+
+

त्रिविको जग्गा छाड्न सुमो व्यवसायीको आनाकानी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते ७:०९

३० जेठ, काठमाडौं । यातायात व्यवसायीले बल्खुस्थित त्रिभुवन विश्वविद्यालयको जग्गा छाड्न आनाकानी गरेको छ ।

व्यवसायीले पूर्ण रुपमा नछोड्दा काम गर्न समस्या भइरहेको चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीन कार्यालयले जनाएको छ ।

२० जेठमा व्यवसायीहरुले सुमो हटाएपछि संस्थानले घेरबार लगाउने भनेर काम अगाडि बढाएको थियो । तर, व्यवसायीले अहिले फेरि सुमो पार्क गर्न थालेका छन् ।

व्यवसायीहरुले पूर्ण रुपमा नछोड्दा समस्या भइरहेको डीन कार्यालयका प्रशासन प्रमुख कृष्णहरि आचार्यले बताए ।

बल्खुस्थित करिब २८९ रोपनी जग्गा त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थानलाई शिक्षण अस्पतालको विस्तारित विशिष्टीकृत (सुपर स्पेसियालीटी) अस्पताल बनाउन दिएको छ ।

तर, करिब तीन रोपनी जग्गा सुमो पार्कमा रुपमा प्रयोग भइरहेको थियो । यो जग्गा त्रिविले प्राध्यापक संघलाई कार्यालय सञ्चालन गर्न दिएको थियो ।

संघले मासिक दुई लाख १० हजार रुपैयाँ भाडा लिने गरी भदौ २०७७ मा भाडामा लगाएको थियो ।

काठमाडौंबाट हेटौंडा लगायतका क्षेत्रमा जाने टाटा सुमो जिप पार्किङ गर्दै आएको यातायात व्यवसायीले त्यहाँ भान्साघर, टिकट काउन्टर, शौचालयलगायतका लागि टहरा बनाएका छन् ।

जग्गालाई लिएर चौतर्फी आलोचना भएपछि त्रिवि कार्यकारी परिषद्ले २९ पुस २०७७ जग्गा फिर्ता लिनुका साथै भाडा सम्झौता रद्द गर्न निर्देशन दियो ।

प्राध्यापक संघले पनि सम्झौता रद्द गर्दै ठाउँ खाली गरिदिन सूचना जारी गरेको थियो । त्यसविरुद्ध व्यवसायीहरू अदालत गए, तर जिल्ला र उच्च अदालतले विपक्षमा फैसला गर्‍यो ।

सर्वोच्च गएका व्यवसायीहरुले सुमो पार्कका रुपमा प्रयोग गरिरहेको जग्गा भने छाडेका थिएनन् ।

पछिल्लो समय सरकारले त्रिविको जग्गा खोजबिनका लागि पूर्वसचिव शारदा त्रितालको नेतृत्वमा छानबिन समिति नै बनाएपछि व्यवसायीहरुले सुमो पार्क गर्न छाडेका थिए ।

आईओएमले घेरबार गर्न थाल्यो । तर, ठेकदार कम्पनीले पार्क पूर्ण रुपमा हटिनसकेको भन्दै काम नगर्न समेत चेतावनी दिइरहेको गुनासो गरेको छ । आचार्य भन्छन्, ‘हामी सोमबार जाँदा केही सुमो पार्क गरिएको थियो, मानिसहरू पनि देखिए ।’

त्रिवि, रजिष्ट्रार कार्यालयले पनि सहयोग माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गरेको छ । प्रहरी वृत्त, कालीमाटीको सहयोगमा बिहीबारदेखि काम गर्ने प्रशासनले तयारी छ ।

सामान्य प्रशासन महाशाखा प्रमुख राजुकुमार श्रेष्ठले भन्छन्, ‘व्यवसायीहरुलाई उनीहरूले बनाएको टहरा भत्काउन समय दिएका थियौं, भत्काउनुको सट्टा फेरि काममा अवरोध गर्न थालेकोले प्रहरीको सहयोग लिन खोजेका हौं ।’

व्यवसायी मध्येका एक समिर पौडेल भने जग्गा खाली गराउने प्रकृयामा रहेको बताउँछन् ।

उनका अनुसार करिब ७ महिनाअघि सर्वोच्चमा हालेको रिट विचाराधीन नै छ, तर सम्झौता अवधि सकिन लागेकाले जग्गा खाली गर्ने जानकारी त्रिविलाई दिएको उनले बताए ।

‘सम्झौताको समय पनि सकिन लाग्यो,’ उनले भने, ‘हामीले नपाउने नै भएपछि अस्पताल नै बन्न लागेको ठाउँ किन ओगट्ने भनेर एक वर्ष भए पनि छोड्ने प्रकृयामा छौं ।’

तर, बनाएको संरचनाहरू हटाउन समय लाग्ने भएकाले ४५ दिन माग गर्दै निवेदन दिन लागेको उनले बताए । ‘सरकारले गठन गरेको आयोगलाई निवेदन दिने तयारीमा छौं, त्रिवि सामान्य प्रशासनलाई बोधार्थ दिन्छौं,’ उनले भने, ‘४५ दिन समय दिनुपर्छ भन्ने हाम्रो माग हो ।’

सबैलाई सूचित गरेपनि कतिपय सुमो पार्क भइरहेको स्वीकार गरेका उनले त्यसलाई रोक्न ताला लगाउने बताए ।

आफ्ना सामान झिक्न र त्रिविलाई काम गर्न मिल्ने गरी मात्रै ताला लगाउने उनले बताए ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?