+
+

तत्कालीन सेन्चुरी बैंकका अध्यक्षसहित ९ जना हाजिर जमानी छुटे

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १९:५१

३० जेठ, काठमाडौं । तत्कालिन सेन्चुरी बैंकले कमसल धितोमा ऋण दिएको प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अध्यक्ष राजेश श्रेष्ठ र सञ्चालक समितिका सदस्यहरु गरी ९ जना हाजिर जमानीमा छुटेका छन् ।

सोमबार पक्राउ परेका उनीहरुलाई मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनीहरुलाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

मंगलबार दुई दिनको म्याद सकिएपछि बुधबार उनीहरुलाई हाजिरी जमानीमा छाडिएको सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।

पक्राउ परेका सबै जनाको बयान समेत भइसकेको, स्वास्थ्य अवस्था समेत राम्रो नभएको, अधिकाशं वयोवृद्ध देखिएकाले हाजिरी जमानीमा छाडिएको उनको भनाइ छ ।

सेञ्चुरी बैंकले कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको सीआईबीले बताएको छ । उक्त ऋण धितोभन्दा ९७ करोड ४१ लाख ७० हजार ७ सय ७२ रुपैयाँले बढी पाइएको सीआईबीको दाबी थियो ।

यही विषयमा अनुसन्धानका लागि सीआईबीले सोमबार अध्यक्ष श्रेष्ठसँगै सञ्चालकहरु सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल र अभिषेक बज्राचार्यलाई पक्राउ गरेको थियो ।

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ परेका थिए । उनीहरु १ चैतमा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?