
३१ जेठ, काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा शिक्षकहरुको अन्तर पालिका सरुवामा सहमति नदिने भएको छ ।
शैक्षिक सत्रको बीचमा हुने शिक्षक सरुवा तथा पदपूर्तिका कारण शैक्षिक गुणस्तरमा प्रभाव पर्ने भन्दै पालिकाले अन्य पालिकामा सरुवा भई जान शिक्षकलाई सहमति नदिने सूचना जारी गरेको छ ।
‘शैक्षिक सत्र २०८० को कक्षा ८ को परीक्षाको नतिजाबारे विश्लेषण गर्दा अपेक्षित शैक्षिक गुणस्तर कायम नहुनुमा शैक्षिक सत्रको बीच बीचमा हुने शिक्षक सरुवा र पदपूर्ति गर्न लाग्ने समयावधि एक प्रमुख कारण भएको ठम्याइ हुन जाँदा हाललाई अर्को व्यवस्था वा निर्णय नहुदाँसम्म फेदीखोला गाउँपालिकादेखि अन्यत्र स्थानीय तहमा सरुवा भइ जानलाई सहमति नदिइने…’, पालिकाको सूचनामा भनिएको छ ।
शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ लागु भएदेखि गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा धेरै शिक्षकले सरुवा माग गर्दै निवेदन दिएका छन् । त्यही बेला गाउँपालिकाले शैक्षिक सत्रको बीचमा सरुवा नदिने सूचना जारी गरेको हो ।
संविधान र गाउँपालिकाको शिक्षा ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरेर शैक्षिक सत्रको बीचमा शिक्षक सरुवामा सहमति नदिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले जनाएका छन् ।
१४ जेठमा शिक्षा मन्त्रालयले जारी गरेको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ ले ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्लान्तर सरुवा फुकुवा गरेको थियो ।
प्रतिक्रिया 4