+
+

कांग्रेस अहिले मिसन-२०८१ मै छ : उपसभापति खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३१ गते १८:२४

३१ जेठ, सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस अहिले मिसन–२०८४ नभई मिसन ०८१ मै रहेको बताएका छन् । बिहीबार कांग्रेस दैलेखको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उपसभापति खड्काले देशको समृद्धि र विकास कांग्रेसको मूल मिसन भएको बताए ।

उपसभापति खड्काले कांग्रेस मिसन–२०८४ तर्फ केन्द्रित नरहेको समेत प्रस्ट पारे । ‘कांग्रेस अहिले मिसन २०८१ मै छ । २०८२ र २०८३ मा देश विकासका लागि के गर्ने, पार्टीलाई आम जनतासम्म कसरी पुर्‍याउने भन्नेमा केन्द्रित छौँ’ उनले भने, ‘यति गरेपछि २०८४ मा कांग्रेस एक्लै चुनाव लडेर तीनै तहमा बहुमत ल्याउँछ ।’

खड्काले मुलुकमा अहिले अप्ठ्यारो परिस्थिति सृजना हुन थालेको बताउँदै त्यो परिस्थितिबाट देशलाई निकास दिन कांग्रेस अगाडि बढ्न आवश्यक रहेको बताए । उनले देशको विकास र समृद्धिका लागि फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए ।

उपसभापति खड्काले जनप्रतिनिधि र पार्टीबिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताए । तीनै तहका जनप्रतिनिधिहरू आफ्नो पार्टी, चुनाव जिताउने कार्यकर्ता र मतदाताप्रति उत्तरदायी नहुँदा समस्या आएको समेत बताए ।

‘जनप्रतिनिधि पार्टीपंति र जनताप्रति उत्तरदायी हुन जरुरी छ’ उनले भने, ‘निर्वाचित जनप्रतिनिधि र सोही तहका पार्टी प्रतिनिधिबिच महिनामा एक पटक बैठक बस्ने, पार्टी र जनताको निर्देशन अनुसार प्रस्तुत हुने पार्टी विधानमै छ ।’

उनले प्रतिकुल अवस्थामा कांग्रेसलाई बचाएर राखेका पार्टी कार्यकर्तालाई देखिने गरेर जिम्मेवारी तहमा रहेकाहरू सुध्रिन जरुरी रहेको बताए । जमिनमा बसेर कांग्रेसलाई बचाएर राख्ने पार्टीका सदस्यहरू जुनसुकै तहको नेतृत्वमा रहेकाहरू सुध्रिएको देख्न चाहेको खड्काले बताए । ‘नेतृत्वमा आएको रूपान्तरण देखिने गरी सुधारको अभियान कांग्रेसले खोजेको छ,’ उनले भने ।

खड्काले पार्टीको महासमिति बैठकमा प्रस्तुत दस्ताबेजहरूमा महासमिति सदस्यहरूले दिएका सुझावहरूलाई दस्तावेजीकरण गर्ने तयारी भइरहेको बताउँदै चाँडै बस्ने केन्द्रीय समिति बैठकले पारित गर्ने बताए ।

‘त्यसपछि अहिले देखिएको पार्टीको नीति, विधि, परराष्ट्र नीति, आर्थिक नीतिलगायत मुलुकको समसामयिक राजनीति विषयमा पार्टीको नीति स्पष्ट हुन्छ’ उपसभापति खड्काले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?