+
+

निःशुल्क उपचार पाए पनि विकलाल परिवारका दुःख हटेनन्

रासस रासस
२०८१ जेठ २९ गते १३:१०

२९ जेठ, चितवन । ज्याला मजदुरी गरेर परिवारको जीविका धानिरहेका मकवानपुरको बकैयाका विकलाल थिङले निःशुल्क उपचार पाए पनि परिवारका दुःख भने हटेका छैनन् ।

गत चैतमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते बकैया गाउँपालिका-४ का २५ वर्षीय थिङको चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले निःशुल्क उपचार गरिदिए पनि परिवारको कमाउने छोरो काम गर्न सक्ने नभएपछि थप दुःख बढेको उहाँका बुबा रामबहादुर थिङले बताए ।

थिङ गत चैत २ गते आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका थिए । प्रहरीले टाउकोमा गम्भीर चोट लागेका उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाएको थियो ।

अस्पतालले दुई महिना २५ दिन लगाएर  आठ लाख रुपैयाँभन्दा बढीको उपचार निःशुल्क गरेको गरिदियो । अहिले उनी सामान्य हिँङ्डुल गर्न सक्ने भएका छन् ।

थिङका बाबु रामबहादुर थिङ र आमा चिनिमाया थिङको अनुरोधपछि  अस्पतालले सम्पूर्ण खर्च छुट दिएको हो । रामबहादुरले भने, ‘हामीसँग यति धेरै रकम तिर्न कुनै उपाय नै थिएन । हाम्रो अनुरोधमा अस्पतालले सम्पूर्ण उपचार खर्च मिनाहा गरेपछि अहिले छोराले नयाँ जीवन पाएको छ ।’

चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले आकस्मिक कक्ष, जटिल शल्यक्रिया, आईसियू, एचडियु, वार्ड, विभिन्न परीक्षणसमेत गरी सात लाख ४६ हजार १७० रुपैयाँ र अस्पताल फार्मेसीको रु एक लाख २५ हजार २९८ गरी आठ लाख ७१ हजार ४६८ रुपैयाँ तिर्नुपर्नेमा सबै निःशुल्क गरिएको जानकारी दिए ।

थिङ परिवारको आर्थिक अवस्था कमजोर देखेर सम्पूर्ण उपचार खर्च निःशुल्क गरेको देवकोटाले बताए । ‘आफैँले उब्जाएको अन्नले वर्षभरी खान पनि नपुग्ने थिङ परिवार वास्तवमै विपन्न देखेर भर्ना भएदेखि शल्यक्रियासम्म सम्पूर्ण उपचार निःशुल्क गरेका छौँ’, देवकोटाले भने ।

दैनिक ज्याला मजदुरी गर्ने विकलालले घर बनाउनेलगायतका काम गरेर परिवारको गर्जो टार्दै आएका थिए । बुबा रामबहादुरले भने, ‘हामीलाई कमाएर पाल्ने छोरो यही हो, अब घर गएर खाने के हो भन्ने चिन्ता छ ।’

रामबहादुरको परिवारमा छ छोरी र चार छोरा छन् । छ छोरीको विवाह भइसकेको छ भने जेठो छोरा विवाह गरेर अलग्गै बस्छन् । विकलालसहित तीन छोरा र आमाबाबु सगोलमा बसिरहेका छन् । यो परिवारलाई आफ्नो उब्जनीले छ महिना पनि खान पुग्दैन ।

विकलालको टाउकोमा लागेको गम्भीर चोटका कारण देब्रे हात नचल्ने भएको छ भने देब्रे खुट्टा थोरै मात्रै चल्छ । घाउ निको भए पनि उनी पूर्णरुपमा श्रम गर्न सक्ने हुन गाह्रो रहेको चिकित्सकले बताएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?