+
+

फ्लोर क्रस गरेका फणिन्द्र भन्छन् : प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मत दिएँ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १७:३९

२८ जेठ, पोखरा । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार प्रदेश सभामा विश्वासको मत लिँदा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गरेका थिए । यससँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताए ।

१५/१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेको उनले बताए ।

उनले भने, ‘पछिल्लो चरण हामी माननीयलाई थाहा नै नदिइ संख्या गणना गरेर सरकार फेरबदल हुनेतिर गयो । त्यसपछाडि गम्भीर शंका लाग्यो, गण्डकी प्रदेश बर्बादीतिर जाँदैछ ।’

त्यसका बाबजुद आफूले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएको भए पनि सरकार नजोगिएको उनले बताए । उनले भने त्यसका लागि अरू शक्ति पनि आउनुपर्थ्यो , मुख्यतः राप्रपा आउनुपर्थ्यो, आएन ।’

तर अहिले निर्णायक रहेका पार्टीहरूले पनि साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगिने देखेको उनले बताए । गण्डकी प्रदेश सभा बचाउनु मेरो दायित्व सम्झेर मैले पार्टी केन्द्र र प्रदेशको निर्णय मुताविक मत दिएको हुँ ।’

माओवादीले ह्वीप जारी गरेको भए पनि आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र पार्टीको निर्देशनअनुसार मत दिएको बताए । माओवादीले कारबाही गर्ने चेतावनी दिएको छ नि भन्ने प्रश्नमा उनले भने, एकले अर्कालाई कारबाही गर्दै जाने हो भने हामी कहाँ पुग्ने ?’

संविधानले दल खोल्ने अधिकारी दिएको र राजनीतिक दलसम्बन्धी कानुनअनुसार दुई वा दुईभन्दा बढी दल मिलेर चुनाव लडेको भन्दै उनले भने, एउटा दलले अर्को दलको (सांसद)लाई कारबाही गर्दै जाने हो भने यो राजनीतिक प्रणाली खारेज गरे भइहाल्यो नि !’

सरकारमा जान हुन्न कि जानु हुन्न भन्ने प्रश्नमा उनले माओवादीले कसरी लिन्छ भन्नेमा भर पर्ने बताए । माओवादीले आफू अर्को दलको उम्मेदवार भएको र दलको निर्णयानुसार मत दियो भनेर सहज रूपमा लिनुपर्ने भन्दै देवकोटाले भने, ‘एकले अर्काको अस्तित्व नस्वीकार्ने हो भने जिम्मेवारी लिएर जानुपर्ने हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?