+
+

चेपाङको जीवन कथामा डकुमेन्ट्री फिल्म ‘पचेडा’, यस्तो छ ट्रेलर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १२:१७

काठमाडौं । कुनै समय म्युजिक भिडियोमा व्यस्त दीपेन्द्र केसी पछिल्लो समय फिल्म निर्माणमा सक्रिय छन् । उनले पछिल्लो समय वृत्तचित्र फिल्मको निर्देशन गरिरहेका छन् ।

‘कथाभित्रका कथाहरू’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त दीपेन्द्रले ‘पचेडा’को ट्रेलर सार्वजनिक गरेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका हुन् ।

चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् ।

‘कुनै हरर फिल्मको झल्को दिने भएपनि यो वास्तविक कथा हो । वृत्तचित्रमार्फत सन्तलालको परिवारले बाँच्नका लागि गरिरहेको संघर्षको कथालाई जस्ताको त्यस्तै देखाउने कोसिस गरेको छु,’ उनले भने ।

फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । ‘पचेडा’ डकुमेन्ट्री सन्तलाल चेपाङको कथा हो, जसलाई उनले तीन सेड्युलमा छायांकन गरेका थिए ।

‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ,’ केसी भन्छन्, ‘मेरो इच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जंगलमा बस्नु रहर होइन ।’

डकुमेन्ट्रीमा सन्तलालसँगै उनको परिवारलाई चित्रण गरिएको छ । उनी बसोबास गर्दै आएको मनहरी गाउँपालिकाको नयाँबस्तीमा फिल्म खिचिएको छ ।

फिल्मलाई केसीसँगै विनिता क्षेत्रीले निर्माण गरेकी हुन् । सहायक निर्मातामा बालकृष्ण खड्गी छन् । वृत्तचित्रको प्रदर्शन सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनी देव डी प्रोडक्सनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?