+
+
यू-१५ विद्यालयक खेलकुद :

पहिलो दिन कर्णालीलाई २ स्वर्ण, सुदूरपश्चिमका वरुणदत्तले जिते स्वर्णसहित २ पदक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १२:००

३० जेठ, पोखरा । यू-१५ विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत एथ्लेटिक्समा बुधबार कर्णालीले दुई स्वर्णपदक जितेको छ भने सुदूरपश्चिमका वरुणदत्त रानाले एक स्वर्णसहित दुई पदक जितेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् तथा प्रदेश खेलकुद परिषद्, गण्डकीद्वारा संयुक्त रुपमा आयोजना भइरहेको प्रतियोगिताको छात्र ४०० मिटर दौडमा सुदूरपश्चिमका वरुण दत्त राना पहिलो भएका हुन् ।

उनले निर्धारित दूरी ५८.६२ सेकेन्डमा पूरा गरे । यस प्रतिस्पर्धामा मधेशका दिपेश साह दोस्रो तथा लुम्बिनीका सुशान्त थारु तेस्रो भए ।

छात्रातर्फ कर्णालीकी कृष्णा रानाले स्वर्ण जितिन् । कृष्णाले निर्धारित दूरी तय गर्न १ मिनेट ०४.२९ सेकेन्ड समय खर्चिन् । बागमती प्रदेशकी भगवती खड्काले रजत तथा लुम्बिनीकी कमला वलीले कांस्य हात पारे ।

यस्तै सुदूरपश्चिमका वरुणले छात्र लङजम्पमा रजत पदक जिते ।  मधेश प्रदेशका अनुजकुमार शाहले पहिलो हुँदै स्वर्ण जित्दा वरुण दोस्रो भएका हुन् । पोखरा रंगशालामा अनुजले ६.११ मिटर जम्प गरे ।  लुम्बिनी प्रदेशका श्लोक हरिजनले कांस्य जिते ।

यस स्पर्धाको महिलातर्फ कर्णाली प्रदेशकी सरिता शाहीले ४.६१ मिटर जम्प गरिन् । कोशी प्रदेशकी निकिता एक्तेल लिम्बू दोस्रो तथा गण्डकी प्रदेशकी सुजना कुमाल तेस्रो भए ।

छात्र १०० मिटर दौडमा लुम्बिनीका शुभन बमरेल पहिलो भए । आफ्ना प्रतिद्वन्द्वीलाई उछिन्ने क्रममा शुभनले ११.४६ सेकेन्ड समय निकाले । मधेशका अर्जुन शाह दोस्रो तथा कोशीका राजन वान्तवा राई तेस्रो स्थानमा रहे ।

उक्त स्पर्धाको छात्रामा गण्डकीकी एन्जल अधिकारी शीर्ष स्थानमा रहिन् । एन्जल निर्धारित दूरी १३.५६ सेकेन्डमा पूरा गरिन् । लुम्बिनीकी आरुषी भट्टराईले रजत तथा बागमतीकी मुस्कान चौधरीले कांस्य जिते ।

पहिलोपटक स्कुलस्तरको प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले खुशी व्यक्त गर्दै यस खालको प्रतियोगिताले आगामी दिनमा स्कुलमा रहेका प्रतिभालाई आफ्नो क्षमता देखाउने अवसर हुने बताए ।

एथ्लेटिक्स कूल १४ स्पर्धा समावेश भएकोमा पहिलो दिन ६ स्वर्णको टुंगो लागेको छ ।

एथलेटिक्सको बाँकी ८ स्पर्धाको टुङ्गो प्रतियोगिताको अन्तिम दिन बिहीबार हुनेछ ।

पहिलो दिन कर्णालीले २ स्वर्ण जितेको छ । यस्तै लुम्बिनीले १ स्वर्ण १ रजत र ३ कांस्य जितेको छ भने मधेशले १ स्वर्ण र २ रजत जितेको छ ।

सुदूरपश्चिमले १ स्वर्ण र १ रजत तथा गण्डकीले १ स्वर्ण र १ कांस्य जितेको छ । कोशी र बागमतीले भने कुनै स्वर्ण जितेका छैनन् । दुवैले समान १ रजत र १ कांस्य जितेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?