+
+

उपसचिव, शाखा अधिकृत, नासु र खरिदारको सरुवा

मनपरी निर्णय गरेर सूची लुकाउँदै मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १७:२७

३० जेठ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा थुप्रै कर्मचारीहरुको सरुवा गरेको छ ।  सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र एकीकृत समाजवादीसम्बद्ध  एकीकृत सरकारी कर्मचारी संगठनको प्रत्यक्ष चासोमा जथाभावी सरूवा गरिएकाले मन्त्रालयले  सूची गोप्य राख्न  थालेको छ ।

पछिल्लो समयमा सामान्य प्रशासन मन्त्रालयमा एकीकृत समाजवादी निकट ट्रेड युनियनमा काम गरेका कर्मचारी नेताहरुको रजगज छ । विगतमा संगठनमा रहेकाहरु नै कर्मचारीले ‘कर्मचारी प्रशासन महाशाखा’मा जिम्मेवारी पाएकाले सरुवामा मनपरी निर्णयहरु हुन थालेको मन्त्रालय स्रोतको दाबी छ । ‘एकीकृत सरकारी कर्मचारी संगठनका पूर्व नेता रहेका उपसचिव गगनसिंह बिष्ट र रामहरि शर्मा  कर्मचारी प्रशासन महाशाखामा छन्,’ स्रोतले भन्यो ।

मन्त्रालयले हालै १७ जना उपसचिवहरुको सरुवा गरेको छ भने १३ जना शाखा अधिकृतहरु पनि सरुवा भएका छन् । करिब दुई दर्जन नासु र खरिदार पनि सरुवा भएका छन् ।

यसबाहेक मन्त्रालयले पटके निर्णय गरेर थप उपसचिव र शाखा अधिकृतहरुको पनि सरुवा गरेको स्रोतको दाबी छ । तर, मन्त्रालयले सरुवा भएकाहरुको सूची गोप्य राखेको छ ।

सरुवा भएका १७ उपसचिवको सूचीअनुसार जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकरप्रसाद पौडेल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव टेकबहादुर अर्याललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई इलामका उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा लगिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट उपसचिव तारा ज्ञवालीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव रामकृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामान्य प्रशासन मन्त्रालयका उपसचिव बैकुण्ठप्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)बाट  चिरञ्जिवी नेपाललाई सामान्य प्रशासन मन्त्रालयमै जिम्मेवारी दिइएको छ । अतिरिक्त समूहमा राखिएकी मन्दिरा पोखरेल काफ्ले मुस्लिम आयोग पुगेकी छिन् भने उपसचिव सुशीला पौडेल दाहाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाइएको छ ।

अतिरिक्त समूहकै उपसचिव लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा र उपसचिव पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव मनोज रेग्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपसचिव धर्मेन्द्रकुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लगिएको छ । रक्षा मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेललाई उद्योग  मन्त्रालयमा र  युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दीपक ढकाललाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत काजमा रहेका  राजु खनाल सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा फिर्ता भएका छन् ।

यस्तै शाखा अधिकृततर्फ पनि १३ जनाको जिम्मेवारी हेरफेर भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिममा काजमा रहेका करण सिंह बडाल शहरी विकास मन्त्रालयमा आएका छन् । शहरी विकास मन्त्रालय अन्तरगतका इन्जिनियर नारायण ओलीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशमा काममा खटाइएको छ ।

शहरी विकास मन्त्रालय वा अन्तर्गतका इन्जिनियर कृष्ण थापा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेका छन् ।

गृह मन्त्रालयका शाखा अधिकृत हरिप्रसाद चपाइँले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी पाएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका शाखा अधिकृत शीतलबहादुर रावलको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सुरु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराका शाखा अधिकृत खेमराज मरासिनीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याइएको छ ।

स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत दीपक रिजाल सामान्य प्रशासन अन्तरगत काजमा विज्ञापन बोर्डमा खटाइएको छ । सामान्यको अतिरिक्त समूहका शाखा अधिकृत बाबुराम पाण्डेलाई पनि काजमा विज्ञापन बोर्डमा खटाइएको छ ।

सामान्यको अतिरिक्त समूहका शाखा अधिकृत मनिकमान महर्जनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा जिम्मेवारी पाएका छन् ।

सञ्चार मन्त्रालयका शाखा अधिकृत नमोनाथप्रसाद यादव भूमि व्यवस्था मन्त्रालयमा पुगेका छन् । गृह मन्त्रालयका शाखा अधिकृत विष्णुहरि तिमल्सिना सामान्यको अतिरिक्तमा रहेर काजमा निजामती कर्मचारी अस्पतालमा पुगेका छन् ।

खानेपानी मन्त्रालयका मेकानिकल इन्जिनियर राजेन्द्रकुमार ठकुरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् । स्वास्थ्य मन्त्रालयबाट मेकानिकल इन्जिनियर सन्तोष मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।

मन्त्रालयले २३ जना नासु, खरिदार र कम्प्युटर अपरेटरको पनि सरुवा गरेको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत उनीहरुले नयाँ जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?