+

महिला भलिबलको सदाबहार दाबेदार न्यु डायमन्ड साख जोगाउने दबाबमा

२०८१ जेठ  ३१ गते ७:५० २०८१ जेठ ३१ गते ७:५०
महिला भलिबलको सदाबहार दाबेदार न्यु डायमन्ड साख जोगाउने दबाबमा

३१ जेठ, काठमाडौं । नेपाली महिला भलिबलमा १७ वर्षयता राज गरेको टिम हो, चन्द्रगिरि न्यु डायमन्ड भलिबल टिम । सदाबहार उपाधिको प्रबल दाबेदार र विभागीय टिमलाई समेत दबाबमा राख्न सक्ने यो टिमले यसपालि आठौं प्रधानमन्त्री कप एनभीए लिगमा भने सोचेअनुरुपको नतिजा निकाल्न सकेन ।

नयाँ खेलाडीको आगमन, व्यवस्थापन पक्ष पनि अस्थीर रहिरहँदा हाल न्यु डायमन्डको नतिजा पछाडि धकेलिन पुग्यो । यसपटक न्यु डायमन्ड ३ विभागीय टिम र एभरेस्ट भलिबल क्लब बुटवलभन्दा पछि पर्दै ६ टिम सहभागी लिगमा पाँचौं बन्यो ।

पछिल्लो वर्षहरुमा राष्ट्रिय महिला भलिबल टिममा पनि न्यु डायमन्ड भलिबल क्लबकै खेलाडीको दबदबा थियो । कप्तान अरुणा शाही, प्रतिभा माली, सलिना श्रेष्ठ यी खेलाडीको भलिबलको पहिलो पाठशाला न्यु डायमन्ड नै हो । हाल पनि रिमा कुँवर, प्रगति नाथ यी खेलाडीहरु राष्ट्रिय टिममा डेब्यु गरिसकेका खेलाडी हुन् ।

यस पटक आफूले पनि प्रशिक्षणमा समय दिन नभ्याएको र व्यवस्थापकीय पक्षको दौडधुपले टिमको नतिजामा असर परेको प्रशिक्षक कुमार राई बताउँछन् । ‘यस पटक मैले टिमलाई प्रशिक्षण गराउने समय नै पाइनँ । कर्भड हल र होस्टलको काम पनि आफैंले हेर्नु पर्दा यसपालीको नतिजा सोचे अनुरुप आएन’, उनी भन्छन् ।

प्रशिक्षक राईले हाल एउटा घर पूरै भाडामा लिएर खेलाडीको होस्टलको रुपमा प्रयोग गरिरहेका छन् । हाल चन्द्रागिरि–१३, पुरानो नैकापमा यो क्लबको कभर्ड हल र होस्टल बनिरहेको छ । यही चटारोले प्रशिक्षक तथा व्यवस्थापक कुमार राईले यो पटकको एनभीए लिग प्रशिक्षणमा समय दिन नसकेको बताउँछन् ।

खेलाडीहरु आफैं स्वतस्पूर्त यस लिगका लागि तयारी गरे । ‘नयाँ खेलाडी आउने क्रममा छन्, ती खेलाडीलाई व्यवस्थापन, खर्चको पाटो कसरी मिलाउने कभर्ड हल र होस्टेलको निमार्णतिर पनि आफैं कुद्नुपर्ने भएकाले यस लिगमा हामी पछि पर्‍यौं’, राईले भने ।

नयाँ खेलाडीको काँधमा क्लब

हाल न्यु डायमन्डको. टिममा वाल्मिका आचार्य, सलिना श्रेष्ठ, रिमा कुँवर र प्रतिभा मालीबाहेक बाँकी सबै खेलाडी नयाँ छन् । सेटर प्रगतिनाथ पनि केही अनुभवी खेलाडी हुन् ।

विगतका अनुभवी खेलाडी विभिन्न कारणले पलायन हुँदा क्लबको साख जोगाउने भार नयाँ खेलाडी काँधमा आएको छ । नयाँ खेलाडीको अनुभवको कमी हुने र एकैचोटि बलिया प्रतिस्पर्धीसँग भिड्नुपर्दा अपेक्षित नतिजा नआइरहेको प्रशिक्षक राई सुनाउँछन् ।

‘नयाँ खेलाडीले पुरानालाई प्रतिस्थापन गरिरहेका छन् । पुरानो पुस्ताले नयाँलाई हस्तान्तरण गर्दै जाँदै गरेको अवस्था छ’, राई भन्छन्, ‘नयाँ पुस्ताले त्यो अभिभारा सम्हाल्न नसकेको मात्रै हो ।’

प्रशिक्षक कुमार राई ।

न्यु डायमन्ड क्लबकी पुरानो खेलाडीसमेत रहेकी ललिता नाथ हाल क्लबकी सहायक प्रशिक्षक पनि हुन् ।  उनी भन्छिन्, ‘टिममा सबै एकै तहका खेलाडी भए । म्याच एक्सपोजर भएन । जसले गर्दा हामी फिनिसिङमा चुक्यौं ।’

ललिता आफ्नो पालाको र अहिलेको खेलाडीमा भने धेरै अन्तर पाउँछिन् । उनी भन्छिन्, ‘हाम्रो पालोमा र अहिलेको बच्चाहरुमा स्किलको फरक छ । नयाँ जेनेरेसनमा नयाँ जोश, जाँगर र नयाँ ज्ञान छ ।’

अहिलेको खेलाडीमा क्षमता भए पनि अनुभवको कमी र डरले ठूलो खेलमा प्रभाव पारेको उनको बुझाइ छ ।

यसपालि आफूले समय दिन नभ्याए पनि खेलाडीको प्रदर्शनबाट प्रशिक्षक राई भने सन्तुष्ट छन् । ‘हाम्रो यो पालीको खेलमा म सन्तुष्ट छु । एपीएफसँग ५ सेट खेल्यो । नेपाल पुलिससँग पनि प्रतिस्पर्धात्मक नै खेले आर्मीसँग पनि ५ सेट खेल्यौं’, भन्छन्, ‘एभरेस्टसँग भारतीय खेलाडी हुँदा उनीहरु आत्तिएर खेल्न सकेनन् ।’

हाल क्लबमा खेलाडी लामो समय टिक्न नसक्नुको अर्को कारण मासिक तलब नहुनु पनि हो । विभागीय टिमसँगै प्रतिस्पर्धामा उत्रिर्ने न्यु डायमन्डका खेलाडी प्रायः विद्यालयस्तर पढ्दै गरेका विद्यार्थी छन् ।

उनीहरुको पढाइ र खाना बस्नको खर्च प्रशिक्षक राईले नै व्यवस्थापन गरिरहेका हुन्छन्् । ‘सिभिल क्लब हो । यहाँ खेलाडीको विद्यालय खर्च, खाना बस्नको सबै व्यवस्था मिलाउनु पर्छ । जसले गर्दा टिममा लथालिंग छ’, उनी भन्छन् ।

नयाँ कभर्ड हल र होस्टेलको काम सकिएपश्चात भने खेलाडीलाई दिइने अन्य सुविधाको बारेमा पनि सोच्ने योजना भइरहेको प्रशिक्षक राईले बताए । ‘अब अहिले कभर्ड हल र होस्टलको काम भदौसम्ममा सक्न पाए । त्यसपछि हामी खेलाडीको प्रशिक्षण र खर्चको बारेमा पनि योजना बनाइरहेका छौं’, उनले भने ।

प्रशिक्षक राईे कभर्ड हल र होस्टेलको काम सके नयाँ खेलाडीको साथमा न्यु डायमन्डको पुरानो साख फर्काउन चाहन्छन् । ‘अहिलेका खेलाडी क्षमतावान, छन् । केही नयाँ खेलाडी आउने क्रममा छन् । सबै व्यवस्थापकीय पक्ष मिलेपछि न्यु डायमन्ड पुनः आफ्नो पुरानो लयमा फर्कन्छ’, उनले अनलाइनखबरसँग भने ।

एनभीए क्लब भलिबल चन्द्रागिरि न्यु डायमन्ड क्लब भलिबल प्रतियोगिता
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय