+
+

त्रिशूली नदीमाथि स्काइ साइक्लिङमा कालीप्रसाद बाँस्कोटा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १६:०७

काठमाडौं । हपहपी गर्मीले धर्ती नै रापिएको छ । वायुमण्डलमा तातो हावा चल्न थालेको छ । तल बेतोडले बगिरहेको त्रिशूली नदी । अनि त्यसमाथि वारपार गर्न सकिने स्काइ साइक्लिङ । साहसिक खेलमा रमाउनेका लागि अरु के नै चाहियो ?

यस्तो खेल जति चुनौतीपूर्ण हुन्छ, उत्ति नै रोमाञ्चक पनि । त्यसैले त कुनै तेलको विज्ञापनमा भनिए झैं यसका लागि ‘मुटु चाहिन्छ मुटु ।’ सम्भवत: गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई यस्तै चुनौतीसँग खेल्न मन भयो । त्यसैले त हालै उनी त्रिशूली नदीमाथि स्काइ साइक्लिङ गर्न तम्सिए ।

साइक्लिङ गर्नुअघि उनी भन्दै थिए, ‘अहो, सुरुमा त हिम्मतै आएन । त्यतिमा नदीमाथि कसरी साइकल चलाउने होला भनेर डर लाग्यो । हिम्मत गरेर साइक्लिङ गरियो, थ्रिलर अनुभव भयो ।’ डरको अगाडि जीत छ भने झैं यो डरलाई जित्ने खेल भएको उनको अनुभव छ ।

हुन पनि उर्लिएर बगेको नदी । त्यसमाथि फलाको डोरीमाथि साइक्लिङ गर्नुपर्ने । ‘डरमा पनि मज्जा छ,’ उनी सुनाउँछन्, ‘जीवनमा सम्झनयोग्य अनुभव सँगाल्ने अवसर थियो यो ।’

त्रिशूली रिभरसाइड रिसोर्टले सञ्चालनमा ल्याएको साहसिक पर्यटकीय गतिविधि अन्तर्गतको स्काइ साइक्लिङमा उनी रमाएका हुन् ।

राजधानी काठमाडौंबाट ७० किलोमिटर दूरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा अवस्थित रिसोर्टको स्काइरोप साइक्लिङमा दुईवटा ट्रयाक छन् । एउटा ट्रयाकमा एक जनाले साइक्लिङ गर्न मिल्छ भने अर्कोमा जोडी नै एकसाथ खेल्न मिल्ने सुविधा छ । पछिल्लो समय रिसोर्टको उक्त स्काइ साइक्लिङ आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रिसोर्टमा स्काइ साइक्लिङका साथै र्‍याफटिङ र जिपलाइन लगायत सुविधा उपलब्ध छन् ।

दुईतर्फी ३५० मिटर लम्बाइको स्काइ साइक्लिङमा रमाउन प्रतिव्यक्ति ७०० रुपैयाँ लाग्छ भने फोटो र भिडियोका लागि थप शुल्क लाग्ने रिसोर्टका सञ्चालक उद्धव कँडेल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?