+

मान्छे किन बूढो हुन्छ ?

२०८१ जेठ  ३० गते १८:४७ २०८१ जेठ ३० गते १८:४७
मान्छे किन बूढो हुन्छ ?

बूढो हुनु स्वभाविक जीवन प्रक्रिया हो । तर पनि बूढो भइहाल्न सायदै मानिसलाई मन पर्ला । मानिसको उमेर बढ्दै जाँदा हरेक गतिविधिमा परिवर्तन आउन थाल्छ । आँखा कमजोर हुन थाल्छ, जोर्नी कमजोर हुन थाल्छ र छाला पातलो हुन थाल्छ ।

मान्छे बूढो हुनका लागि विभिन्न अवस्थाबाट गुज्रिनुपर्छ । बाल्यकाल, युवावस्था, प्रौढावस्था हुँदै मानिस वृद्धावस्थामा पुग्छ ।

मान्छे बूढो हुनुको विभिन्न कारण हुन्छन्, त्यसमध्ये एउटा प्रमुख कारण डीएनएमा परिवर्तन हो । डीएनए एक प्रकारको आनुवंशिक कोड हो जुन कोषिकाहरुबीच प्रसारित हुन्छ । बढ्दो उमेरसँगै यी आनुवंशिक कोडहरूको प्रसारणमा गडबडी हुन थाल्छ र बिस्तारै कोषिकाहरुमा जम्मा हुन थाल्छ । यो प्रक्रियालाई आनुवंशिक अस्थिरता भनिन्छ र डीएनएले स्टेम सेलहरूलाई असर गर्दा बूढोपन देखिन थाल्ने वंशाणुगत रोग विशेषज्ञ डा. नीलम ठाकुर बताउँछिन् ।

ढोपनको अन्य कारण

क्रोमोजोमको कमजोरी

प्रत्येक डीएनए सूत्रको अन्त्यमा क्रोमोजोमहरूलाई सुरक्षित गर्ने टोपी जस्तो संरचना हुन्छ । यिनीहरूलाई टेलोमेरेस भनिन्छ । उमेर बढ्दै जाँदा, यो टोपी जस्तो संरचना टाढा जान थाल्छ र क्रोमोजोमहरूको सुरक्षा खुकुलो हुन थाल्ने डा. ठाकुर बताउँछिन् ।

‘जब टेलोमेरको संरचनामा गडबडी हुन्छ, धेरै रोगहरूको जोखिम बढ्छ । जसकारण फोक्सोसम्बन्धी समस्या र रक्तअल्पताको जोखिम बढ्छ । यी दुवै रोग प्रतिरोधात्मक क्षमतासँग सम्बन्धित गम्भीर समस्या हुन्,’ उनी भन्छिन् ।

कोषमा परिवर्तन

हाम्रो शरीरमा एक विशेष प्रकारको प्रक्रिया हुन्छ, जसलाई डीएनए अभिव्यक्ति भनिन्छ । जसमा एउटै कोषिकामा रहेका हजारौं जीनले के गर्ने भन्ने निर्णय गर्छ । तर समय र जीवनशैलीले यी निर्देशनहरू परिवर्तन गर्न सक्छन् । यस्तो अवस्थामा कोषिकाहरुले पनि आफ्नो सामान्य व्यवहार भन्दा फरक व्यवहार गर्न थाल्छन् र जसको कारण वृद्धावस्थाको लक्षण देखिन थाल्ने डा. ठाकुर बताउँछिन् ।

कोषिकाहरु नवीकरण गर्ने क्षमता कम भएर

हाम्रो कोषिकाहरुमा क्षतिग्रस्त कम्पोनेन्टहरू जम्मा हुनबाट रोक्नका लागि शरीरमा आफैंलाई नवीकरण गर्ने क्षमता हुन्छ । तर उमेर बढ्दै जाँदा यो क्षमता बिस्तारै घट्दै जाने डा. ठाकुर बताउँछिन् ।

‘यस्तो अवस्थामा कोषिकाहरुले बेकार वा विषाक्त प्रोटिनहरू जम्मा गर्न थाल्छन्, जुन कहिलेकाहीं अल्जाइमरको कारण बन्न सक्छ । कहिलेकाहीं यसका कारण पार्किन्सन र मोतियाबिन्दुको जोखिम पनि बढ्छ,’ उनी भन्छिन् ।

माइटोकोन्ड्रियाले काम गर्न छोडेर

माइटोकोन्ड्रियाले शरीरलाई ऊर्जा प्रदान गर्ने काम गर्छ । तर समयसँगै तिनीहरूले आफ्नो क्षमता गुमाउन थाल्छन् । तिनीहरूको कमजोरीले डीएनएमा पनि नकारात्मक प्रभाव पार्ने र बुढेसकाल निम्त्याउने ठाकुर बताउँछिन् ।

‘मान्छे वृद्ध हुनुको मुख्य सिद्धान्त यिनै हुन् । तर यसबाहेक पनि मान्छे वृद्धावस्थामा पुग्नुको विभिन्न कारण छन्, जुन अध्ययनको क्रममै छन्,’ डा. ठाकुर भन्छिन् ।

विज्ञान जर्नल नेचरमा प्रकाशित एक अध्ययनमा वैज्ञानिकहरूले माइटोकन्ड्रियालाई पुनर्स्थापित गरेर मुसामा हुने चाउरीहरू हटाउन सक्षम भएको दाबी गरिएको छ ।

बुढेसकालको लक्षण

चालढाल सुस्त हुने, मस्तिष्कको क्षमता कमजोर हुने, छाला चाउरी पर्ने आदि बुढेसकालको लक्षण हुन् । तर गलत खानपान र जीवनशैलीका कारण आजभोलि कतिपय मानिसमा उमेर नपुग्दै बुढेसकालका लक्षणहरु देखिन थालेको छ ।

उमेर भन्दा पहिले मानिस किन बढो हुन्छ ?

डा. विकास पौडेल, छाला तथा यौनरोग विशेषज्ञ

उमेर बढ्दै जाँदा बुढेसकाल निम्तिनु त प्राकृतिक प्रक्रिया हो । तर कोही व्यक्ति उमेर भन्दा अगावै बूढो देखिन्छन् । मानिसको वंशाणुगत गुण, खानपान तथा वातावरणको असर, उमेर नपुग्दै देखिने बुढ्यौलीपनको कारण मानिन्छ ।

वंशाणुगत गुण : वंशाणुगत गुण हाम्रो उमेरसँग सम्बन्धित विभिन्न प्रक्रियाहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ । केही मानिसमा वंशाणुगत गुणकै कारण उमेरभन्दा पहिले नै बुढ्यौली देखिने सम्भावना हुन्छ ।

खराब खानपान : सन्तुलित  भोजनको अभावले यदि सही पोषण तत्त्वहरू लिन सकिंदैन भने शरीरको कोषिकाहरु समय भन्दा पहिले क्षय हुन थाल्छन्, जसले बुढ्यौली प्रक्रियालाई छिटो बनाउँछ ।

प्रोसेस्: धेरै मात्रामा प्रशोधित खाना र फास्टफुड खाँदा शरीरमा धेरै मात्रामा नकारात्मक प्रभाव पर्छ । यसमा ट्रान्सफ्याट, चिनी र अस्वस्थकर तेल बढी हुने हुँदा यसले शरीरका कोषिकाहरुमा क्षति पुर्‍याउँछ ।

नुनको अधिक सेवन : धेरै नुनको सेवन गर्दा शरीरमा पानी जम्न सक्छ, जसले उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या निम्त्याउँछ । कोषिकाहरुमा छिटो क्षय हुने गर्छ, जसले गर्दा उमेरभन्दा पहिले बुढ्यौली देखिन्छ ।

चिनीको अधिक सेवन : चिनीले कोलाजन र इल्यास्टिन जस्ता प्रोटिनलाई कमजोर बनाउँछ, जसले छालाको पुनर्निर्माणमा समस्या सिर्जना गर्छ ।

पोषक तत्वको कमी : सही मात्रामा भिटामिन र मिनरल (जस्तै- जिंक, सेलेनियम)को कमीले शरीरका कोषिकाहरु कमजोर हुन्छन् ।

प्रोटिनको कमी : प्रोटिनले शरीरका कोषिकाहरु पुनर्निर्माण गर्न मद्दत गर्छ । यदि दैनिक आहारमा प्रोटिनको कमी हुन्छ भने बुढ्यौली छिटो आउँछ ।

तनाव र मानसिक स्वास्थ्य : तनाव, चिन्ता र डिप्रेसनले मानिसलाई उमेरभन्दा पहिले बूढो देखाउन सक्छ । लामो समयसम्म तनावमा रहनु स्वास्थ्यका लागि हानिकारक हुन्छ, जसले शारीरिक र मानसिक समस्या बढाउँछ ।

धुम्रपान र अन्य नशालु पदार्थ : धुम्रपानले शरीरमा विभिन्न नकारात्मक असर पार्छ, जसमा फोक्सोको समस्या र कोषिकाहरुको छिटो क्षय हुनु समावेश छ । यसले मानिसलाई उमेर नपुग्दै बूढो देखाउन सक्छ ।

निद्राको कमी : पर्याप्त निद्रा नपुगेको खण्डमा शरीरको पुनर्निर्माण प्रक्रियामा अवरोध आउँछ, जसले तनाव बढाउँछ र शरीरलाई कमजोर बनाउँछ । पर्याप्त निद्राले शरीरलाई ताजगी प्रदान गर्छ र बुढ्यौली प्रक्रियालाई सुस्त बनाउँछ ।

खराब जीवनशैली : अस्वस्थ जीवनशैलीले पनि उमेरभन्दा पहिले बुढ्यौली निम्त्याउँछ । खराब खानपान, शारीरिक क्रियाकलापको कमी र अस्वस्थ बानीहरूले शरीरलाई कमजोर बनाउँछ र बुढ्यौली प्रक्रियालाई तीव्र बनाउँछ ।

यस प्रकार उमेर भन्दा पहिले बुढ्यौली देखिनु विभिन्न कारणको परिणाम हो । यसलाई कम गर्न सही खानपान, स्वस्थ जीवनशैली, पर्याप्त निद्रा र तनावमुक्त रहनु अत्यन्त आवश्यक छ ।

ढेसकालको बारेमा केही रोचक तथ्य

उमेर बढ्दै जाँदा उचाइ घट्दै जान्छ । मेरुदण्डको हड्डीहरूबीचको खाली ठाउँ ग्याप हुन्छ, जसलाई कशेरुक भनिन्छ, बढ्दो उमेरसँगै हड्डीको ग्याप कम हुन्छ र हड्डीहरुबीचको दूरी कम हुन्छ । जसकारण उचाइ एक वा दुई इन्चले घटेको देखिन्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार जापान विश्वको सर्वाधिक वृद्ध जनसंख्या भएको देश हो । मुलुकको कुल जनसंख्यामा ६५ वर्ष वा सोभन्दा माथिल्लो उमेरको जनसंख्याको अनुपात धेरै भएको मुलुकको सूचीमा जापान पहिलो नम्बरमा छ ।

ग्राफिक्स : अरुण देवकोटा/अनलाइनखबर

बुढ्यौलीपन बूढो वृद्धावस्था
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?