+
+

पक्राउ परेको दुई दिनमै छुटे बालमन्दिरका पूर्वउपाध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:०९

२७ जेठ, काठमाडौं । नक्सालस्थित बाल मन्दिरको जग्गा सस्तोमा लिजमा दिएको प्रकरणमा पक्राउ परेका नेपाल बाल संगठनका पूर्वउपाध्यक्ष तुल्सीनारायण श्रेष्ठ दुई दिनमै छुटेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिइसकेको भन्दै श्रेष्ठलाई दुई दिनमै छाडेको हो । सीआईबीका एसपी होविन्द्र बोगटीले जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिने प्रक्रिया सकिएपछि आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी छाडिएको अनलाइनखबरलाई बताए ।

उनले भने, ‘अरू व्यक्तिहरू पनि पक्राउ पर्न बाँकी रहेकाले चाहिएका बेला फेरि उपस्थित हुने गरी छाडिएको हो ।’ प्रहरीले बाल मन्दिरको जग्गा भाडा प्रकरणमा एक महिनाअघि नै २० जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । तर कोही पक्राउ परेका थिएनन् ।

बाल मन्दिरमा झण्डै तीन दशक नेतृत्वमा रहेकी रिता सिंह सहितविरुद्ध पक्राउ पुर्जी जारी भए पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएको थिएन । पक्राउ गरेर अनुसन्धान गरिरहनु पर्ने नदेखिएको भन्दै सीआईबीले कसैलाई पक्राउ नगर्ने नीति लिएको थियो ।

तर पक्राउ नगरेको भन्दै प्रश्न उठेपछि ब्यूरोले श्रेष्ठलाई समातेको थियो । तर, दुई दिनमै उनी पनि छुटेका छन् ।

पक्राउ पुर्जी जारी हुने अन्यमा बाल संगठनका तत्कालीन उपाध्यक्षहरू तुलसीनारायण श्रेष्ठ, योगेन्द्रबहादुर शाही, तत्कालीन महासचिवहरू गणेशदत्त श्रेष्ठ सुवासकुमार पोखरेल, श्यामकुमार आले, प्रचण्डराज प्रधान, रामकाजी कोने, तत्कालीन उपमहासचिव सुमन शाक्य, संगठनका तत्कालीन सदस्य एवं स्रोत तथा परिचालन उपसमिति संयोजक कृष्णबहादुर साह, संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपकोषाध्यक्ष दीपकदास श्रेष्ठ छन् ।

त्यसैगरी वृहस्पति विद्या सदनका तर्फबाट तत्कालीन अध्यक्ष पुरुषोत्तमराज जोशी, अख्तियार प्राप्त तत्कालीन अध्यक्ष चिरञ्जीवी तिवारी, विद्या सदनका तत्कालीन सञ्चालक प्रवीणराज जोशी, ऋद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया, कृतिप्रसाद पाण्डे र मुरारी निधि तिवारीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को नाममा रहेको ११९ रोपनी १२ आना ३ पैसा जग्गामध्ये २८ रोपनी ५ आना १ पैसा हाल वृहस्पति विद्या सदनले भाडामा लिएको छ । वृहस्पतिले भाडामा लिएकोमध्ये ५ रोपनी जग्गा राई स्कुललाई २०७६ सालदेखि भाडामा दिएको छ ।

२०५९ सालमा उक्त जग्गा २०८९ सालसम्म भाडामा लिनेदिने सम्झौता भए पनि उक्त अवधि सकिन १७ वर्ष बाँकी हुँदै २०७२ साल साउन ३ गते थप ३८ वर्षका लागि सो जग्गा वृहस्पति विद्या सदनले भोगचलन गर्न पाउने गरी सम्झौता भएको थियो ।

पछिल्लो सम्झौताअनुसार यो जग्गा वृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ । भाडादर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिने गरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य र वृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?