+
+

निष्क्रिय कर्जासँगै बढ्दो नोक्सानी व्यवस्था र लागतले निरन्तर घट्दै बैंकहरूको नाफा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते २०:३०

३० जेठ, काठमाडौं । अधिक तरलताले बढेको स्रोत लागत र निष्क्रिय कर्जाका कारण बढेको नोक्सानी व्यवस्थाले बैंकहरूको नाफा प्रभावित बन्दै गएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाले कुल ५३ अर्ब ३१ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत आव सोही अवधिमा ६२ अर्ब ६० करोड ७० लाख नाफा आर्जन गरेकोमा चालु आव सोही अवधिमा नाफा १४.८६ प्रतिशत घटेको छ ।

बढ्दो सञ्चालन खर्च, अधिक तरलताले ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी बढ्न नसक्ने र कर्जा नोक्सानी व्यवस्था बढ्दा वाणिज्य बैंकहरूको नाफा नै प्रभावित बनेको छ । जसले समग्र बैंक तथा वित्तीय संस्थाको कुल नाफा नै घटेको हो ।

आव २०७८/७९ मा नै बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब ८४ करोड नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । उक्त नाफा गत आव ७७ अर्ब ७७ करोडमा झरेको थियो । चालु आव १० महिनामा गत वर्ष सोही अवधिभन्दा नाफा करिब १५ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

ब्याजदर घटेको छ भने बैंकहरूको कर्जा विस्तार हुन सकेको छैन । जसले गर्दा बैंकहरूसँग अधिक तरलताको अवस्था छ । अर्कातर्फ, गत आव अधिकांश बैंक मर्जरमा गएका कारण त्यसको लाभले कर्जा र निक्षेपबीचको भारित औसत ब्याजदर अन्तर थप एक प्रतिशत गर्न पाइने थियो भने २०७९ पुससम्म ४.४ प्रतिशत रहेको स्प्रेड दर २०७९ चैतमा ४.२ प्रतिशत हुँदै २०८० असारमा आउँदा राष्ट्र बैंकले ४ प्रतिशत कायम गर्‍यो ।

चालु आव मर्जरको लाभले थप स्प्रेड कायम गर्न पाइने सुविधा सकिएको र स्प्रेड दर नै घटेका कारण बैंकहरूको खुद ब्याज आम्दानी नै घटेको छ । गत आव १० महिनामा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ३६ अर्ब ४७ करोड ब्याज संकलन गरी स्रोतको लागत बापत ३ खर्ब ५९ अर्ब २२ करोड खर्च गरेका थिए ।

चालु आव सोही अवधिमा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ६५ अर्ब ७६ करोड ब्याज आम्दानी गर्दा स्रोत परिचालन गर्न ३ खर्ब ८४ अर्ब ९२ करोड खर्च गरेका छन् । ब्याजदर घट्दा पनि बैंकहरूसँग निक्षेप बढ्दा ब्याज खर्च बढेको छ । तर, व्यवसाय विस्तार अपेक्षाकृत हुन नसक्दा र स्प्रेडका कारण ब्याज आम्दानी भने सोही अनुपातमा बढ्न सकेको छैन ।

यस्तै कर्जा नोक्सानी व्यवस्था गत आव १० महिनामा ५३ अर्ब ६२ करोड मात्रै रहेकोमा चालु आव सोही अवधिमा बढेर ७८ अर्ब ५१ करोड पुगेको छ ।

कर्मचारी खर्च ४५ अर्ब २३ करोडबाट बढेर ५१ अर्ब ६६ करोड र कार्यालय सञ्चालन खर्च ३१ अर्ब १६ करोडबाट बढेर ३४ अर्ब १० करोड पुगेको छ । खर्च बढ्ने तर आम्दानी प्रभावित हुँदा बैंकहरूको नाफा संकुचित भएको हो ।

वाणिज्य बैंकहरूको नाफा १५ प्रतिशत घट्यो

चालु आव १० महिनामा वाणिज्य बैंकहरूले ४८ अर्ब ६१ करोड नाफा आर्जन गरेको छन् । गत आव सोही अवधिमा ५७ अर्ब १६ करोड नाफा कमाएकोमा उनीहरूको नाफा नै १४.९६ प्रतिशतले घटेको छ ।

चालु आव १० महिनामा वाणिज्य बैंकहरूले ४ खर्ब ९४ अर्ब ४६ करोड ब्याज आम्दानी गरेर ३ खर्ब ३४ अर्ब ब्याज खर्च गरेका छन् । गत आव सोही अवधिमा ४ खर्ब ६२ अर्र्ब ४१ करोड ब्याज आम्दानी गर्दा ३ खर्ब ५ अर्ब ६६ करोड ब्याज खर्च गरेका थिए ।

ब्याज आम्दानी र खर्चबीच अन्तर खासै बढ्न सकेको छैन । चालु आव १० महिनामा ब्याज आम्दानी र खर्चबीच अन्तर १ खर्ब ६० अर्ब छ । गत वर्ष सोही अवधिमा यस्तो अन्तर करिब १ खर्ब ५७ अर्ब थियो ।

गत वर्षको तुलनामा ब्याज आम्दानीमा खर्च कटाएर हुने खुद आम्दानी करिब ३ अर्बले मात्रै बढेको देखिन्छ । तर, खर्च र नोक्सानी व्यवस्था भने बढ्दै गएको छ । वाणिज्य बैंकहरूको कर्जा नोक्सानी व्यवस्था ४४ अर्ब ८९ करोडबाट बढेर ६५ अर्ब ५३ करोड पुगेको छ ।

त्यस्तै कर्मचारी खर्च ३९ अर्ब ५० करोडबाट बढेर ४५ अर्ब ५४ करोड पुगेको छ । कार्यालय सञ्चालन खर्च २६ अर्ब ६५ करोडबाट बढेर २९ अर्ब ४० करोड बढेको छ । खर्च र नोक्सानी व्यवस्था बढ्दा बैंकहरूको नाफा घटेको हो ।

सञ्चालनमा रहेका २० मध्ये १५ बैंकको नाफा घटेको छ । गत आव पुसमा सेन्चुरी बैंकलाई गाभेको प्रभु बैंकको नाफा गत वर्षको तुलनामा बढेको देखिए पनि मर्जर अगाडि सेन्चुरीले कमाएको नाफा छुट्टै लेखांकन हुँदा गत वर्षको तुलनामा बैंकको नाफा घटेको छ ।

यस्तै गत आव असारमा लक्ष्मी र सनराइज बैंक मर्जर भएका थिए । मर्जर अगाडि सनराइजले कमाएको १ अर्ब ३७ करोड नाफा छुट्टै लेखांकन भएकाले लक्ष्मी सनराइज बैंकको नाफा पनि बढेको देखिएको हो ।

वास्तविक नाफा बढाउन बंैकमा भने प्राइम कमर्सियल, एभरेस्ट, कृषि विकास, सिद्र्धाथ र सिटिजन्स छन् । प्राइमको नाफा १५.२२ प्रतिशतले बढेर ३ अर्ब २३ करोड पुगेको छ । एभरेस्टको ८.०४ प्रतिशतले बढेर २ अर्ब ९८ करोड, कृषि विकासको १२० प्रतिशतले बढेर २ अर्ब ७० करोड, सिद्धार्थको १०.७ प्रतिशतले बढेर १ अर्ब ९८ करोड र सिटिजन्सको नाफा ५.१० प्रतिशतले बढेर १ अर्ब ५० करोड पुगेको छ । वैशाखसम्म नबिल बैंकको नाफा १०.७५ प्रतिशत घट्दा पनि सबैभन्दा धेरै ५ अर्ब ४६ करोड छ ।

चालु आव १० महिनामा बैंहरूको वार्षिक औसत प्रतिसेयर आम्दानी १६ रुपैयाँ २६ पैसा छ । जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३ रुपैयाँ ९३ पैसा र सबैभन्दा कम नेपाल बैंकको ४ रुपैयाा ८२ पैसा छ ।

नेपाल बैंकले सबैभन्दा कम ५९ करोड मात्रै नाफा कमाएको छ । जुन गत आव सोही अवधिभन्दा ७६ प्रतिशत कम हो । यस्तै एनआईसी एसियाको नाफा ५०.७५ प्रतिशतले घटेर २ अर्ब १६ करोडमा अडेको छ । राष्ट्रिय वाणिज्य बैंकको नाफा करिब ३७ प्रतिशतले घटेर २ अर्ब ५६ करोडमा अडेको छ ।

विकास बैंक र वित्त कम्पनीको पनि नाफा घट्यो

चालु आव १० महिनामा विकास बैंकहरूले ४ अर्ब १७ करोड नाफा कमाएका छन् । गत आव सोही अवधिमा ४ अर्ब २९ करोड नाफा कमाएकोमा चालु आव विकास बैंकहरूको नाफा भने करिब २.८० प्रतिशतले मात्तै घटेको देखिन्छ ।

विकास बैंकहरूको पनि आम्दानी अपेक्षाकृत बढ्न नसकेको र कर्जा नोक्सानी व्यवस्था बढेको कर्मचारी खर्चमा वृद्धि हुँदा नाफा प्रभावित भएको देखिन्छ । कर्जा नोक्सानी व्यवस्था ७ अर्ब ३१ करोडबाट बढेर ८ अर्ब ९८ करोड पुगेको छ ।

यस्तै कर्मचारी खर्च ४ अर्ब ६१ करोडबाट बढेर ४ अर्ब ९० करोड पुगेको छ । गत आव वैशाखसम्म ३ अर्ब ५६ करोड रहेको कार्यालय सञ्चालन खर्च चालु आव सोही अवधिमा ४३ अर्ब ७३ करोड पुगेको छ ।

वैशाखसम्म सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकको छ । बैंकले ९९ करोड ४९ लाख नाफा कमाउँदा गरिमा विकास बैंक दोस्रोमा छ । १७ मध्ये १२ विकास बैंक नाफामा छन् भने पाँच विकास बैंक नोक्सानीमा छन् । राष्ट्रिय स्तरका आठसहित १२ विकास बैंक नाफामा हुँदा क्षेत्रीय स्तरका विकास बैंकको अवस्था कमजोर देखिन्छ ।

१. मुक्तिनाथ विकास बैंक : ९९ करोड ४९ लाख

२. गरिमा विकास बैंक : ७५ करोड ७४ लाख

३. शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक : ५८ करोड ३८ लाख

४. महालक्ष्मी विकास बैंक : ४६ करोड १८ लाख

५. कामना सेवा विकास बैंक : ४० करोड ४१ लाख

६. लुम्बिनी विकास बैंक : ३४ करोड २२ लाख

७. सांग्रिला डेभलपमेन्ट बैंक : २७ करोड ९१ लाख

८. ज्योति विकास बैंक : २३ करोड ९ लाख

९. मितेरी डेभलपमेन्ट बैंक : ६ करोड ५५ लाख

१०. कर्णाली डेभलपमेन्ट बैंक : २ करोड ४४ लाख

११. कर्पोरेट डेभलपमेन्ट बैंक : १ करोड ३५ लाख

१२. ग्रिन डेभलपमेन्ट बैंक : १ करोड ६७ लाख

१३. सालपा विकास बैंक : १ लाख नोक्सानी

१४. नारायणी डेभलपमेन्ट बैंक : ६६ लाख नोक्सानी

१५. सिन्धु विकास बैंक : ३ करोड २५ लाख नोक्सानी

१६. सप्तकोसी डेभलपमेन्ट बैंक : ७ करोड २६ लाख नोक्सानी

१७. एक्सेल डेभलपमेन्ट बैंक : २७ करोड नोक्सानी

यता फाइनान्स कम्पनीहरूले १० महिनामा ४२ करोड नाफा कमाएका छन् । गत आव सोही अवधिमा फाइनान्स कम्पनीका नाफा १ अर्ब १५ करोड थियो ।

कर्जा नोक्सानी व्यवस्था १ अर्ब ४२ करोडबाट बढेर २ अर्ब ४ करोड पुगेको छ । कर्मचारी खर्च १ अर्ब १२ करोडबाट बढेर १ अर्ब २१ करोड पुग्दा कार्यालय सञ्चालन खर्च ९५ करोडबाट ९७ करोड पुगेको छ ।

आम्दानी बढ्न नसकेको र कर्जा नोक्सानी व्यवस्थासँगै खर्च बढ्दा फाइनान्स कम्पनीहरूको पनि नाफा घटेको हो । फाइनान्स कम्पनीमा सबैभन्दा धेरै नाफा मञ्जुश्रीको देखिन्छ । १७ मध्ये आठ फाइनान्स नोक्सानीमा हुँदा मञ्जुश्रीले भने सबैभन्दा धेरै २० करोड ४३ लाख नाफा कमाएको हो ।

१. मञ्जुश्री फाइनान्स : २० करोड ४३ लाख

२. गोर्खाज फाइनान्स : ६ करोड ५४ लाख

३. आईसीएफसी फाइनान्स : ४ करोड ९० लाख

४. श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स : ३ करोड ५८ लाख

५. नेपाल सेयर मार्केट एन्ड फइनान्स : २ करोड ९ लाख

६. मल्टिपर्पस फाइनान्स : १ करोड ९४ लाख

७. क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स : १ करोड ५३ लाख

८. बेस्ट फाइनान्स : ३९ लाख

९. नेपाल फाइनान्स : १२ लाख नोक्सानी

१०. गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्स : ४ करोड ९८ लाख नोक्सानी

११. रिलायन्स फाइनान्स : ५ करोड ३ लाख नोक्सानी

१२. सेन्ट्रल फाइनान्स : ५ करोड २४ लाख नोक्सानी

१३. प्रोग्रेसिभ फाइनान्स ः ६ करोड १४ लाख नोक्सानी

१४. गुडविल फाइनान्स : ७ करोड ४९ लाख नोक्सानी

१५. जानकी फाइनान्स : ९ करोड ७० लाख नोक्सानी

१६. समृद्धि फाइनान्स : १३ करोड ३६ लाख नोक्सानी

१७. पोखरा फाइनान्स : १७ करोड ३४ लाख नोक्सानी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?