+

भेगन जाम्पा सबैभन्दा उत्कृष्ट

२०८१ जेठ  ३२ गते ६:५३ २०८१ जेठ ३२ गते ६:५३
भेगन जाम्पा सबैभन्दा उत्कृष्ट

३२ जेठ, काठमाडौ । अहिलेसम्मको प्रदर्शनको आधारमा अस्ट्रेलिया टी–ट्वान्टी विश्वकप २०२४ मा उपाधिका लागि साँच्चै बलियो न बलियो दावेदार देखिएको छ । अनि अस्ट्रेलियालाई यति मजबुत बनाउन प्रमुख भूमिका खेल्ने खेलाडी हुन्, लेग स्पिनर एडम जाम्पा ।

अस्ट्रेलियाले आइतबार स्कटल्यान्डको सामना गर्दैछ र यो उसको लिग चरणको अन्तिम खेल हुनेछ । यो खेलअगाडि नै अस्ट्रेलिया सुपर–एटमा पनि पुगिसकेको छ । स्कटल्यान्डसामु जाम्पालाई आफ्नो प्रदर्शनमा अझ थप सुधार गर्ने अवसर बन्ने छ ।

नामिबियाविरुद्धको खेल अगाडि नै उनले एउटा कीर्तिमान आफ्नो नाममा लेखाए र यो थियो, अस्ट्रेलियाका लागि टी–ट्वान्टी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडीको । सर भिभन रिचर्डस स्टेडियममा भएको खेलमा उनले १२ रन मात्र खर्चे र चार विकेट लिए ।

टी–ट्वान्टी विश्वकपका १७ खेलमा उनले ३१ विकेट लिएका छन् । यसक्रममा उनले माइकल स्टार्कलाई उछिनेका छन् । टी–ट्वान्टी विश्वकपमा उनको अहिलेसम्मको प्रदर्शन वास्तमवै अविश्वसनीय छ ।

उनले ११.९३ का औसतले विकेट लिएका छन् । अनि उनको इकोनोटी रेट रहेको छ, ५.९६ । अझ उनको यी खेलमा उत्कृष्ट प्रदर्शन भनेको १९ रनमा पाँच विकेट लिएको छ । यसै क्रममा उनी अस्ट्रेलियाका लागि टी–ट्वान्टी क्रिकेटमा सय विकेट लिने पहिलो बलर पनि बने । उनले यो सय विकेटका लागि ८३ खेल खेलेका छन् । पछिल्लो वान डे विश्वकपमा अस्ट्रेलियालाई च्याम्पियन बनाउन पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

अस्ट्रेलियाले सन् २०२१ मा टी–ट्वान्टी विश्वकपको उपाधि जित्दा पनि उनी टिमका एक सदस्य थिए । यस्तोमा भन्न के पनि सुरु भएको छ भने जाम्पा अस्ट्रेलियाका लागि ‘ह्वाइट बल’ क्रिकेटमा अहिलेसम्मकै एक उत्कृष्ट खेलाडीमध्ये एक हुन् । विशेषतः टी–ट्वान्टी क्रिकेटमा लेग स्पिनर केही महँगो सावित हुने गर्छन् । यी सबैका बावजुत पनि ३२ वर्षीय यी खेलाडीले जसरी खेलिरहेका छन्, त्यो आफैमा अब्बल दर्जाको रहेको छ ।

जाम्पाको व्यक्तित्वको एउटा ठूलो विशेषता हो, उनी भेगन हुन् । उनी आफूलाई भेगनका रूपमा प्रस्तुत गर्दा गर्व महसुस गर्छन् । शाकाहारी भन्दा पनि माथिको भयो, भेगन हुनु भनेको । यसमा पशुसँग जोडिएका केही पनि उत्पादन समेत उपयोग गरिन्न । यसले के खेलाडीको प्रदर्शनमा फरक पर्छ त ? जाम्पा भन्छन्, केही पनि फरक पर्दैन् । सन् २०१३ देखि उनी भेगन भएका हुन् । यसका लागि उनले उत्तिकै मिहिनेत पनि गर्नु पर्छ, आफ्नो खानाको व्यवस्था गर्न ।

विशेषतः विदेशतिर टुरमा जाँदा जाम्पा आफूलाई चाहिन सक्ने खानाका लागि पहिले नै चाहिने बन्दाबस्त गर्छन् । त्यसैले भनिन्छ, उनी बस्ने होटलकै कोठा पनि भेगनको खानाले भरिएको हुन्छ । एकपल्ट उनले एक हुल गाईलाई देखे र आफूले आफैलाई भने, ‘यो त मेरो आहारा हुन सक्दैन् ।’ त्यसपछि त के चाहियो उनले आफ्नो खाना खाने शैलीमा आकाशपातालको परिवर्तन ल्याए । त्यसैले भेगन शैली पछ्याउने जतिलाई उनी आदर्श हुन सक्छन् ।

आईसीसी टी-२० विश्वकप एडम जाम्पा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय