+
+

भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा सरकारको ३३ लाख खर्च

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १७:२४

२७ जेठ, काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गत पुसमा गरेको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको ३३ लाख रुपैयाँ खर्च भएको खुलेको छ ।

गत १९ र २० पुसमा भएको विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल-भारतबीच १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपालका लागि उपलब्धिमूलक मानिएको सो भ्रमणका लागि परराष्ट्र मन्त्रालयमार्फत ३२ लाख ८७ हजार ७ सय १० रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

सो रकम अर्थ मन्त्रालयले जयशंकरको भ्रमणका भएको खर्चको भुक्तानीका लागि परराष्ट्र मन्त्रालयलाई सो बराबारको थप बजेट निकासा दिएको हो ।

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर नेपाल भ्रमणमा आएका थिए ।

उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेतासँग भेटवार्ता गरेका थिए ।

जयशंकरको नेपाल भ्रमणका क्रममा नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापारलगायत चारवटा सम्झौतामा हस्ताक्षर भएको थियो ।

सो अवसरमा उनले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको भवनको उद्घाटन समेत गरेका थिए ।

भारतमा नयाँ चुनावपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बनेको सरकारमा पनि परराष्ट्रमन्त्रीमा जयशंकर नै दोहोरिने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?