+
+

नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो

रासस रासस
२०८१ जेठ ३१ गते ९:०७

३१ जेठ, मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई हाल चैतेधान भित्र्याउन भ्याइनभ्याइ छ ।

जिल्लामा यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलचन्द्र तिवारीले बताए ।

विगत चार वर्षदेखि सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम जिल्लामा बढेको उनले बताए ।

‘चैतेधान थन्काएपछि असारमा फेरि धान रोप्नुपर्ने भएकाले गर्मीलाई बेवास्ता गर्दै किसानहरू धान भित्रउन व्यस्त छन्’, उनले भने, ‘यस वर्ष छ हजार सात सय ५५ मेट्रिक टन चैतेधान उत्पादन हुने अनुमान छ ।’

दुई बाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानले चैतेधान लगाउने गरेका छन् ।

तुलनात्मक रूपमा यहाँ मकैभन्दा धान बढी उत्पादन हुने र दुई बाली धान लगाउँदा एक बाली बिक्री गरेर आम्दानी गर्न सकिने हुँदा किसानहरू यसतर्फ आकर्षित भएका प्रमुख तिवारीले बताए ।

विगत चार वर्षदेखि जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा चैतेधान खेतीको क्षेत्र छुट्याएर खेती गरिएको उनले बताए ।

‘जिल्लाको कावासोती नगरपालिका-८ देखि १७, गैंडाकोट नगरपालिका १०, ११, १२ र १३, देवचुली नगरपालिका-१७, मध्यविन्दु नगरपालिका २ र ३,  विनयी त्रिवेणी गाउँपालिका १ र ५, बुलिङटार गाउँपालिका-३ र बौदीकाली गाउँपालिका-४ मा हिउँदे धान भित्र्याउन अहिले किसान व्यस्त भएका छन्’, उनले भने ।

कृषि ज्ञान केन्द्रले चैतेधान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गरी किसानलाई प्रोत्साहन गर्दै आएको छ ।

‘गत वर्ष जिल्लामा एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धान खेती हुँदा छ हजार एक सय २३ मेट्रिक टन धान उत्पादन भएको थियो’, उनले भने, ‘गत वर्षभन्दा यो वर्ष एक सय १५ हेक्टर क्षेत्रफलमा खेती विस्तार भएको छ ।’

बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैतेधान प्रतिहेक्टर चारदेखि पाँच टनसम्म उत्पादन हुने प्रमुख तिवारीले जानकारी दिए ।

‘चैतेधानमा रोग तथा किरा पनि कम लाग्ने भएकाले किसानका लागि यो राम्रो मानिन्छ ’, उनले भने, ‘जिल्लामा विशेष गरी चैते-५ र हर्दिनाथ-१ जातको चैतेधान रोप्ने गरिन्छ ।’

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?