+
+

अस्ट्रेलियामा न्यूक्यासल नेप्लिज क्रिकेट टिमले नेपाली बालबालिकालाई क्रिकेट सिकाउने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २७ गते १९:०५

२७ जेठ, काठमाडौं । अस्ट्रेलियाको न्यूक्यासलमा नेपालीहरूले क्रिकेटमार्फत खेलप्रेमी समुदाय विस्तार गर्ने र त्यहाँ रहेका नेपाली मूलका बालबालिकाहरूलाई क्रिकेट प्रशिक्षण गराउने भएका छन् । न्यूक्यासल नेप्लिज क्रिकेट टिमले गाला डिनर आयोजना गरी उक्त कार्यक्रम घोषणा गरेको हो ।

नेपाली समुदायमा खेल प्रेम विकास गर्ने र खेलिरहेका खेलाडीहरूलाई संस्थागत रूपमा एकजुट बनाउने उद्देश्यले स्थापित न्यूक्यासल नेप्लिज क्रिकेट टिम विगत तीन वर्षदेखि सक्रिय छ । समूहले न्यूक्यासल डिस्ट्रिक्ट अन्तर्गत लगातार तीन पटक सेमिफाइनल समेत खेलिसकेको छ ।

उक्त समूहले आयोजना गरेको गाला डिनरमा सक्रिय खेलाडी तथा समूहलाई विभिन्न शीर्षकअन्तर्गत प्रायोजन गर्दै आएका संस्था र व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो । ‘उहाँहरू प्रतिको सद्भाव र सम्मान त सधैँ छँदै छ। यस औपचारिक कार्यक्रम राख्नुको एउटै अर्थ ‘हामी सबै सधैँ सँगै छौँ’ भन्ने सन्देश प्रवाह गर्नु हो,’ कार्यक्रममा संयोजक सजल बस्नेतले कार्यक्रममा भने ।

कार्यक्रममा विभिन्न सरोकारवाला पक्षहरूमार्फत समूहलाई कसरी अझै सशक्त ढङ्गमा अघि बढाउन सकिन्छ भन्नेबारे छलफलसमेत भएको थियो ।

‘हामी हाम्रा गतिविधिहरूलाई खेलकुदमा सीमित राख्न चाहँदैनौँ। हामी सामाजिक, सांस्कृतिक प्रवर्द्धनका लागि कार्यक्रमहरू आयोजना गर्न चाहन्छौँ। हाम्रा साना भाइबहिनीहरूलाई क्रिकेट खेल प्रशिक्षण गराउने, नेपाली समुदायमा मानसिक स्वास्थ्यबारे जनचेतना कार्यक्रम सञ्चालन गर्ने योजनामा छौँ,’ बस्नेतले भने ।

कार्यक्रममा गायिका समीक्षा अधिकारीले साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । साथै अन्य सहभागीले नेपालको संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।

समूहको टाइटल स्पोन्सर टुवेल्स ग्रेन क्यापिटलका सञ्चालक बालकृष्ण गौतमले समूहको उद्देश्य प्राप्तिमा आड पुर्‍याउने भन्दै सात हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण गरे । साथै न्यूक्यासल क्षेत्रमा रहेर व्यापार व्यवसाय गर्दै आएका विभिन्न नेपालीले आफ्नोतर्फबाट क्लबको उत्थान र क्लबले उठाएको विषयहरू प्रवर्द्धनका लागि तयार रहेको जानकारी दिए ।

साथै कार्यक्रममा  एनआरएनएका अध्यक्ष अनिल पोखरेलले आफूहरू नेपाली समुदायको यस प्रयत्नमा आवश्यक साथ तथा सहयोग प्रदान गर्न तत्पर रहेको बताए । उनले भने,’के कसरी यस क्लबमा योगदान गर्न सकिन्छ बुझ्यौँ । अब हरेक तवरबाट सकेको सहयोग गर्ने विश्वास दिलाउँछु ।’

कार्यक्रममा न्यूक्यासल नेप्लिज क्रिकेट टिमका क्याप्टेन रूपक सापकोटाले समूहलाई हौसला, साथ तथा सहयोग प्रदान गर्न उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आफूहरूको सक्रियता र निरन्तरताको प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?