+
+

पदपूर्तिको विज्ञापन नभएसम्म अनशन जारी राख्छौं : सीटीईभीटी कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १९:०८

३० जेठ, काठमाडौं । पदपूर्तिको माग गर्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारीहरूले विज्ञापन नभएसम्म रिले अनशन जारी राख्ने बताएका छन् ।

२० जेठदेखि उनीहरूले पदपूर्तिको माग राख्दै कार्यालयमा रिले अनशन सुरु गरेका थिए ।

परिषद्ले पटक–पटक सम्झौता गरे पनि लागू नगरेपछि अनशनसहितको आन्दोलनमा होमिएको नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजबहादुर खत्रीले बताए ।

उनीहरूले पाँच वर्षदेखि पदपूर्ति नभएको र २०७६ सालमा परिषद्ले गरेको ओ एन्ड एम सर्भे प्रतिवेदनअनुसार तत्काल पदपूर्ति हुनुपर्ने माग राखेर २६ पुस २०८० देखि आन्दोलन गरिरहेका छन् ।

खत्री भन्छन् ‘अब हामी सम्झौताले मात्रै मान्दैनौं । पटक–पटक सम्झौता भएर पनि लागू नभएकाले अब विज्ञापन नभएसम्म यो रिले अनशन जारी रहन्छ ।’

परिषद्का सदस्य सचिव महेश भट्टराईले केही दिनभित्रै सहमति हुने बताए । । रिक्त रहेको दरबन्दी पूर्ति गर्नको लागि परिषद्ले २० असोजमा निर्णय गरेर शिक्षा मन्त्रालय पठाएको र मन्त्रालयको निर्णय पर्खिरहेकाले ढिला भएको भट्टराईले बताए ।

उनले भने, ‘शिक्षाले अर्थको राय लिँदा ढिला भएको बुझिएको छ । तर अहिले शिक्षा मन्त्रालयले पत्र तयार गरिसकेको जानकारी आएकाले आजभोलिमै सहमति हुन्छ ।’

मन्त्रालयले सुझाव सहितको सहमति पठाएपछि विज्ञापन गर्ने भट्टराईले बताए ।

परिषद्‌मा स्थायी दरबन्दी संख्या ९३२ छ । त्यसमध्ये ५४० पदमा कर्मचारी कार्यरत छन् ।

३९२ रिक्त दरबन्दीमध्ये ९७ पद श्रेणीविहीन कर्मचारीको पद भएकाले बाँकी २९५ पदको लागि विज्ञापन भएपछि मात्रै रिले अनशन तोड्ने आन्दोलनरत कर्मचारीहरूको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?