+
+

सहसचिवको घरमा चोरी, समातिए २० पटकसम्म मुद्दा चलेका चोर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १६:११

३० जेठ, काठमाडौं । एक सहसचिवको घरमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

नगद तथा गरगहना गरेर २८ लाख रुपैयाँ चोरी भएको दाबी गर्दै ती सहसचिवले जाहेरी दिएपछि प्रहरीले चोरीमा संलग्नहरुको खोजी गरेको थियो ।

त्यस क्रममा २० पटकसम्म पक्राउ परेका पटके चोरको समूहले सहसचिवको घरमा चोरी गरेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीले ती सहसहसचिवको नाम भने खुलाएको छैन ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ घर भई काठमाडौं–२४ किलागल बस्ने ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवार, नुवाकोटको सामरी घर भई काठमाडौं शेषमती बस्ने ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ घर भई थली बस्ने ४१ वर्षीय बीरबहादुर श्रेष्ठ, सोही ठाउँ घर भई काठमाडौं असन बस्ने सुनिल श्रेष्ठ छन् । यो समूहमा रहेका अर्का एक जना भने फरार रहेका प्रहरीको भनाइ छ ।

उनीहरुबाट प्रहरीले करिब ७ तोला सुनका गरगहना, मोवाइल, अमेरिकी र कम्बोडियाको मुद्रा आदि बरामद गरेको छ । यो सबैको बजार मूल्य करिब २८ लाख हुने प्रहरीको दाबी छ ।

यो समूहले पछिल्लो पटक ललितपुर महानगरपालिका–१८ ऐतिहासिक ढुंगेधारामार्गस्थित सहसचिवको घरमा २ जेठ मा चोरी गरेको थियो । दिउँसो १२ बजे घरमा कोही नभएको मौकामा उनीहरुले सुनचाँदीका गरगहना र नगद चोरी गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो ।

पक्राउ परेकामध्ये बीरबहादुर यसअघि २० पटसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । उनी १२ वटा चोरी, ३ वटा डाँका चोरी, एउटा लागु औषध र ४ वटा अभद्र व्यवहारको कसुरको मुद्दा चलेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)बाट देखिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

२०६४ सालमा पहिलो पटक चोरी मुद्दामा मुद्दा चलेका उनी रिहा भएपछि पुनः चोरीमा संलग्न हुँदै आएका थिए । पछिल्लो पटक उनी २४ भदौ २०८० मा कारागारबाट छुटेका थिए ।

पक्राउ परेका कुमार राना मगर पनि ६ पटक चोरी मुद्दा खेपेका व्यक्ति हुन् । सुजनकुमार सुनुवारविरुद्ध ७ वटा चोरी र एउटा लागु औषधको मुद्दा चलेको प्रहरीको रेकर्डमा उल्लेख छ ।

सुनिल श्रेष्ठविरुद्ध ८ वटा चोरी र २ वटा डाँका चोरी, एउटा लागु औषध र अभद्र व्यवहारको ३ वटा गरी १४ वटा मुद्दा चलेको सीआरएसमा देखिएको छ । पक्राउ परेका सीताराम भने चोरीको सुन किन्ने व्यक्ति हुन् ।

पैदल गएर चोरी, ट्याक्सी चढेर फिर्ता

प्रहरीका अनुसार सहसचिवको घरमा चोरी गर्न जाँदा उनीहरु पैदल गएका थिए । सुनिल र कुमार ताला फोडेर घरभित्र प्रवेश गर्छन् भने वीरबहादुर र सुजन बाहिर बसेर रेकी गर्छन् । चोरी गरिसकेपछि झोलामा सुनका गरगहना हालेर उनीहरु घरबाट बाहिरिन्छन् ।

त्यसपछि ट्याक्सी चढेर फर्केको सीसीटीभी फुटेजमा देखिएको छ । ट्याक्सीमा केही वरसम्म आएपछि उनीहरु दुई वटा मोटरसाइकलमा चढेर भाग्छन् । तर मोटरसाइकलको नम्बर खुल्दैन ।

सीसीटीभी फुटेजका आधारमा प्रहरीले पहिला ट्याक्सी चालकसँग सोधपुछ गरेको थियो । तर चोरीबारे ट्याक्सी चालकलाई कुनै जानकारी नभएको पाइएपछि उनलाई प्रहरीले छाडेको थियो ।

अन्य ठाउँका सीसीक्यामेरामार्फत प्रहरीले एउटा मोटरसाइकल बागमती प्रदेश ०२१ प ०४५० नम्बरको पहिचान गरेपछि चोरीमा संलग्नहरु पत्ता लागेका थिए ।

चोरी गरेपछि उनीहरुले केही दिन काठमाडौं छाडेका थिए । काठमाडौंका आएका बेला सुरुमा प्रहरीले सुजनलाई स्वयम्भूबाट पछ्याउँदै बाजाजुबाट पक्राउ गरेको थियो ।

सुजन पक्राउ परेपछि बालाजुस्थित कुमारको कोठा अगाडिबाट कुमार र वीरेन्द्र पक्राउ परेका थिए ।

उक्त सुन हाल फरार रहेका व्यक्तिमार्फत क्षेत्रपाटीस्थित सुनका गरगहना बनाउने कारखानाका सञ्चालक सीतारामलाई बेचेको खुलेपछि उनी पनि पक्राउ परेका हुन् । उनकै पसलबाट गालेको अवस्थामा ६ तोला ७० लाल सुन बरामद भएको थियो ।

चोरीमा संलग्न व्यक्ति जब अभद्र मुद्दामा ५ हजार धरौटी नतिरी जेल गए

यो चोरी प्रकरणमा संलग्न रहेकामध्ये एक जना सुनिल श्रेष्ठ नख्खु कारागारमा रहेको खुलेको छ । अभद्र व्यवहारको आरोपमा पक्राउ परेका उनी चोरीमा समेत संलग्न भएको हुनसक्ने भन्दै प्रहरीले केरकार गरेको थियो । तर चोरीको कसुर उनले अस्वीकार गर्दै आएका थिए ।

तर चोरीको आरोपमा जब चार जना पक्राउ परे अनि सुजनको समेत संलग्नता खुलेको थियो । पक्राउ परेकाहरुले हाल कारागारमा रहेका सुजन समेत संलग्न रहेको बताएका थिए ।

सीसीक्यामेरामा देखिएको हुलियाका आधारमा थप भेरिफाई गर्दा उनी संलग्न देखिएपछि उनीमाथि अहिले चोरीको घटनामा पनि अनुसन्धान अघि बढाइएको प्रवक्ता सुवेदीले बताए ।

उनी २५ जेठमा मात्रै अभद्र व्यवहारको कसुरमा ५ हजार धरौटी नतिरी थुनामा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?