+
+

सहकारी अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १४:२०

२७ जेठ, काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप सीबीमाथि लागेको थियो ।

सीबीलाई १८ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।

काभ्रे तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामा ललितपुर बालकुमारीस्थित वेस्टर्न अपार्टमेन्टमा बस्दै आएका थिए ।

२० फागुन २०८० मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए । सहकारीको रकम अपचलन गरी व्यक्तिगत घरजग्गा, निजी कम्पनी र रिसोर्टमा लगानी गरेको आरोप उनीमाथि छ ।

काठमाडौंको पुरानो र धेरै बचतकर्ता भएकामध्ये कान्तिपुर क्रेडिट एन्ड कोअपरेटिभले शाखा तथा सेवा केन्द्र गरी १८ ठाउँमा सेवा विस्तार गरेको थियो ।

कुनै समय करिब १४ हजार बचत खाता खोलिएको सहकारीमा अहिले पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड बचत छ भने सहकारीको सेयरपुँजी करिब ४० करोड छ ।

कान्तिपुरले ६ अर्ब २२ करोड ऋण लगानी गरेको विवरण सहकारी विभागमा बुझाएको छ । यो ऋणको ठूलो हिस्सा सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा, वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङ, सञ्चालकहरू जोगलाल लामा, सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, ईन्दु थापा र देवराज पराजुली लगायतले मनोमानी ढंगले घरजग्गा, क्रसर उद्योग, निजी अस्पतालदेखि कलेजमा खन्याएको बताइएको छ ।

कान्तिपुर सहकारीमा सीबी २४ वर्षसम्म अध्यक्ष थिए । उनले काभ्रेको धुलिखेल, पनौती, भक्तपुरको साँगा, काठमाडौंको फर्पिङ, मकवानपुरको चित्लाङ, मोरङकानेपोखरी, खोटाङ हलेसीलगायत स्थानमा ४ सय रोपनीभन्दा बढी जग्गा किनिएको विवरण सहकारी विभागमा बुझाइएको छ ।

सहकारी विभागमा पेस गरेकै विवरणमा ३२ स्थानमा घरजग्गा छ । जसमध्ये केही ऋण लगानी नउठेपछि धितो सकारेको दाबी गरिएको छ ।

काठमाडौं फर्पिङमा २२ रोपनी, बूढानीलकण्ठ २ रोपनीभन्दा बढी, थली–डाँछीमा १ रोपनी ११ आना, चपली भद्रकालीमा १ रोपनी १२ आना २ पैसा (घर समेत), टेकुमा २२ आना, नयाँपाटीमा ११ आना २ पैसा, लाजिम्पाटमा २ आना २ पैसा, नयाँबानेश्वरमा ४ आना २ पैसा, बौद्धमा ५ आना २ पैसा र साँखुमा ३ आनाजग्गा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?