+
+

विदेशी विनिमय सञ्चिति पुग्यो साढे १९ खर्ब

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १७:३८

२८ जेठ, काठमाडौं । मुलुकको विदेशी विनिमय सञ्चिति बढेर साढे १९ खर्ब रुपैयाँ हाराहारी पुगेको छ ।

केन्द्रीय बैंकले सोमबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनाको तथ्यांक समेटर तयार पारेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको थियो ।

यो परिमाणमा २६.२ प्रतिशतले वृद्धि भई २०८१ वैशाखमा १९ खर्ब ४२ अर्ब ४० करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा हिसाब गर्दा २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड थियो । २०८१ वैशाख मसान्तमा २४.२ प्रतिशतले बढेर १४ अर्ब ५४ करोड डलर पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड थियो । २०८१ वैशाख मसान्तमा २८ प्रतिशतले वृद्धि भई १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड थियो । २०८१ वैशाख मसान्तमा १३.८ प्रतिशतले बढेर २ खर्ब २० अर्ब ३८ करोड कायम भएको छ ।

२०८१ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ ।

सञ्चिति पर्याप्तता सूचक

राष्ट्र बैंकका अनुसार चालु आव २०८०/८१ को १० महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ वैशाख मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ३४ प्रतिशत, १०५.३ प्रतिशत र २९.२ प्रतिशत छ । २०८० असार मसान्तमा यी अनुपात क्रमशः २८.८, ८३.० र २५ प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?