२७ जेठ, काठमाडौं । छिन्नमस्ता लायन्स छैठौं संस्करणको सप्तरी प्रिमियर लिगको फाइनलमा पुगेको छ ।
आइतबार सम्पन्न दोस्रो क्वालिफायरमा कन्चनरूप राइनोजलाई पराजित गर्दै छिन्नमस्ताले तिरहुट टाइगर्ससँग फाइनल प्रतिस्पर्धा तय गरेको हो ।
उपाधिको लागि कन्चनरुप राइनोज र तिरहुट टाइगर्सबीच सोमबार खेल हुनेछ।
पब्लिक बिन्देश्वरी क्रिकेट मैदानमा कन्चनरूप राइनोजले दिएको ११८ रनको लक्ष्य छिन्नमस्ताले ४ बल बाँकी हुँदा ६ विकेट गुमाएर पूरा गर्यो ।
छिन्नमस्ताको लागि राष्ट्रिय क्रिकेटरसमेत रहेका भीम सार्कीले अर्धशतकीय योगदान दिए । उनले ३७ बलमा ६ चौका र २ छक्का प्रहार गरे । यस्तै फिर्दोश अन्सारीले अविजित १६ रन, राज वर्माले १५ तथा सुमित नेवारले ११ रन बनाए ।
लक्ष्य पछ्याउने क्रममा ५८ रनमा ४ विकेट गुमाएको अवस्थामा भीमले फिर्दोश अन्सारीसँग ४५ रनको साझेदारी गर्दै जितको आधार तयार गरे । सोह्रौं ओभरमा भीम आउट भएपछि फिर्दोशले अन्तिमसम्म ब्याटिङ गर्दै टिमलाई जितसम्म पुर्याए ।
कन्चनरूपको बलिङमा दिनेश अधिकारीले ३ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन ।
यसअघि टस जितेर ब्याटिङ गरेको कन्चनरुप राइनोजले १८.२ ओभरमा सबै विकेट गुमाएर ११७ रन बनाएको थियो ।
कन्चनरूपको लागि दिनेश अधिकारी र कर्ण बिकले समान १९ रन, अभिषेक गौतमले १५ तथा शुभ कंसाकार र महानन्द यादवले समान १३ रन बनाए ।
बलिङतर्फ छिन्नमस्ता लायन्सका बिशाल पटेलले ३.२ ओभरमा २४ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै मोहम्मद सोहेल, फिर्दोश अन्सारी र गुनानन्द रोयले समान २ विकेट लिए ।
सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ हात पार्नेछ । उपविजेता टिमले एक लाख पचास हजार प्राप्त गर्नेछ ।
प्रतिक्रिया 4