
२९ जेठ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा मंगलबार आयोजित सार्वजनिक कार्यक्रममा एक्कासी बेहोस भएका वीरेन्द्रनगर नगरपालिका सुर्खेतका लेखा अधिकृत हरिबहादुर क्षेत्रीको मृत्यु भएको छ ।
५२ वर्षका उनको मंगलबार बिहान हृदयाघातका कारण मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका चिकित्सक डा. केएन पौडेलले बताए । उनका अनुसार क्षेत्रीलाई यसअघि पनि हृदयघात भएको थियो ।
मंगलबार बुलबुले उद्यानमा डुङ्गा सञ्चालनको उद्घाटन गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा उद्घोषकको भूमिकामा क्षेत्री नै थिए ।
कार्यक्रम सकिएपछि कार्यक्रम स्थलमै एक्कासि बेहोस भएका थिए । त्यसपछि तत्काल उपचारका लागि उनलाई प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको चिकित्सकहरूले जनाएका छन् । अस्पतालका अनुसार उनको अक्सिजन लेभलमा सुधार नहुँदा मृत्यु भएको हो ।
उनी ०७४ साउनयता वीरेन्द्रनगर नगरपालिकामा कार्यरत थिए । पर्वतको कुश्मा स्थायी ठेगाना भएका क्षेत्रीले हाल वीरेन्द्रनगर नगरपालिका–७, इत्राम घर बनाएका थिए ।
प्रतिक्रिया 4