+

मानसिक स्वास्थ्य : ११ भ्रम र सत्य

२०८१ जेठ  २९ गते १८:५१ २०८१ जेठ २९ गते १८:५१
मानसिक स्वास्थ्य : ११ भ्रम र सत्य

मानसिक स्वास्थ्यबारे धेरै खालका भ्रम शताब्दीऔंदेखि फैलिंदै आएका छन् । कतिपयले यसलाई भूत र प्रेतको असर वा पूर्वजन्मको फलसँग जोड्ने गर्छन् भने कतिपयले मानसिक रोगलाई पागलपनको संज्ञा दिन्छन् ।

यो अवस्थाले के देखाउँछ भने मानिसहरु मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याप्रति त्यति जागरुक छैनन् । यही कारणले गर्दा धेरै मानिस मानसिक तनाव वा डिप्रेसन जस्ता स्वास्थ्य समस्या भएपनि कसैलाई भन्न रुचाउँदैनन् । बरु लुकाएर राख्छन् ।

के कस्ता भ्रम छन् ?

भ्रम : मानसिक स्वास्थ्य समस्या भएकाहरूको बुद्धि कमजोर हुन्छ र काम गर्न सक्दैनन् ।

– मानसिक स्वास्थ्यमा समस्या आउनुको अर्थ व्यक्तिको बौद्धिक क्षमतामा ह्रास आउनु वा सुस्त बुद्धि हुनु होइन । मानसिक समस्या हुनुको अर्थ व्यक्तिले समाजमा आफ्नो स्थान बनाउनै सक्दैन भन्ने पनि होइन । यसको वास्तविकता भनेको कुनै विशेष व्यक्तिमा कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या आएपनि उसले सामान्य जीवन जिउन सक्छ ।

यो समस्या गम्भीर नहुँदासम्म दैनिक तथा पारिवारिक जीवन सहजरुपमा बिताउन सक्छ ।

भ्रम : निश्चित मानिसहरुमा मात्र मानसिक रोग देखिन्छ ।

– यो पनि सत्य होइन । मानसिक स्वास्थ्यबारे भएका अध्ययनहरुले पाँचमध्ये एक जनालाई आफ्नो जीवनको कुनै न कुनै चरणमा मानसिक रोग लाग्न सक्ने निष्कर्ष निकालेको पाइन्छ ।

त्यसैले जो कसैलाई पनि कुनै न कुनै रूपमा मानसिक स्वास्थ्य समस्या पर्न सक्ने देखिन सक्छ ।

भ्रम : मानसिक समस्या एकपटक देखिएपछि निको हुँदैन ।

– मानसिक समस्या व्यक्ति अनुसार फरक-फरक तरिकाले देखिन सक्छ । एक त मानसिक समस्या एउटै कारण र एउटै रोगले हुन्छ भन्ने पनि छैन । मानसिक समस्यामा चरणहरु हुन्छन् । जो समयसँगै  सामान्य अवस्थामा फर्किन पनि सक्छन् ।

धेरैजसो अवस्थामा औषधि उपचार,  विभिन्न प्रकारका थेरापीले निको पार्न वा नियन्त्रण गर्न सकिन्छ ।

भ्रम : मानसिक समस्या भएकालाई विवाह गरेपछि व्यवहारले ठीक पार्छ ।

सत्य : यो गलत बुझाइ हो । मस्तिष्कसँग सम्बन्धित समस्याको उपचार दक्ष चिकित्सक, सही औषधि उपचार र सकारात्मक वातावरणले ठीक हुनसक्छ ।

यदि उपचार गर्न छोडेर विवाह गर्दा वा गरिदए उसको मात्र नभई जीवनसाथीको पनि अवस्था बिग्रिन सक्छ ।

भ्रम : मानसिक समस्या भएका सबै व्यक्ति हिंस्रक र आक्रामक हुन्छन् ।

– यो भनाइमा पूर्ण सत्यता छैन । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् ।

विश्व स्वास्थ्य संगठनको तथ्यांकलाई आधार मान्ने हो भने प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रूपमा मानवअधिकार हननको सिकार भइरहेका हुन्छन् ।

उनीहरुमा स्वस्थ मानिसको जति नै क्रोध हुन्छ । तर कतिपय गम्भीर अवस्थामा उपचार नपाउँदा वा प्रयोग गरिरहेको औषधिको मात्रामा असन्तुलन आउँदा कुनै बेला ह्रिंसक जस्ता देखिन सक्छन् ।

भ्रम : बालबालिका र किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन ।

– ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षको उमेरअगावै सुरु हुन्छ । बाल्यकालमा भएका शोषण, गरिबी, दुर्घटना, बुलिङ, यौन दुर्व्यवहार, गृह कलह, परिवारमा कसैको अकाल मृत्युपछिको आघात आदि बालबालिकामा देखिने मानसिक समस्याका कारक हुनसक्छन् ।

डब्लुएचओले पनि प्रत्येक ५ मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहने गरेको उल्लेख गरेको छ ।

भ्रम : मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारणले हुन्छ ।

– मानसिक स्वास्थ्य समस्या जैविक, वातावरणीय, सामाजिक तथा मनोवैज्ञानिक कारणले गर्दा विकास हुन सक्छ ।

त्यसैले व्यक्तिको व्यक्तिगत कमजोरी वा आत्मबलको कमजोरीले समस्या हुन्छ भन्न मिल्दैन ।

भ्रम : मानसिक स्वास्थ्य समस्या भएकालाई सहयोग गर्न सकिंदैन ।

– मानसिक समस्या भएका व्यक्तिलाई भावनात्मकरुपमा सहयोग गर्न सके उनीहरुको स्वास्थ्यमा क्रमशः सुधार आउँदै जान्छ । उनीहरु जति एक्लो बस्छन्, त्यति उनीहरुमा नकारात्मक विचार आउने जोखिम रहन्छ ।

त्यसैले उनीहरुको साथमा बस्ने र उनीहरुले व्यक्त गर्न चाहेको कुरा ध्यानपूर्वक सुनिदिंदा मात्र पनि त्यस्तो व्यक्तिलाई धेरै सहयोग पुग्न सक्छ ।

समाजमा मानसिक समस्या भएकालाई पागल भन्दै होच्याउने गरेको देखिन्छ, जुन गलत हो । उनीहरुलाई सम्मान दिने र सकेको संरक्षण गर्नु जो कोहीको कर्तव्य हो ।

भ्रम : मानसिक रोग भएकाले अरुको ध्यान तान्न नाटक गर्छन् ।

– मनोरोगहरु जस्तै, एन्जाइटी र ‘बायो पोलार डिसअर्डर’ जस्ता रोगमा हातखुट्टा काम्ने, कराउने, एकोहोरिने जस्ता व्यवहार देखिन सक्छ । यस्तोमा कतिले बोक्सी वा देवता चढेको वा अरुको ध्यान तान्न नाटक गरेको जस्तो बुझ्न सक्छन्, जुन गलत हो । यी मनोसमस्याको लक्षण हुन् । जसको पहिचान र सफल उपचारले उचित व्यवस्थापन हुनसक्छ ।

भ्रम : मानसिक समस्या हुनेहरुमा इच्छाशक्ति कम हुन्छ ।

– हाम्रो समाजमा इच्छाशक्ति कम भएका व्यक्ति मात्र मानसिक रोगबाट ग्रस्त हुनसक्छन् वा मानसिक समस्या हुनेमा इच्छाशक्ति नै हुँदैन भन्ने भ्रम छ । तर यो सत्य होइन, किनभने मानसिक रोगले व्यक्तिको शक्तिलाई नभई मस्तिष्कलाई असर पार्ने गर्छ ।

भ्रम : मनोरोग हुनेबित्तिकै मानसिक अस्पतालमा राख्नुपर्छ ।

– मानसिक रोग लाग्नेबित्तिकै अस्पतालमा भर्ना गर्नैपर्छ भन्ने हुँदैन । कतिपय अवस्थामा उनीहरूलाई उपचार र फलोअपको लागि अस्पताल जानुपर्छ । तर  लामो समय अस्पतालमा बस्नुपर्छ भन्ने हुँदैन ।

उनीहरुको सफल उपचार हुन चिकित्सक मात्र नभई घरका सदस्यले कति राम्रोसँग हेरचाह गर्न सक्षम छन् भन्नेसँग बढी महत्त्वपूर्ण छ ।

डा. अनन्त अधिकारी मानसिक स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?

अचानक चक्कर आउनु कस्तो स्वास्थ्य समस्याको संकेत हो ?