+
+

‘अभिनेत्रीहरु एक्सन फिल्ममा आउन जरुरी छ’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १४:०३

काठमाडौं । रोमान्टिक फिल्म खेल्दै आएकी पूजा शर्मा अब एक्सन अवतारमा देखिंदैछिन् । उनको डेब्यु एक्सन फिल्म ‘दान्भी’ असार ७ गते प्रदर्शन तयारीमा छ । पर्दामा महिलाको बलियो उपस्थिति दर्शाउन पनि ‘दान्भी’ जस्ता एक्सन फिल्म बन्न जरुरी रहेको उनको तर्क छ । प्रेमगीत, म यस्तो गीत गाउँछु जस्ता फिल्मले लगाएको लभरगर्लको छापलाई मेटाउन पनि यो फिल्म आफ्नो करिअरमा महत्वपूर्ण रहेको पूजा बताउँछिन् ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अनलाइनखबरसँग संक्षिप्त कुरा गर्दै पूजाले आफू एक्सन फिल्ममा अघि बढ्न खोजेको बताइन् । ‘दान्भी’ पूजाको १२ वर्ष लामो अभिनय करिअरमा १६ औं फिल्म हो । प्रस्तुत छ उनीसँगको संवादको सम्पादित अंश :

दान्भी’ कस्तो फिल्म हो, किन हेर्ने ?

यो एक्सनप्रधान फिल्म हो । दान्भी शक्तिको उदाहरण हो । तल पर्न नसक्ने, जे परिस्थिति आएपनि लड्न सक्ने । यसले केटीलाई निडर भएर जिउन सिकाउँछ ।

पछिल्लो समय महिलाप्रधान फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेका छन् । यसबाट कत्तिको आशावादी हुनुहुन्छ ?

हामीले भोलि गएर यस्तो खालको एक्सन फिल्म गर्न पाऊँ र जे काम गर्दा पनि केटी मान्छेले केही गर्न सक्छ भन्ने ऊर्जा दिन्छ । फाइट हेर्दा हामीले केटालाई मात्र लिएर काम गर्छौं । केटीले पनि फाइट गर्न सक्छ है भन्ने सकारात्मक ऊर्जा दिन्छ भन्ने लाग्छ ।

दान्भी’ले पूजा शर्माको करिअरमा के अर्थ राख्छ ?

दर्शकले मलाई लभस्टोरीमा मात्र देखिरहनुभएको थियो । अब उसले एक्सन फिल्म पनि गर्न सक्छ है अर्थात् एक्सन लेडी भनेर चिनोस् भन्ने चाहना छ ।

दान्भी’सँग दर्शकलाई हलसम्म तान्न सक्ने आधार के छन् ?

पहिलो त, ‘दान्भी’ पूजा शर्माको एक्सन फिल्म हो । केटीले कसरी एक्सन गरेको छ भनेर दर्शकलाई चासो हुनसक्छ । स्टोरी पनि बलियो छ । हामीले हेरिरहेको सामान्य फिल्मभन्दा यसमा केटीको एक्सनलाई प्रस्तुत गरिएको छ, जुन दर्शकलाई मन पर्न सक्छ ।

तपाईंले रोमान्टिक र लभस्टोरी फिल्म गर्दै आउनुभएको थियो । एक्सन फिल्ममा डेब्यु किन ?

एउटा च्यालेन्ज फेस गरौं भनेर म यसमा लागेकी हुँ ।

तपाईंले अब आफूलाई एक्सन फिल्ममा अघि बढाउन खोज्नुभएको हो ? ‘दान्भी’मा तपाईंको एक्सन वास्तविक नरहेको टिप्पणी पनि भइरहेको छ नि ।

एक्सन म आफैंले गर्नैपर्ने हुन्छ । सुरक्षित भएर एक्सन गरेको छु । हामी कलाकारलाई यो मात्र नभएर अरु फिल्म पनि गर्नुपर्ने हुन्छ । कतिपय जोखिम हुने ठाउँमा हामीलाई सुरक्षित तरिकाले काम गर्न मिल्ने सुविधा दिइएको हुन्छ । एक्सन वास्तविक नै हो । मैले सामाजिक सञ्जालमा रिहर्सल भिडियोहरु पनि राखेको थिएँ । त्यो वास्तविक एक्सन नै हो ।

अभिनेत्रीहरु किन एक्सन फिल्ममा आउन जरुरी छ ?

किनभने केटीहरु अरुको भरमा बस्ने मात्र होइन भन्ने लाग्छ । भोलि आफूलाई आइपर्दा, आफूलाई सहारा दिनेभन्दा पनि आफूले नै केही गर्न सकौं भन्ने जरुरी छ ।

तपाईंलाई कतिपयले स्टार, लेडी टाइगर पनि भन्छन् । कलाकारको रुपमा यी कुरा सुन्दा कस्तो महसुस हुन्छ ?

यो चाहिं आफूले गरेको दुःखको नतिजा हो जस्तो लाग्छ । किनभने कसैले ट्याग राखेर, नाम राखेर हुने चीज चाहिं होइन । दर्शकले भन्ने चीज हो । दर्शकले जब अपनाउनुहुन्छ, त्यो ट्याग दिनुहुन्छ । व्यक्तिगतरुपमा कसैले कुरालाई म स्वीकार्दिन । दर्शकले भन्नुहुन्छ भने म स्वीकार्छु ।

तपाईं त फिल्म निर्मात्री पनि, अहिले हामीले कस्तो कथामा काम गर्न जरुरी छ ?

कस्तो कथा भनेर थाहा हुँदैन । दर्शकको रोजाइ हो । उदाहरणको लागि सोचेका पनि थिएनौं । ‘बोक्सीको घर’ दर्शकलाई एक्कासि मन पर्न थाल्यो । दर्शकले कतिबेला के मन पराउँछन् र कस्तो मन पराउँछन् भन्ने नै थाहा हुँदैन ।

हामीलाई अहिले स्टोरी वा स्टार कुन चाहिएको हो ?

स्टोरी सेकेन्डरी हो । सुरुमा त दर्शकलाई हलसम्म तान्न कलाकार चाहिन्छ । नत्र त हामीले जसलाई राख्दा पनि हुन्छ । म आफैंले पनि किन ४० लाख दिएर हिरो राख्नु ? कलाकारले नाम र भार बोकेर हिंडेको हुन्छ । नत्र मैले राम, श्याम, गीता जसलाई राख्दा पनि हुने भयो नि । सेकेन्डरी त, प्रोजेक्ट आफैंमा राम्रो हुनुपर्छ ।

तपाईंको फिल्म करिअरमा ‘दान्भी’को स्थान कहाँनेर हुन्छ ?

म रातदिन सुत्न सक्दिन डरले । किनभने मैले आफ्नो काँधमा बोकेको फिल्म हो यो । मेरा लागि यो एकदमै महत्वपूर्ण फिल्म हो ।

यो फिल्मले तपाईंको अभिनय करिअरमा के मद्दत गर्छ ?

म आफूलाई एक्टिङ भन्दा पनि एक्सनमा आफूलाई एक कदम अघि देख्न चाहन्छु । म कहिल्यै पनि एक्टिङ गर्छु भनेर गर्‍या हुँदिन । म रियल लाइफमा त्यही एक्टिङ गर्छु । एक्ट गर्छु भनेर बस्दिन । रियल चीजलाई अभिनय गरेर बसिराख्या हुन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?