+

पुरुष बास्केटबल टोली चीन जाने

२०८१ जेठ  २५ गते १८:२० २०८१ जेठ २५ गते १८:२०
पुरुष बास्केटबल टोली चीन जाने

२५ जेठ, काठमाडौं । छैटौं एसियाली विश्वविद्यालय थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा सहभागी हुन ४ पुरुष खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार चीनको झौसन प्रस्थान गर्ने भएको छ ।

जेठ २९ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा मनीष केसी (कप्तान), निकेश राखाल मगर, सुदिप पौडेल क्षेत्री र श्रेयश शाहले नेपालको प्रतिनिधित्व गर्ने छन् । प्रशिक्षक तथा व्यवस्थापकको भूमिकामा सुशिल गुरुङ रहेका छन् ।

चीनकै युनानमा गत बैशाख १२ देखि १८ गतेसम्म भएको बोर्डर सिङफु भिलेज स्पोर्ट्स कार्निभलअन्तर्गत पुरुष थ्री एक्स थ्री बास्केटबलमा नेपालले स्वर्ण जितेको थियो । कप्तान मनीष र निकेश त्यो टोलीका सदस्य थिए । प्रशिक्षक पनि सुशिल नै थिए । युनानको प्रतियोगितामा नेपाली टोली जि टु जिअन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा सहभागी भएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

सदस्य सचिव घिसिङले चीनमै नेपाली पुरुष टोलीले स्वर्ण जितिसकेको स्मरण गर्दै वर्तमान टिमले पनि त्यही सफलता दोहोर्‍याउने विश्वास व्यक्त गरे ।

अध्यक्ष गुरुङले बास्केटबललाई माथि उठाउन राखेपले राम्रो सहयोग गरिरहेको बताउदै सदस्य–सचिवलाई धन्यवाद दिए ।

सोही अवसरमा सदस्य–सचिव घिसिङले ग्रिसको ओलम्पियामा हुने ६४ औं ‘योङ ओलम्पिक एम्बेसडर’ महोत्सवमा भाग लिन जाने बास्केटबल खेलाडी अनुषा मल्ललाई पनि बिदाइ गरेका थिए ।

चीन बास्केटबल प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय