
२८ जेठ, पोखरा । माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मत दिएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् ।
जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका सुरेन्द्रराजले सोमबार विश्वासको मत मागेका थिए ।
पाण्डेको दल कांग्रेसका २७ सांसद छन् । राप्रपाका २, नेसपाका देवकोटा र मनाङबाट स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले मत दिएपछि मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् । ६० सदस्यीय प्रदेश सभामा ३१ सांसदले पक्षमा हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले विश्वासको मत नदिन ह्वीप जारी गरेका थिए ।
विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै उनले सांकेतिक रूपमा ह्वीप उल्लंघन गरे कारबाही गर्ने चेतावनी दिएका थिए ।
एमाले संसदीय दलका नेता खगराज अधिकारीले पनि एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहोर्याउन आग्रह गरेका थिए ।
तर नेसपाका प्रदेश सांसद फणिन्द्रले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उभिएपछि एमाले सांसदहरूले प्रदेशसभामा नाराबाजी समेत गरेका थिए ।
एमालेका २२ र माओवादीका ६ सहित २८ सांसदले विश्वासको मत लिने प्रस्तावका विपक्षमा मत दिए ।
मुख्यमन्त्री पाण्डेसँग विश्वासको मत लिन १३ असारसम्म समय थियो । शीर्ष नेताहरूसँग छलफलपछि सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनु अगाडि नै विश्वासको मत लिने निष्कर्षमा पुगे ।
सुरुमा खगराज मुख्यमन्त्री हुँदा सरकारमा गएको राप्रपा केन्द्रीय सत्ता समीकरण फेरिएसँगै तटस्थ बसेको थियो ।
तर यो पटक मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लाई साथ दियो । केन्द्रीय सत्ता समीकरण बदलिँदा प्रदेशमा छाप नपरोस् भनेर केन्द्रको गठबन्धनका विपक्षमा गण्डकीमा सुरेन्द्रराजलाई समर्थन गरेको राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताएका छन् ।
स्वतन्त्र सांसद दीपक मनाङेले ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि जसले ३० पुर्याउँछ, उसैलाई मत दिने बताएका थिए । मनाङेले यसअघि पनि जता बहुमत हुन्छ, उतै समर्थन गर्दै पाँचौ पटक मन्त्री बनिसकेका छन् ।
त्यसैले मुख्यमन्त्री पाण्डेले नेसपाका सांसद देवकोटाको समर्थन खोजे । नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले पाण्डे नेतृत्वको सरकारलाई समर्थन गर्ने बताएका थिए । गण्डकीमा फणिन्द्रको फ्लोरक्रस हुनुलाई प्रधानमन्त्री तथा माओवादीका अध्यक्ष प्रचण्डसँग बाबुरामको बदलाको हिसाबले नेताहरूले हेरेका छन् ।
पार्टी एकता गर्ने सहमतिका साथ एउटै चुनाव चिन्हबाट लडेका प्रचण्ड र बाबुरामबीच पछिल्लो समय असमझदारी बढ्दो छ । नेकपाबाट प्रतिनिधिसभा सदस्य महेन्द्र राय यादव र बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठ समूहले नेसपा विभाजन गरेर माओवादीसँग एकता रोजेपछि बाबुराम रूष्ट बनेका थिए ।
फ्लोर क्रस गरेका सांसद फणिन्द्र आफूहरूमाथि गरेको अपमानजक व्यवहारकै कारण आज यो परिस्थिति निर्माण भएको बताउँछन् । साथै उनले
संसदीय दल माओवादी भए पनि पार्टी आफ्नो दल नेसपा भएकाले माओवादीले कारबाही गर्न नमिल्ने समेत दाबी गरेका छन् ।
प्रतिक्रिया 4