+
+

आईएलओ गभर्निङ बडीमा नेपाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १५:१८

३० जेठ, काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को गभर्निङ बडीमा सर्वसम्मतिले निर्वाचित भएको छ ।

तीन वर्षे कार्यकालका लागि नेपाल उपसदस्यमा निर्वाचित भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

उपसदस्यका रुपमा नेपाल २०२४ देखि २०२७ सम्मको कार्यकाल चलाउने छ । जसमा सरकार, रोजगारदाता र ट्रेड युनियनको प्रतिनिधित्व हुन्छ ।

जेनेभामा जारी आईएलओको ११२औं अन्तराष्ट्रिय सम्मेलनमा गत शुक्रबार मतदान भएको थियो । मतदानमा एसिया–प्यासिफिक क्षेत्रबाट नेपाल निर्वाचित भएको हो । मतदानमा १८७ मुलुकले सहभागिता जनाएको थियो । जसमध्ये नेपालले १८५ मत प्राप्त गरेको थियो ।

आगामी १५ जुनमा ‘गभर्निङ बडी’ को बैठकको ३५१ औ सत्रबाट नेपालले जिम्मेवारी पाउनेछ । उपसदस्यको हैसियतमा नेपालले श्रमस्तरलाई अगाडि बढाउन, मर्यादित कामको प्रवर्द्धन गर्न र आईएलओमा लोकतान्त्रिक र समावेशी निर्णय प्रक्रियामा त्रिपक्षीय सहयोग अभिवृद्धि गर्न योगदान गर्नै अवसर पाउनेछ ।

नेपालले श्रम बजारमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न विशेष गरी आप्रवासी श्रमिकका लागि नौतिक भर्ना, मर्यादित कामका सिद्धान्त, कार्यस्थलको सुरक्षा र स्वास्थ्य, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा लगायतका चुनौतीलाई सम्बोधन गर्न त्रिपक्षीय निकायसँग आवाज थप्न र सहकार्य गर्न सक्षम हुने मन्त्रालयले जनाएको छ ।

‘गभर्निङ बडी’ अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यकारी शाखा हो, जसले संगठनको नीति र योजना निर्धारण गर्न, अन्तर्राष्ट्रिय श्रम सम्मेलनका लागि एजेन्डा तय गर्न, प्रस्तावित कार्यक्रमहरू र सम्मेलनमा बजेट पेस गर्नमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा त्रिपक्षीय संरचनामा ५६ सरकार, ३३ रोजगारदाता सदस्य र ३३ कार्यकर्ता सदस्य छन् । नेपालले २१ फेुब्रअरी २०२४ मा एसिया प्यासिफिक ग्रुपमा आईएलओ ‘गभर्निङ बडी’ को उपसदस्यका लागि उम्मेदवारी घोषण गरेको थियो ।

२०२४ को २० मार्च र १६ अप्रिलमा भएको मध्य तथा दक्षिण एसिया उपक्षेत्रका राजदूत स्तरीय बैठकपछि नेपाल मध्य र दक्षिण एसिया उपक्षेत्रबाट इरानसँगै, अष्ट्रेलिया, इराक, लाओमा सम्मिलित हुने सहमतिको उम्मेदवारहरूको रुपमा उभिएको थियो ।

एसिया प्यासिफिक क्षेत्रबाट ‘गभर्निङ बडी’ को सहायक सदस्यको रुपमा मलेसिया, फिलिपिन्स र कतार रहेका छन् । सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?