+
+

प्रतिनिधिसभामा दुई सांसदको स्त्रीद्वेषी टिप्पणी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १८:५०

३० जेठ, काठमाडौं । संसदीय मर्यादाको परवाह नगरी बुधबार प्रतिनिधिसभामा दुई सांसदले स्त्रीद्वेषी टिप्पणी गरे ।

तीमध्ये एक थिए, काठमाडौं–१० बाट निर्वाचित राजेन्द्र केसी ।

बुधबार सभामुख देवराज घिमिरेले खर्च कटौती प्रस्तावका प्रस्तावक राजेन्द्र केसीलाई बोल्नका लागि समय छुट्याए । कांग्रेस सांसद केसीले रक्षामन्त्रालय अन्तर्गत विनियोजन भएको रकममा कटौती होस् भनी प्रस्ताव राख्ने क्रममा शहरी विकास मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटबारे पनि बोले ।

शहरी विकास मन्त्रालयले आफ्नो क्षेत्रमा बजेट नपारेको गुनासो गरिसकेपछि उनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको विषयमा प्रवेश गरे ।

केसीले भने, ‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरीमात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ ।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चौधरी सुनसरीबाट निर्वाचित भएकी हुन् । उनले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको कांग्रेस सांसद केसीको आरोप छ ।

केसीले आफ्नो क्षेत्रमा बजेट नपरेको गुनासो राख्ने क्रममा संसारभरि महिलाले नेतृत्व गरेका सरकार, कर्पोरेट क्षेत्र सक्षम रहेको दाबी गरे । कुनै देश वा व्यक्तिको नाम भने लिएनन् ।

त्यसपछि उनले भने, ‘महिला मन्त्रीज्यूलाई गाली गरेर केही पाइदैन । संसारभरि महिला नेतृत्व सक्षम छ । हामीकहाँ महिलालाई नेतृत्व दिँदा आफ्नो क्षेत्रलाई मात्रै हेर्ने चलन भयो । तपाईं कलंकका रुपमा किन उपस्थित हुनुहुन्छ ? सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ ।’

मोरङ ५ बाट निर्वाचित योगेन्द्र मण्डलले संसदमा बुधबार बोल्ने क्रममा क्रिकेटर सन्दीप लामिछानेको नाम नलिई उनी टिममा नहुँदाको मूल्य विश्वकपमा नेपालले चुकाउनु परेको दाबी गरे ।

त्यस क्रममा मण्डलले स्त्रीद्वेषी टिप्पणी गर्दै भने, ‘महिलालाई हामी इज्जत दिनुपर्छ । हामीले पुरुषहरुले उनीहरुको विकासका लागि सहयोग गर्नुपर्छ । राज्यलाई यो नीतिका लागि धन्यवाद दिन्छु ।’

त्यसपछि मण्डल त्रेतायुगका रामलक्ष्मण र सुपर्णखाको पौराणिक कथामा प्रवेश गरे । सुपर्णखाको कारणले सम्पूर्ण रामायण भएको तर्क गरे । उनलाई दिइएको समय सकिइसकेको थियो । सभामुखको आसनमा रहेर सदन चलाइरहेकी उपसभामुख इन्दिरा रानाले उनलाई भनाइ छोटयाउन आग्रह गरिन् ।

मण्डलले क्रिकेटकै विषयमा आफूले बोलेको विषयले सडकमा आन्दोलन हुन सक्छ भन्दै त्यस्तो अवस्था आउँछ भने आओस् भनी चुनौती दिए । उनले सन्दीपको नाम नलिई विश्वकप क्रिकेटमा नेपालले एक अंकमात्रै जोडेको, यदि उनी भएको भए अंक बढ्ने तर्क गरे । त्यसपछि प्रवेश गरे स्त्रीद्वेषी टिप्पणीमा ।

मण्डलले भने, ‘महिलाको हक हुनुपर्छ, उनले करणीको मुद्दा हाल्न पाउँछिन् । तर श्रीमान्ले मन लागेको बेला आफ्नो (यौन) इच्छा पूरा गर्न के गर्ने, कहाँ जाने ?’

मण्डलले यति भन्दा सांसदहरुबीच हाँसो फैलियो । उनले प्रतिवाद गर्दै भने, ‘नहाँसौं, यो हामीसँग जोडिएको कुरा हो ।’
उपसभामुख रानाले समय सकियो भनेर फेरि सूचना दिएपछि उनले अन्तिम वाक्य राखे, ‘त्यसैले यसबारे के गरौं ? समय सकिएको कारणले मन्त्रीज्यूहरुले विचार गर्नुहोला ।’

सांसदले बोल्ने क्रममा मर्यादा उल्लंघन गरेको भए तीन विधिबाट उपचार खोज्न सकिन्छ । एक, अर्का सांसदले तत्काल नियमापत्ति गर्न सक्छन् । दुई, सभामुखले बुझेर निश्चित शब्द वा अभिव्यक्ति हटाउन लगाउन सक्छन् । तीन, संसद सचिवालय अन्तर्गतको संसदीय अध्ययन शाखाले सांसदको टिप्पणी विश्लेषण गरेर हटाउन सक्छ ।

तर यो दुबै घटनामा संसदमा अहिलेसम्म यी कुनै पनि विधि अपनाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?