+
+

क्याम्पसमा नृत्य प्रस्तुति दिन सन्नी लियोनीलाई केरला विश्वविद्यालयले दिएन अनुमति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १६:५६

काठमाडौं । भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ । यो स्टेज शो जुलाई ५ मा हुने तय भएको थियो ।

विश्वविद्यालयका उपकुलपति डा. मोहनन कुन्नम्मलले कार्यक्रमलाई प्रतिबन्ध लगाउने निर्णय गर्दै अभिनेत्री लियोनीको उक्त शोलाई सूचीमा समावेश नगर्न रजिस्ट्रारलाई निर्देशन दिएका छन् ।

उनले संघलाई क्याम्पस भित्र वा बाहिर यस्ता कार्यक्रम आयोजना गर्न नदिन निर्देशन समेत दिए । स्रोतहरूले एनडीटीभीलाई बताएअनुसार कलेज युनियन पनि कार्यक्रम आयोजनाका लागि अधिकारीबाट स्वीकृति लिन असफल भएको थियो ।

कोचिनको एक विश्वविद्यालयमा भएको भागदौडको घटनामा चार जना विद्यार्थीले ज्यान गुमाएपछि राज्य सरकारले कलेज क्याम्पसमा बाहिरी डीजे पार्टी, म्युजिकल नाइट लगायत कार्यक्रममा प्रतिबन्ध लगाएको थियो ।

गत वर्ष कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (कुस्याट) मा भएको भागदौडमा चार विद्यार्थीको मृत्यु भएको थियो भने ६४ जना घाइते भएका थिए । निकिता गान्धीको नेतृत्वमा क्याम्पसको ओपन–एयर अडिटोरियममा आयोजित संगीत कन्सर्टको क्रममा यो दु:खद घटना भएको हो ।

केरला उच्च अदालतले वार्षिक टेक्नोलोजी फेस्टिभलमा उक्त भागदौड ‘केही असफलता’को कारण भएको र ‘कहिल्यै त्यस्तो हुनुहुँदैनथ्यो’ भनेर फैसला गरेको छ ।

४३ वर्षीया अभिनेत्री सन्नी लियोनीले ‘जिस्म २’, ‘ज्याकपट’, ‘सुटआउट एट वडाला’ र ‘रागिनी एमएमएस २’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?