+
+

दूधको भुक्तानी ७ दिनभित्र गर्न किसानको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १४:४८

२६ जेठ, काठमाडौं । दुग्ध किसानहरूले दूध खरिद गरेको सात दिनभित्र भुक्तानी पाउनु पर्ने माग गरेका छन् ।

कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई भेटेर किसानहरूले यस्तो माग गरेका हुन् ।

मन्त्री साहसँगको भेटमा विभिन्न ६ संगठनसहित कृषि तथा वन क्षेत्रका १० वटा संघसंस्थाका प्रतिनिधिहरूले सिजनमा पनि किसानहरूले दूधको भुक्तानी नपाउँदा समस्या भोग्नु परेको गुनासो गरेका छन् ।

सरकारले प्रतिबद्धता गरे अनुसार दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरूले केही रकम भुक्तानी गरेता पनि अझै पनि करिब ४ अर्ब रकम किसानलाई भुक्तानी नगरिएको उनीहरूले गुनासो गरेका थिए ।

अबदेखि किसानसँग दूध खरिद गरेको सात दिनभित्र भुक्तानी पाउने व्यवस्था मिलाउन मन्त्री साहसँग आग्रह गरिएको राष्ट्रिय किसान सञ्जालका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले बताए ।

यस्तै नेपाली किसानद्वारा उत्पादित सम्पूर्ण दूध खरिद गरी मिल्क होलिडे सधैंका लागि अन्त्य गर्नुपर्ने माग उनीहरूको छ ।

उत्पादनको आधारमा दूधमा दिइँदै आएको अनुदान पुनः सञ्चालन गर्नुपर्ने माग किसानले गरेका छन् । पाउडर दूध उत्पादन गर्ने मिलहरू पूर्ण क्षमतामा सञ्चालन गरेर सबै खपत गर्नुपर्ने उनीहरूको माग छ ।

यस्तै नेपालमा सबै किसिमका दुग्ध पदार्थहरूको आन्तरिक खपत आन्तरिक उत्पादनबाटै गर्ने अनिवार्य व्यवस्था हुनुपर्ने माग उनीहरूले राखेका छन् ।

राष्ट्रिय किसान सञ्जालका अनुसार करिब ३० लाख घरपरिवार प्रत्यक्ष र अप्रत्यक्ष रूपमा दूध उत्पादन क्षेत्रमा संलग्न रहेका छन् ।

यी मध्ये १८ लाख घर परिवारले दूधको घरयासी उपभोग तथा बिक्री दुबै गर्ने गर्दछन् भने करिब ५ लाख घर परिवार नियमित रूपमा दुग्ध उत्पादन र बिक्री वितरण गर्दै आएका छन्  ।

किसानका संघ–संगठनहरूले दूध उत्पादक किसानलाई निरुत्साहित गर्दै पेसाबाट विस्थापित गर्ने, आन्तरिक उत्पादन घटाउने काम भइरहेको भन्दै माग पूरा नभए सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

काभ्रेमा आन्दोलन

दूधको भुक्तानी नपाएको भन्दै काभ्रेका दुग्ध किसानले आइतबार प्रदर्शन गरेका छन् ।

काभ्रेको मण्डन देउपुरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरू अगाडि दूधको क्यान बोकेर किसानले प्रदर्शन गरेका हुन् ।

समयमै दूधको भुक्तानी नपाउँदा आफूहरूको दैनिकीमै समस्या परेको उनीहरूको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?