
३० जेठ, दाम्बुल्ला (श्रीलंका) । हिन्दु धर्मावलम्बीका प्रिय भगवान राम र उनको जीवनका घटनासँग जोडिएको भूमि हो लंका । जसलाई आधुनिक कालमा श्रीलंका नामले चिनिन्छ ।
श्रीलंकाको केन्द्र भागमा पर्ने ‘सेन्ट्रल प्रान्त’ स्थित दाम्बुल्ला नामक सहर नजिकै मताले जिल्लामा अवस्थित विशाल संरचना सहित किल्लालाई नै हिन्दु धर्मावलम्बी रावण दरबार मान्छन् ।
जसको सम्बन्ध भगवान राम र माता जानकी (सीता) सँग जोडिन्छ । त्यसो त श्रीलंका बौद्ध धर्मावलम्बी बाहुल्य देश हो । सोहीकारण यहाँ स्थानीयहरू यो विशाल संरचनालाई राजा कश्यप (इस्वी सम्वत् ४७७–४९५) को दरबारका रूपमा समेत ब्याख्या गर्छन् । जसलाई बौद्ध धर्मावलम्बीले बौद्धविहारका रूपमा आस्थापूर्वक सिगिरिया किल्ला भ्रमण गर्छन् ।
व्याख्या जुनसुकै होस्, श्रीलंकाले यसै संरचनाका माध्यमबाट आज पनि लाखौं पर्यटकलाई यो ठाउँमा आकर्षित गरिरहेको छ ।
गएको साता शुक्रबार दाम्बुल्लास्थित जेटविङ लेक होटलबाट बिहान ४ बजे हाम्रो टोली पिदुरङ्गाला चट्टान आरोहणका लागि प्रस्थान गर्यो । पिदुरङ्गाला रक यस्तो ठाउँमा अवस्थित छ, जसको सामुन्ने ठिङ्ग उभिएको देख्न सकिन्छ, सिगिरिया किल्ला ।
सानैदेखि रामायणमा पढेको एक डरलाग्दो पात्र रावण । उनले शासन गरेको क्षेत्र र सुनको दरबार रहेको भनिएको भेगमा टेक्नुमात्र पनि मेरा लागि ठूलो अवसर थियो ।
कथा, पात्र तथा इतिहाससँग त्यसको वास्तविकता जे भए पनि आफ्नो आस्था र यस सम्बन्धी ग्रन्थहरूले बयान गरेको दरबार सामुन्ने पुग्दा नतमस्तक नहुने कुरै भएन ।
त्यसपछि मनमनै सम्झिएँ नेपालकी छोरी माता जानकीलाई । त्यो त्यही क्षेत्र थियो, जहाँ माता जानकीलाई रावणले हरेर आफ्नो दरबारमा पुर्याएका थिए । त्यो त्यही क्षेत्र थियो, जसलाई हनुमानले जलाएका थिए ।
सिगिरिया किल्ला सिंहको आकारमा छ । जसलाई ‘लायन रक सिंहाला’ पनि भनिन्छ । यसको अर्को नाम सिंहगिरि पनि हो । ५ सय ९० फिट अग्लो यो किल्ला एउटै ढुंगाको विशाल संरचना हो । जसको आरोहण गर्नमात्र दुई घण्टाभन्दा बढी समय लाग्छ । हामी सिगिरिया किल्लाको स्वरूप नियाल्न पिदुरङ्गाला रक चढ्यौं । जहाँबाट सिगिरियाको असली उचाइ, संरचना र आसपास संरचना नजिकबाट नियाल्न सकिन्छ ।
सिगिरियालाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखेको छ । यसको परिसरदेखि माथिल्लो भेगसम्म अहिले पनि पुरातात्विक दरबारको भग्नावशेष देख्न सकिन्छ । जसलाई श्रीलंकाले जतनपूर्वक संरक्षण गरेर राखेको छ । सोही संरचनालाई यो मुलुकले पर्यटक आगमनको एक माध्यम बनाइरहेको पाइयो ।
पिदुरङ्गला रकबाट सिगिरिया अवलोकन गर्दा मनमा अनेक तर्कना आइरहे । रावणले पुष्पक विमान चढ्थे भन्ने किंवदन्ती थियो । यो किल्ला आसपास अन्य कुनै संरचना नहुनु, घना जंगलबीच हुनुले यहाँ दरबार बनाएर बस्न कुनै चानचुने शक्तिले सम्भव थिएन भन्ने निश्चिन्त हुन सकिन्छ ।
आधुनिक राजाकै दरबार भए पनि पैदल यात्रामा झन्डै दुई घण्टा लाग्ने विशाल ढुंगाको माथिल्लो तहसम्म लाखौं इँटा कसरी लगियो होला, संरचना कसरी बने होलान् भन्ने प्रश्नले मनमा घर गर्छ ।
पौराणिक सम्पदा संरक्षण गर्दै पर्यटकीय आकर्षणलाई अरू सयौँ वर्ष निरन्तरता दिन सिगिरिया क्षेत्रलाई घना जंगलसहित संरक्षण गरिएको छ । पिदुरङ्गला रक आरोहण गर्न पर्यटकलाई १ हजार श्रीलंकाली मुद्रा शुल्क लिइन्छ । सिगिरिया आरोहण गर्न प्रतिव्यक्ति २ हजार शुल्क लिने गरिन्छ । यस्तो शूल्क सोही भेगको संरक्षण र पर्यटक सुविधा अभिवृद्धिमा खर्च गर्ने गरिएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार १४औं शताब्दीसम्म यो किल्ला प्रयोगमा थियो । अहिले देखिएका संरचना सोही समयपछिका हुन् भन्ने मान्यता पनि छ । तर, आज पिदुरङ्गाला रक र सिगिरिया विश्वभरिका पर्यटकको आकर्षणको केन्द्र बनेका छन् ।
शुक्रबार हामी रकमाथि पुग्दा सयौँ विदेशी पर्यटक सूर्योदय अवलोकनका लागि दुवै संरचनामाथि पुगिसकेका थिए । तर, अघिल्लो साता लगातार वर्षा र बादलका कारण यस दिन सूर्योदय अवलोकन हुन सकेन । वरिपरि रहेको विशाल जंगल जंगली हात्तीका लागि समेत प्रख्यात छ ।
सोहीकारण दाम्बुल्लासहित सहरी क्षेत्रबाट जंगलको बाटो हुँदै यी किल्लासम्म पुग्ने बाटोमा इलेक्ट्रिक फेन्स लगाइएको छ । यसो गर्नुको कारण जंगली हात्ती आक्रमणबाट पर्यटकलाई बचाउनु हो ।
सिगिरियाको अर्को विशेषता यहाँ अवस्थित पोखरी र बगैंचा पनि हुन् । जसले यस महलको भव्यता प्रतिनिधित्व गर्छ । यी संरचना राजा कश्यपकै पालामा बनेका भए पनि उनी कति शौखिन र आलिशान भवनमा बस्थे भन्ने अनुमान लगाउन सकिन्छ ।
नेपालबाट कसरी पुगिन्छ सिगिलिया ?
करिब एक साता लामो श्रीलंका भ्रमणको पहिलो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एयरलाइन्सको सिधा उडानबाट हामी कोलम्बोस्थित बन्दरानाइके अन्तर्राष्ट्रिय विमानस्थल ओर्लियौं ।
श्रीलंकन एयरलाइन्सले नेपालको काठमाडौं र श्रीलंकाको राजधानी कोलम्बोलाई सिधा उडानमार्फत जोडिरहेको छ । यो रुटको उडान अवधि साढे ३ घण्टा छ । कोलम्बोबाट १ सय ७५ किलोमिटर सडक यात्रामार्फत दाम्बुल्ला सहर पुग्न सकिन्छ ।
दाम्बुल्लामा पर्यटक सुविधाका लागि पर्याप्त सवारीसाधन सिगिरिया किल्ला र पिदुरङ्गला चट्टानका लागि उपलब्ध हुने गर्छन् । पर्यटकीय मुलुक भएका कारण यहाँ होटल र ट्राभल एजेन्सीले समेत अहिले पर्याप्त प्याकेज उपलब्ध गराइरहेका छन् । जसका माध्यमबाट विनाझन्झट रावण दरबार पुग्न सकिन्छ । स्थानीयका अनुसार यो भेगमा अहिले ठूलो संख्यामा भारतीय पर्यटक पुग्छन् । दोस्रो स्थानमा युरोपेली पर्यटक आकर्षण धेरै देखिन्छ ।
प्रतिक्रिया 4