+

गिजाको समस्याले मस्तिष्कमा समेत असर पुर्‍याउँछ (भिडियो)

२०८१ जेठ  २५ गते १८:२२ २०८१ जेठ २५ गते १८:२२
गिजाको समस्याले मस्तिष्कमा समेत असर पुर्‍याउँछ (भिडियो)

गिजाको समस्या यस्तो समस्या हो, जुन जटिल अवस्थामा पुगिसक्दा पनि बिरामीहरूले ध्यान दिएका हुँदैनन् । गिजाको समस्या निम्तिने मुख्य कारण भनेको मुखको स्वास्थ्यमा ध्यान नदिनु हो । यदि गिजामा कुनै प्रकारको रोग लागेमा यसले दाँतमा पनि नराम्रो असर पार्न सक्छ । त्यसैले गिजा स्वस्थ रहनु धेरै महत्त्वपूर्ण छ ।

गिजाको समस्या निम्तिने प्रमुख कारण दाँत तथा गिजामा अड्किएको फोहोर हो । हरेक पटक खाना खाएपछि खाएको खाना दाँतमा टाँसिने हुन्छ । केही सेकेन्डमा नै पातलो तह बन्छ । यो प्रक्रिया दुई-चार घण्टादेखि सुरु भएर करिब चार दिनसम्ममा दाँतबाट ननिस्किने दन्ते लेउमा परिवर्तन हुन्छ । जसले गर्दा गिजाको क्रोनिक इन्फेक्सन हुन्छ ।

इन्फेक्सनको कारण गिजा सुन्निने, रगत आउने, खानेकुरा चपाउँदा दुख्ने हुन्छ । समस्या बढ्दै गएपछि दाँत नै हल्लिने र झर्ने समेत हुन्छ ।

गिजा दाँतको लागि सुरक्षा कवच हो । यसमा समस्या आयो भने दाँतमा पनि समस्या निम्तिने भएकाले गिजाको हेरचाहमा ध्यान दिनुपर्छ । केही समस्या भएमा समयमै उपचार गर्नुपर्छ ।

गिजाको समस्या निम्तिने कारण

गिजाको समस्या निम्तिने मुख्य कारण त मुखको सरसफाइमा ध्यान नदिनु नै हो । अन्य कारणले भने गिजाको समस्यालाई प्रोत्साहन गर्छ ।

शरीरमा भएका विभिन्न रोगहरू जस्तै- मधुमेह, रगतसम्बन्धी विभिन्न समस्या, हर्मोनल गडबडीले गिजामा नकारात्मक असर पारिरहेको हुन्छ । मधुमेहको समस्याले आँखा, मिर्गौलामा असर गर्छ भनेको त हामीले धेरै सुनेका छौं । तर यसले गिजामा पनि समस्या निम्ताउँछ । त्यसैले मधुमेहका बिरामीले गिजाको स्वास्थ्यमा ध्यान दिनुपर्छ ।

रजोनिवृत्ति हुने बेलामा महिलामा मुख सुक्ने, मुखमा खटिरा आउने समस्या हुन्छ, जसले दाँतमा कीरा लाग्ने र गिजाको समस्या निम्तिने सम्भावना हुन्छ । गिजाको समस्या निम्तिने अर्को कारण वंशाणुगत पनि हो । यदि आमाबुबा र हजुरबुबा-हजुरआमामा गिजाको समस्या थियो भने उनीहरूको बच्चामा पनि यो समस्या निम्तिन सक्छ ।

आजभोलि हाम्रो जीवनशैली परिवर्तन भएको छ, बाहिरको प्याकेट बन्द खानेकुरा बढी खाने, गुलियो खानेकुरा खाने, चुरोट, रक्सी, गुट्का खानाले पनि गिजाको र दाँतको समस्या निम्तिन्छ ।

कसैको बानी रातको समयमा केही न केही खाने हुन्छ । राति विभिन्न खानेकुरा खाने र दाँत नमाझी, मुख कुल्ला नगरी सुत्ने बानी हुन्छ । त्यसले दाँत र गिजाको समस्या ल्याउँछ ।

गिजाको समस्यालाई सामान्य रुपमा हेर्नुहुँदैन

गिजाको समस्या भएर दाँत हल्लिन थाल्यो र दाँत अगाडितिर उछिट्टिन थाल्यो भने सबैभन्दा पहिले त मान्छेको मनोबल नै कमजोर हुन्छ ।

गिजाको समस्याको कारणले दाँत झरेर गयो भने खाना राम्ररी चपाएर खान मिल्दैन, प्रष्ट बोल्न मिल्दैन । खाना राम्ररी चपाएर निलिएन भने आन्द्रामा गएर ब्लक हुने जोखिम हुन्छ । राम्ररी नचपाएका कारण  त्यो खाना शरीरमा राम्ररी अवशोषित भएन भने शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वको कमी हुन्छ ।

गिजा तथा दाँतको समस्या देखा पर्‍यो भने मान्छेहरूमा तनाव सिर्जना हुन्छ । तनावको कारण पनि गिजा र दाँतको समस्या निम्तिन सक्छ । पछिल्लो समय तनाव एकदमै धेरै बढेको छ । स्कुल जाने बालबालिका, अफिस जाने युवा र बुढाबुढी सबैलाई तनाव छ । त्यो तनावले दन्त स्वास्थ्यलाई असर गर्छ ।

तनावमा भएको व्यक्तिले मुखको स्वास्थ्यलाई ध्यान दिन पाउँदैनन् । जसले गर्दा दाँत र गिजा बिग्रिने सम्भावना बढी हुन्छ । कसैले मानसिक रोगको औषधि सेवन गरिरहेका छन् भने त्यसले मुख एकदमै सुक्खा हुने हुन्छ । जसकारण पनि दाँत र गिजालाई असर गर्छ ।

तनावमा हुने व्यक्तिले ‘दाँत किट्ने’ तल र माथिको दाँतलाई कडा रुपमा जोड्ने गर्छन् । यसरी दाँत किट्दा दाँत तथा मांसपेशीमा धेरै दबाब पर्छ, जसले गर्दा गाला गल्ने, कन्चट गल्ने र टाउको भारी हुने समस्या हुन्छ ।

दाँत र टाउकोको दुखाइ सरेर घाँटी, काँध र ढाडसम्म पनि पुगेको भेटिन्छ । तनावले दाँत किट्ने समस्याले गर्दा जाँत एकापसमा रगडिएर दाँत खिइने र दाँत चर्किने समस्या समेत हुनसक्छ ।

हरेक व्यक्तिको दाँत बुढेसकाल लागेपछि झर्छ भन्ने होइन । पहिलेदेखि गिजाको समस्या थियो र त्यसको उपचार नगर्दा दाँत झर्ने समस्या हुन्छ ।

समयमै उपचार भएन भने थप जटिलता

गिजाबाट रगत आउँछ, चिलाउँछ, सुन्निएको छ, खानेकुरा चपाउँदा दुख्छ, दाँत उछिट्टिएको छ, फाटिएको छ  र हल्लिन्छ भने गिजा रोगको लक्षण हो । यसको उपचार भएन भने हेलचेक्र्याइँ गरे गिजाले दाँतलाई छोड्दै जान्छ, जसलाई क्रोनिक अवस्था भनिन्छ । जसमा ‘पी जिन्जिभाइलस’ भन्ने कीटाणु हुन्छ । त्यो कीटाणु रगतमा पुगेर शरीरको अन्य भागको संक्रमणमा प्रोत्साहन गरेको पाइएको छ । यो कीटाणु मुटु र फोक्सोमा पुगेर संक्रमण गरेको र अल्जाइमर तथा डिमेन्सिया भएको व्यक्तिको मस्तिष्कसम्म पुगेको पाइएको छ ।

मुखको संक्रमणमा हुने अर्को कीटाणु ट्रेपोनेमा डेंटिकोलाले म्याट्रिकको समस्या निम्त्याएको पनि पाइएको छ ।

गिजाको समस्याबाट बच्ने उपाय

सकेसम्म वर्षको दुई पटक ६-६ महिनाको फरकमा दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सकसँग सल्लाह लिनुका साथै दाँत सफा गराउनुपर्छ । दिनको दुई पटक खाना खाइसकेपछि उपयुक्त तरिका प्रयोग गरेर दाँत माझ्नुपर्छ । दाँत माझ्नुका साथै हरेक पटक खाना खाइसकेपछि राम्रोसँग कुल्ला गर्नुपर्छ, जसले दाँतमा दन्ते लेउ जस्तो फोहोर बस्न दिंदैन ।

दाँतको बीच-बीचमा रहेका फोहोरहरू ब्रस गर्दा ननिस्किन सक्छ । त्यसैले दिनको एक पटक डेन्टल फ्लसको प्रयोग गरेर निकाल्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउनुपर्छ । दाँतमा टाँसिने वा गुलिया खानेकुराहरू एकदमै कम मात्रामा खानुपर्छ । सुर्तीजन्य पदार्थको सेवन गर्नुहुँदैन । सन्तुलित खाना खानुपर्छ ।

फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर

गिजारोग डा. नियुक्ति अर्जेल दन्तरोग
डा. नियुक्ति अर्जेल
लेखक
डा. नियुक्ति अर्जेल
गिजा तथा दन्तरोग विशेषज्ञ

डा. अर्जेल काठमाडौं कमलपोखरीस्थित गम्स एण्ड गिगल्स क्लिनिककी सञ्चालिका समेत हुन् । उनले दन्त चिकित्सामा बीडीएस र एमडीएस गरेकी छन् । डा. अर्जेलको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ११५६९ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?