
३० जेठ, बुटवल । भैरहवाका व्यवसायीहरूले चीन सरकारका मन्त्रीसँग भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट चीन–भैरहवा नियमित उडानका लागि सहजीकरण गरिदिन माग गरेका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघले लुम्बिनी भ्रमणमा आएका चीनका राष्ट्रिय धार्मिक सांस्कृतिक मामिला मन्त्री छेङ रुइफेङलाई अनुरोध पत्र बुझाउँदै यस्तो माग गरेको हो ।
करोडौंको संख्यामा रहेका चीनका बौद्ध धर्मावलम्बीहरूलाई सहज रुपमा बुद्ध जन्मस्थल लुम्बिनीमा आउन चिनियाँ एयरलाइन्सको नियमित उडान जरुरी हुने भएकाले मन्त्री रुइफेङलाई लिखित अनुरोध पत्र बुझाइएको संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।
संघले बुद्ध जन्मस्थल लुम्बिनीमा बर्थिङ अस्पताल लगायत कृषि र पर्यटन क्षेत्रमा लगानीका लागि चिनियाँ लगानीकर्तासँग सहजीकरण गरिदिन पनि मन्त्री रुइफेङलाई अनुरोध गरेको अध्यक्ष श्रेष्ठले बताए ।
अनुरोध पत्र बुझेपछि मन्त्री रुइफेङले नेपाल सरकारले नीतिगत सहजीकरण गरेमा लुम्बिनी क्षेत्रमा लगानी गर्न चिनियाँहरू तयार रहेको बताउंदै नियमित हवाई उडानका लागि समेत आफूले विभागीय मन्त्रालयसँग समन्वय गर्ने आश्वासन दिएका थिए ।
त्यसअघि मन्त्री रुइफेङले नेपाल चीनमैत्री समाज लुम्बिनी र लुम्बिनी विकास कोषका पदाधिकारीसँगको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर आगामी दिनमा गर्न सकिने सहकार्य, चिनियाँ विहारमार्फत लुम्बिनीको पर्यटन प्रवद्र्धन एवम् नेपाल र चीनको सांस्कृतिक सम्बन्ध दिगो बनाउन आफू सकारात्मक रहेको बताएका थिए ।
मन्त्री रुइफेङले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्करणी पोखरी, शान्ति दीपको भ्रमण गर्दै लुम्बिनीबारे जानकारी लिएका थिए ।
मन्त्री रुइफेङसँगै नेपालका लागि चिनियाँ राजदूत छेङ सोङ्, चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासनका धार्मिक मामिला ब्यूरो प्रमुख हुआंग झिहुई लगायत भ्रमणमा आएका हुन् । एक दिने भ्रमण सकेर चिनियाँ टोली बुधबार नै फर्केको छ ।
प्रतिक्रिया 4