+

ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असारमा सुर्खेतमा हुने

२०८१ जेठ  २५ गते १८:३८ २०८१ जेठ २५ गते १८:३८
ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असारमा सुर्खेतमा हुने

२५ जेठ, काठमाडौं। ई-स्पोर्ट्स संघ नेपालको आयोजनामा ई-स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसीप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको छ ।

संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप आगामी असार १४ र १५ गते सुर्खेतमा आयोजना हुने जानकारी गराएको हो ।

ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिपमा पब्जी मोबाईल, मोबाईल लिजेण्ड्स र ई फुटबल गरी तीन विधाका खेललाई समावेश गरिएको संघका अध्यक्ष अन्जन धमलाले जानकारी दिए ।

पब्जी मोबाईलको छनोट अनलाईनमार्फत हुने र अन्तिम १६को फाइनल राउण्ड भौतिक रुपमा गरिने संघले जनाएको छ । मोबाईल लिजेण्डका सम्पूर्ण खेल अनलाईन र ई फुटबलको प्रारम्भिक छनोट अनलाईन र सेमिफाइनल र फाइनल प्रतिस्पर्धा भौतिक रुपमा सञ्चालन गरिनेछ ।

संघका अध्यक्ष अन्जन धमलाले नेपालमा बढ्दो लोकप्रियता, अन्तराष्ट्रिय सम्भावना र लगानीको प्रतिफलका हिसाबले तीन खेललाई प्राथमिकतामा राखेर राष्ट्रिय च्याम्पियनसिपमा समावेश गरिएको जानकारी दिए । बाँकी विधाहरु पनि आगामी दिनमा समेटिने उनले बताए ।

प्रतियोगिताको प्राईज पुल १२ लाख रुपैयाँ रहेको छ । प्राईज पुलको ७० प्रतिशत पुरस्कार पब्जी मोबाईलमा, २० प्रतिशत पुरस्कार एमएलबीबी र १० प्रतिशत पुरस्कार ई फुटबलमा बाँडिने संघले जनाएको छ । तीन वटै खेल विधाका विजेताले आसन्न एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको नेपाल छनोटको फाइनल चरणमा स्थान सुरक्षित गर्ने संघ अध्यक्ष धमलाले जानकारी दिए ।

टिम दर्ता शुक्रबारबाटै खुल्ला गरिएको छ भने प्रतियोगितामा प्रदेश र क्लब गरि तीन सय बढी टिमले छनोट चरणबाट भाग लिने संघले जनाएको छ । संघको वेव साईटमा गएर टिम दर्ता गर्न सकिने र भौतिक रुपमा समेत टिम दर्ताको सुविधा राखिएको संघका सचिव आशिष दाहालले बताए ।

अनलाईन छनोट असार ४ देखि १० गतेसम्म र भौतिक रुपमा अन्तिम चरणका खेल असार १४ र १५ गते सुर्खेतमा हुनेछ । प्रतियोगितामा १६ वर्षमाथिका खेलाडीले मात्र सहभागीता जनाउन पाउनेछन् ।

संघका अध्यक्ष अन्जन धमलाले आधुनिक खेल विधाको रुपमा अन्तराष्ट्रिय रुपमा उदाएको ई स्पोर्ट्सलाई विश्व जगतमा प्रतिस्पर्धात्मक खेलको रुपमा विकास गर्ने लक्ष्य सहित आफुहरु अघि बढेको जानकारी गराएका थिए ।

चीनमा भएको १९औं एसियाडमा नेपालले पनि इस्पोर्ट्समा सहभागिता जनाएको थियो । अध्यक्ष धमलाले यसअघि इस्पोर्ट्सको संघ दर्ता नभएको र अहिले राखेप अन्तर्गत नै संघ दर्ता गठन भएको जानकारी दिए । उनले अब अन्तर्राष्ट्रिय आबद्धताका लागि पनि पत्राचार गरेर अघि बढ्ने जानकारी दिए ।

ई स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसीप सुर्खेत
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय