+
+

सीके राउतले दल नेतालाई छाडेर सतिशलाई किन बनाए मुख्यमन्त्री ?

अध्यक्ष राउत निकट नेताहरूका अनुसार मुख्यमन्त्री छान्ने क्रममा उनले एउटा मापदण्ड बनाए, नयाँलाई अवसर दिने । यससँगै जसपा नेपालका सरोजकुमार यादवको सरकारमा मन्त्री भएकाले चार नेता मुख्यमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ जेठ २५ गते २१:०२
मुख्यमन्त्री सतिश सिंह

२५ जेठ, जनकपुरधाम । जनमत पार्टीका सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । संविधानको धारा १६८(२) अनुसार एमाले, माओवादी, एकीकृत समाजवादीसहित ६ दलको समर्थनमा दाबी पेस गरेपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनमत सांसद सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

नवनियुक्त मुख्यमन्त्री सिंहले शुक्रबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । साथै सत्तारुढ दलहरूबीच भएको भागबन्डा अनुसार शुक्रबारै १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

सत्ता गठबन्धनमा १७ जेठमै जनमतले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको थियो ।

तर सरकार गठनका लागि चाहिने बहुमत (५४) पुगेको थिएन । २२ जेठमा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नयाँ सरकार बन्ने पक्का भयो । बुधबार प्रदेश सभामा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरिन् ।

जनमतले सरकारको नेतृत्व गर्ने सहमति भइसकेकाले संसदीय दलका नेता महेशप्रसाद यादवलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको थियो । तर बिहीबार बिहान जनमतले दल नेता यादवको साटो सांसद सतिश सिंहको नाम अगाडि सार्‍यो ।

जनमतका नेताहरूका अनुसार मुख्यमन्त्रीबारे केन्द्रीय सचिवालयमा पटक पटक छलफल भएको थियो ।

१७ जनाको सचिवालयमा तीनजना प्रदेश सांसद छन् । वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहा, महासचिव चन्दन सिंह र प्रदेश सांसद संजयकुमार यादव । स्रोतका अनुसार तीनै जनाले मुख्यमन्त्रीका लागि दाबेदारी प्रस्तुत गरेका थिए । संसदीय दलका नेता यादवको बलियो दाबेदारी थियो । अरू पनि आकांक्षी भएकाले मुख्यमन्त्रीको उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष सीके राउतलाई दिइयो ।

यद्यपि संसदीय दलका दलका नेता महेशकुमार यादव बुधबार साँझसम्म मुख्यमन्त्री बन्नेमा करिब-करिब ढुक्क थिए । अमेरिका भ्रमणमा रहेका अध्यक्ष सिके राउतसँग सकारात्मक कुराकानी भएकै थियो । तर राउतले उनको साटो सतिशलाई रोजे ।

जनमतका प्रवक्ता शरतसिंह यादव भन्छन्, ‘मुख्यमन्त्री कसलाई बनाउने जिम्मा अध्यक्षजीलाई सचिवालयले दिएको थियो । अध्यक्षजीले सतिशजीको नाम टुंगो लगाउनुभयो ।’

अध्यक्ष राउत निकट नेताहरूका अनुसार मुख्यमन्त्री छान्ने क्रममा उनले एउटा मापदण्ड बनाए, नयाँलाई अवसर दिने । यससँगै जसपा नेपालका सरोजकुमार यादवको सरकारमा मन्त्री भएकाले चार नेता मुख्यमन्त्रीको प्रतिस्पर्धाबाट बाहिरिए ।

संसदीय दलका नेता महेशप्रसाद शिक्षा तथा समाज कल्याण, वरिष्ठ उपाध्यक्ष बसन्त भूमि व्यवस्था कृषि तथा सहकारी, महासचिव चन्दन श्रम तथा यातायात र संजयकुमार भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका थिए ।

त्यसपछि सतिशलाई छाने । यसमा राउतले मधेशको जातीय समीकरण पनि हेरेको नेताहरू स्वीकार गर्छन् । पछिल्लो तथ्यांकअनुसार मधेशमा सबभन्दा ठूलो (१५ प्रतिशत) यादव समुदाय छ । कांग्रेस, एमाले, जस्ता पुराना पार्टी होस् वा विद्रोहबाट आएका माओवादी र जसपा नेपालमा पनि उनीहरू नै हाबी छन् । २०७९ मंसिरबाट मधेशको नयाँ शक्तिका रूपमा उदाएको जनमतले पनि संसदीय दलको नेता महेशप्रसाद यादवलाई नै बनाएको थियो ।

‘समानुपातिक समावेसीको जननी मधेशलाई भनिन्छ, तर व्यवहारमा चाहिँ एउटा जातिले मात्र अवसर पाउँदा संघीयताबारे नै प्रश्न उठ्न थालेको थियो’ जनमतका एक नेता भन्छन्, ‘त्यसैले हामीले अरू समुदायलाई पनि सम्बोधन गर्न खोजेका हौं ।’

सिंह (राजपुत) अन्य पिछडा वर्ग (ओबीसी)मा पर्छ । सबै पिछडा वर्गमा भएको सबै जातिलाई एक ठाउँमा राख्ने हो भने मधेश प्रदेशमा कुल जनसंख्याको २३ प्रतिशत हुन्छ । करिब १८ प्रतिशत दलित र १३ प्रतिशत मुस्लिम समुदाय छन् ।

२०७४ को चुनावपछि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लालबाबु राउतलाई मुख्यमन्त्री बनाए भने तत्कालीन राजपाबाट सरोजकुमार यादव सभामुख बने । यो पटक सरोजकुमार यादवलाई मुख्यमन्त्री बनाएका थिए ।

सीके राउतले भने सतिश सिंहलाई मुख्यमन्त्री र दलित समुदायकी रञ्जु खंग राज्यमन्त्री बनाएर ओबीसी र दलित समुदायको सद्भाव बटुल्न खोजेको जनमतका एक नेता बताउँछन् । ‘सतिश राजपुत समुदायका हुन्, जसलाई अल्पसंख्यकमा गणना गरिन्छ’ उनले भने, ‘उहाँलाई मुख्यमन्त्री बनाएर अध्यक्षजीले अल्पसंख्यकलाई मुख्यमन्त्री बनाउन नेता आफू भएको सन्देश दिनुभयो ।’

जनमतका प्रवक्ता यादव भने पार्टीले केन्द्रदेखि प्रदेशसम्म नयाँलाई अवसर दिने गरेको र मुख्यमन्त्री चलाउनसक्ने देखेर सतिशलाई मुख्यमन्त्रीमा अघि सारेको बताउँछन् ।

‘जातीय राजनीति गर्ने भए अध्यक्षजीले महेशलाई दलको नेता र मन्त्री किन बनाउनु हुन्थ्यो र ? त्यहीबेला सतिशलाई दिँदा हुन्थ्यो नि !’ प्रवक्ता यादव भन्छन् ‘नयाँलाई अवसर दिइएको हो, जातीय राजनीतिसँग जोडेर हेर्नु गलत हो ।’

राजनीतिक विश्लेषक डा. भोगेन्द्र झा भने संसदीय दलको नेता नै मन्त्री तथा मुख्यमन्त्री बन्ने अभ्यासका कारण त्यस्तो भाष्य सिर्जना भएको हुनसक्ने बताउँछन् । उनले अगाडि भने, ‘सतिश र महेश दुवै सीके राउतका आफ्नै मान्छे हुन् । कसलाई मुख्यमन्त्री बनाउने भन्ने पार्टीको आन्तरिक मामिला हो ।’

मुख्यमन्त्री बनेका सतिश जनमतका अध्यक्ष सीके राउत जितेको सप्तरीको प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ को (क) बाट जितेका हुन् । महेश क्षेत्र नं. २ (ख) बाट जितेका हुन् ।

अध्यक्ष राउतको अप्रत्याशित निर्णयप्रति संसदीय दलका नेता महेशप्रसाद यादव असन्तुष्ट छन् । बिहीबार दिनभर मोबाइल स्वीच अफ गरेर बसेका उनी शुक्रबार सरकार गठनको दाबी पेस गर्दा र मुख्यमन्त्रीको शपथमा भने सहभागी बने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?