+
+

धनकुटामा मृतक परिवारले दियो छिमेकीविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १४:०३

२९ जेठ, विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका– ८ नेताचोकका ५२ वर्षका डिल्लीराम खड्का २२ जेठमा मृत अवस्थामा भेटिए । उनको साथमा भेटिएको एउटा कागजमा आफूलाई छिमेकी नयान्द्रबहादुर थापाले मर्न बाध्य पारेको लेखिएको थियो ।

उनले थापाले जग्गाको कारोबारमा धोका दिएको उल्लेख गरेका छन् । ‘मेरो काकाको जग्गा सित्तैमा पास गरी खाइदियो र मेरा आफ्ना आफन्त सबैलाई फसाई मलाई गतिछाडा बनाइदिएको हुनाले…’, उनीसँग भेटिएको कागजमा लेखिएको छ ।

खड्का मृत भेटिएको भोलिपल्ट छोरा दीपकले छिमेकी ५५ वर्षीय नयान्द्र थापा विरुद्ध आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि जाहेरी दिएका छन् । जाहेरीपछि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले बताए । उनका अनुसार थापा फरार छन्, उनको खोजी जारी छ ।

खड्का पेशाले शिक्षक हुन् । घरायसी कामका लागि केही वर्षअघि उनले ३५ लाख रुपैयाँ बैंकबाट ऋण लिएका थिए । तर ऋण तिर्न गाह्रो भएपछि उनी जग्गा बेच्ने निष्कर्षमा पुगे ।

२०७८ साल वैशाखमा छिमेकी नयान्द्रबहादुर थापाले उनको जग्गा किन्ने गरी बैना पनि भयो । उनीहरुबीच ५८ लाखमा किनबेच गर्ने सहमति भएको परिवारका सदस्यहरु बताउँछन् । सँगै नयान्द्रसँग डिल्लीरामको काकाको धनकुटाको २३ रोपनी जग्गा लिने र मोरङ रंगेलीमा ३ कट्ठा जग्गा दिने लिखित सहमति पनि भयो ।

त्यसपछि नयान्द्रले डिल्लीरामको बारीबाट उत्तिसका रुख काटेर बेचेको र काकालाई दिन्छु भनेको मोरङको जग्गा पनि नदिएको खड्काको परिवारका सदस्यहरुको भनाइ छ ।

नयान्द्रले जग्गा बैना गरेको चार वर्षसम्म जग्गा नकिन्दा बैंकका लिएको ऋण बढ्दै गएर तिर्न नसक्ने अवस्थामा पुगेको खड्काका परिवारका सदस्यहरु बताउँछन् ।

महालक्ष्मी नगरपालिका– ८ का वडा अध्यक्ष रामबहादुर खड्का खड्का र थापाबीचको लेनदेन विवाद वडा कार्यालयमा पनि आइपुगेको बताए ।

‘उहाँहरुबीच बैंकबाटै ऋण निकालेर लेनदेन मिलाउने सहमति भएको रहेछ, तर बैंकले ऋण नदिएपछि समस्या सुरु भयो’, वडाध्यक्ष खड्काले भने, ‘हामीले यहाँ सुनेको विषय पनि नोटमा लेखिएजस्तै हो ।’ सुरुमा सहमतिमा कारोबार गरेपनि व्यवहार बिग्रदै गएपछि घटना भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?