+
+

मुख्यमन्त्री पाण्डेले कसरी जुटाउँछन् बहुमत ?

१६ जेठमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेसामु सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याएर मात्र विश्वासको मत लिने सुविधा थियो ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ जेठ २५ गते २०:२३

२५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार २८ जेठमा विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री पाण्डेले २८ गते ३ बजे विश्वासको मत लिने पत्र दर्ता भइसकेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

१६ जेठमा मुख्यमन्त्री नियुक्त भएका पाण्डेसामु सरकारको नीति तथा कार्यक्रम र १ असारमा बजेट ल्याएर मात्र विश्वासको मत लिने सुविधा थियो । किनकि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने ३० दिन १३ असारमा पुग्छ ।

तर मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिने निर्णय लिए । नेताहरूका अनुसार बिहीबारसम्म पनि विश्वासको मत लिइहाल्ने कि नीति तथा कार्यक्रम र बजेट ल्याएर मात्र भन्ने अलमलमा थिए । शीर्ष नेताहरूसँग छलफल गरेपछि विश्वासको मत लिएरै नीति तथा कार्यक्रम र बजेट ल्याउने निर्णय लिएका हुन् ।

सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका पाण्डेकासामू सहजै विश्वासको मत प्राप्त गर्ने बाटो सहज छैन । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । जबकि कांग्रेसका २७ सांसद मात्र छन् ।

एमालेका २२ र माओवादी (सभामुखबाहेक) ७ सांसदले विश्वासको मत दिने राजीतिक रूपमा सम्भव देखिन्न ।

तर मुख्यमन्त्री पाण्डेले राप्रपा (२), स्वतन्त्र सांसद दीपक मनाङेसँगै माओवादीको चुनाव चिह्वबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाको समर्थनमा विश्वासको मत प्राप्त गर्ने रणनीति बनाएका हुन् ।

पछिल्लो समय सरकार गठनमा तटस्थ रहेको राप्रपाले पाण्डेलाई विश्वासको मत दिने/नदिनेबारे अझैसम्म औपचारिक रूपमा मुख खालेको छैन । विश्वासको मत लिनेसम्बन्धी पत्र संसद् सचिवालयमा पाण्डेले पठाउनुअघि मुख्यमन्त्री पाण्डेले कांग्रेसका उपलब्ध मन्त्री र सांसदहरूसँग छलफल गरेका थिए । जहाँ राप्रपा सकारात्मक रहेको ब्रिफ्रिङ नेताहरूले गरेका छन् । गण्डकीमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेका छन् ।

कांग्रेसले माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका नेपाल समाजवादी पार्टीका सांसद देवकोटाको साथ खोजेको छ ।

सांसद देवकोटा पनि नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेर फर्किएका छन् ।

माओवादीसँग टाढिएको र नेसपासमेत फुटाइदिएकाले भट्टराई, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केन्द्रको सत्ता गठबन्धनसँग रुष्ट छन् । देवकोटोले मुख्यमन्त्री पाण्डेलाई मत दिने कांग्रेस नेताहरूको निष्कर्ष छ ।

देवकोटाले भने त्यो निर्णय भइनसकेको प्रतिक्रिया दिए । ‘म माओवादी संसदीय दलमा भए पनि नेपाल समाजवादी पार्टीको सांसद हुँ,’ देवकोटाले भने, ‘मेरो कारण प्रदेशलाई अप्ठ्यारो हुने परिस्थिति आउन दिन्नँ, उचित समयमा उचित निर्णय लिनेछु ।’

माओवादीले भने आफ्नो चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले विश्वासको मत दिए कारबाही गर्ने चेतावनी दिएको छ । संसदीय दलका नेता हरिबहादुर चुमान भन्छन्, ‘खुला मतदान भएकाले कसले कता मत हाल्छ भन्ने लुक्ने कुरा भएन । कसैले फ्लोर क्रस गर्छ भने स्वाभाविक हिसाबले कारबाही हुन्छ ।’

नेसपाका नेताहरू भने ह्वीप उल्लंघनमा कारबाही गर्न दुवै दलले निर्णय लिनुपर्ने तर्क गर्छन् । बहुमतका लागि अपुग रहेको एक मत स्वतन्त्र सांसद दिपक मनाङेले दिने कांग्रेस नेताहरूको बुझाइ छ । मनाङे पछिल्लो समय जता मन्त्री पाइन्छ, उता जाने गरेका छन् ।

माओवादीले समर्थन फिर्ता लिएपछि उनी पाण्डे सरकारमा भौतिक पूर्वाधारमन्त्री भए । पाण्डेले राजीनामा दिएपछि खगराज अधिकारी नेतृत्वमा नयाँ सरकार बन्दा उनी फेरि त्यही मन्त्रालय दिएर सरकारमा गए ।

स्रोतका अनुसार अहिले एमालेले उनलाई रोक्ने प्रयास गरेको थियो । ज्यान मार्ने उद्योगमा मनाङेको सर्वोच्चमा बिहीबार पेसी थियो । सर्वोच्चको सुनुवाइपछि मात्र आफूले निर्णय गर्ने मनाङेले पाण्डेलाई जवाफ दिएका थिए । बिहीबार उनको मुद्दा हेर्न भ्याएन र अब महिना दिनपछि मात्र सुनुवाइको पालो आउँछ ।

मनाङे अहिले पनि काठमाडौंमै छन् । तर उनले सरकारको पक्षमा ३० सांसद पुर्‍याएर बहुमतका लागि आफूले साथ दिने बताएको कांग्रेस नेताहरू बताउँछन् । राप्रपा, नेसपा र मनाङेको साथ लिएर बहुमत पुर्‍याउने भएकाले मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने निर्णय लिएको कांग्रेसका एक नेता बताउँछन् ।

प्रमुख प्रतिपक्षी एमालेले पनि विश्वासको मत लिएर नीति तथा कार्यक्रम र बजेट ल्याउनु उपयुक्त हुने बताएको छ । प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भन्छन्, ‘उहाँले विश्वासको प्राप्त गर्नुभयो हाम्रो शुभकामना छ, तर त्यो सम्भावना कम छ । किनकि संविधानको धारा १६८ (३) अनुसार फ्लोर क्रस हुनसक्ने अवस्था छैन ।’

यदि मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएनन् भने यो सरकार ढल्छ र प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६६ (५) बमोजिम बहुमत पुर्‍याउन सक्ने कुनै एक प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गर्ने छन् ।

अहिले त्यो परिकल्पना नै नगरिएको कांग्रेस संसदीय दलका उपनेता तथा सामाजिक विकास र ऊर्जामन्त्री बिन्दुकुमार थापा बताउँछन् ‘विश्वासको मत प्राप्त गर्न बहुमत पुग्ने निश्चित भएकाले प्रदेश सभा सचिवालयमा जानकारी गराइएको हो’ थापाले भने, ‘अहिले कांग्रेसले धारा १६८ (५) मा जाने परिकल्पना गरेको छैन ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?