+

युरो २०२४ शुक्रबारदेखि, थाहा पाउनुहोस् यी तथ्य

२०८१ जेठ  ३१ गते ९:५७ २०८१ जेठ ३१ गते ९:५७
युरो २०२४ शुक्रबारदेखि, थाहा पाउनुहोस् यी तथ्य

३१ जुन, काठमाडौं । फिफा विश्वकपपछि सबैभन्दा ठूलो फुटबल प्रतियोगिता अर्थात् मिनी विश्वकपको रुपमा लिइने युईएफए युरो २०२४ भोलि शुक्रबारदेखि सुरु हुँदैछ ।

युरोको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म जर्मनीमा आयोजना हुँदैछ । अघिल्लो संस्करण युरो कपको विभिन्न ११ देशको ११ सहरमा आयोजना भएको थियो । तर यसपटक युरोकप एकै देशमा मात्र आयोजना हुन लागेको छ ।

युरो २०२४ मा युरोपका उत्कृष्ट २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको पहिलो खेल आयोजक जर्मनी र स्कटल्याण्डबीच शुक्रबार नेपाली समय अनुसार  मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

तेस्रो पटक जर्मनी आयोजक

युरो जर्मनीमा हुन लागेको यो तेस्रो पटक हो भने एकीकृत जर्मनी भएपछि दोस्रो पटक हुन लागेको हो । यसअघि सन् १९८८ मा पहिलो पटक पश्चिम जर्मनीमा भएको थियो भने २०२० को संस्करण युरोकपको ११ देशमा युरोका खेल हुँदा जर्मनीको म्युनिखमा चार खेल भएको थियो । सन् २००६ मा जर्मनीले एक्लै पिफा विश्वकप समेत आयोजना गरेको थियो ।

जर्मनीले टर्कीलाई पछि पार्दै आयोजनाको अधिकार पाएको थियो ।

सन् १९६० मा सुरु भएको युरो हरेक चार वर्षमा हुँदै आएको छ । कोभिड १९का कारण २०२० मा हुनुपर्ने प्रतियोगिता एक वर्ष ढिला २०२१ मा भएको थियो । अहिले प्रतियोगिता फेरि युरो चार वर्षे साइकलमा फर्किएको छ ।

युरो कपको ओपनिङ र फाइनल कहाँ हुन्छ ?

युरो कपको उद्घाटन खेल जुन १४ मा जर्मनीको म्युनिखमा हुँदैछ । जहाँ आयोजक जर्मनीले स्कटल्याण्डसँग खेल्नेछ ।

यस्तै युरोको समूह चरणको खेल जुन २६ सम्म सञ्चालन हुनेछ भने नकआउट चरणका खेलहरु जुन २९ देखि सुरु हुनेछ । प्रतियोगिताको फाइनल जुलाई १४ मा बर्लिनस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।

चौथो पटक च्याम्पियन बन्ने जर्मनीको दाउ

तेस्रो पटक युरो आयोजना गर्न लागेको जर्मनीले स्पेनसँगै सर्वाधिक ३ पटक उपाधि जितेको छ । यस पटक घरेलु मैदानमा उपाधि जित्दै चौथो पटक च्याम्पियन बन्ने जर्मनीको दाउ छ ।

पश्चिम जर्मनी हुँदा १९७२ र १९८० र एकिकृत जर्मनी भएपछि १९९६ मा जर्मनीले युरो उपाधि जितेको थियो । तर पछिल्ला अन्तर्राष्ट्रिय नकआउट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेको जर्मनीलाई उपाधि जित्न चुनौती पनि सँगसँगै छ ।

जर्मनीले युरो जित्न नसकेको २८ वर्ष भइसकेको छ । त्यसैले यस पटक घरेलु मैदानमै प्रतियोगिता हुँदा त्यस अवसरलाई सदुपयोग गर्ने जर्मनीको लक्ष्य छ ।

जर्जिया नयाँ टिम, चार टिमको पुनरागमन

यस पटक युरो २०२४ मा एक मात्र नयाँ टिम छ । जर्जियाले यसै संस्करणमार्फत युरोमा डेब्यु गर्दैछ । साविक विजेता इटलीसहित १९ टिम अघिल्लो संस्करण खेलेकै टिम छन् ।

यस्तै अल्वानिया, स्लोभेनिया, सर्विया र रोमानियाले पनि पुनरागमन गरेका छन् ।

सन् २०१६ मा डेब्यु गरेका अल्वानिया पछिल्लो पटक युरोमा छनोट भएको थिएन । पाँच पटक युरो खेलेको रोमिया पनि २०१६ पछि पहिलो पटक छनोट भएको हो । सर्विया र स्लोभेनिया सन् २००० पछि पहिलो पटक युरो खेल्दैछन् ।

यस पटक छनोट हुन नसकेका ठूला टिममा स्वीडेन, रुस र वेल्स हुन् । यस्तै एर्लिन हालान्ड र मार्टिन ओडेगार्ड जस्टा स्टार भएको नर्वे पनि छनोट हुन सकेनन् ।

युरो २०२४ समूह विभाजन

समूह ए : जर्मनी, स्कटल्याण्ड, हंगेरी, स्वीट्जरल्याण्ड

समूह बी : स्पेन, क्रोएसिया, इटली, अल्वानिया

समूह सी : इंग्ल्याण्ड, डेनमार्क, सर्विया, स्लोभेनिया

समूह डी : फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड, अष्ट्रिया

समूह ई : बेल्जियम, स्लोभाकिया, रोमानिया, युक्रेन

समूह एफ : पोर्चुगल, टर्की, चेक रिपब्लिक, जर्जिया

प्रतियोगिताको ढाँचा

अघिल्लो संस्करण जस्तै यस पटक पनि युरोमा २४ राष्ट्रको सहभागिता रहनेछ । सन् २०१६ मा फ्रान्समा भएको युरोदेखि २४ टिमको सहभागिता हुन थालेको हो ।

सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर युरो खेलाइनेछ । हरेक समूहमा ४-४ टिम हुनेछन् ।

प्रतियोगिता लिग कम नकआउट शैलीमा खेलाइनेछ । प्रतियोगिताको उद्घाटन खेल म्युनख स्थित फुटबल एरेना म्युनिखमा हुनेछ ।

समूह चरणमा ६ समूहको गरी कूल ३६ खेल हुनेछन् । हरेक समूहको शीर्ष दुई टोली सिधै अन्तिम १६ मा प्रवेश गर्नेछन् ।

यस्तै तेस्रो हुने ६ मध्ये उत्कृष्ट ४ टोलीले पनि अन्तिम १६ मा स्थान बनाउनेछन् । अन्तिम १६ देखि फाइनलसम्म नकआउट चरणमा १५ खेल हुनेछ र युरोमा कूल ५१ खेल हुनेछ । फाइनल खेल ओलम्पिक स्टेडियम बर्लिनमा हुनेछ ।

दश स्टेडियममा हुनेछ खेल

यस पटक युरोका खेलहरु जर्मनीको विभिन्न १० सहरको १० स्टेडियममा खेलाइनेछ । हरेक स्टेडियमा सुविधा सम्पन्न र आकर्षक छन् । जर्मनीमा युईएफएको क्षमता धेरै भएका मैदान छन् । युरो कपका लागि कम्तीमा ३० हजार दर्शक क्षमता भएको स्टेडियमा हुनुपर्नेछ ।

जसमा युरो २०२४ का लागि दश भेन्यू तय गरिएको छ । त्यसमध्ये ९ भेन्यु २००६ को विश्वकपमा प्रयोग गरिएको थियो ।

युरो २०२४ खेलाइनेमध्ये डुसेलडोर्फ मात्र २००६ को विश्वकपमा प्रयोग गरिएको थिएन तर यो मैदान १९७४ को फिफा विश्वकप र १९९८ को युरोमा प्रयोग गरिएको थियो ।

डुसेलडोर्फ सहित बर्लिन, म्युनिख, डर्टमण्ड, स्टुटगार्ड, फ्रांकपर्ट, गेल्सेनकिरचेन, ह्यामवर्ग, कोलोन र लाइपजिगमा युरो २०२४ का खेलहरु सञ्चालन हुनेछन् ।

मिनी विश्वकप युरो कप २०२४
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय