ।

‘एमडीएमएस लागु हुन्न भन्ने नसोचौं, ढिलोचाँडो लागु हुन्छ । यो प्रणाली लागु गर्ने प्रक्रियामा सरकार अघि बढे पनी तत्काल लागु गर्न नसकिएको हो, तर सरकार ब्याक भएको होइन,’ सञ्चारमन्त्री शर्माले भनिन्, ‘निकट भविष्यमा यो लागु हुन्छ, ढुक्क हुनुस्, यसले देशको राजस्वमा पनि योगदान गर्ने छ ।’

उनले प्रविधि विकास नभइसकेका कारण सरकारले अहिले नै एमडीएमएस लागु गर्न नसकेको भने स्वीकारिन् ।

‘यो जरुरी हो भन्ने कुरामा प्रधानमन्त्री र हामी तयार छौं । यहाँ केही बदमासी पनि भएको रहेछ, छानबिन भइरहेको छ,’ उनले भनिन्, ‘अलि परिपक्व भएपछि एमडीएमएस लागु हुन्छ, सरकार त्यसमा तयार छ ।

मन्त्री शर्माले मोबाइल व्यवसायीले चोरीका मोबाइल बेच्न छाडे ‘ग्रे फोन’ कारोबार समेत बन्द हुने बताइन् । ग्रे फोन कारोबार बन्द भए देशको अर्थतन्त्रमा पनि वृद्धि हुने र त्यसले व्यवसायीको मार्जिनमा समेत वृद्धि हुन सहयोग पुग्ने बताइन् ।

महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नेतृत्व चयन हुँदैछ। महाधिवेशनका लागि ७० जिल्लाबाट करिब १ हजार प्रतिनिधि सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?