+
+

‘नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढे’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १०:१९

३२ जेठ, जनकपुरधाम । नेपाल–भारत सीमामा सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढ्दा दुई देशका नागरिकबीचको सम्बन्धमा दरार पैदा भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । उनीहरूले सीमा समस्या वैज्ञानिक तरिकाले व्यवस्थापन गर्नु पर्नेमा पनि जोड दिएका छन् ।

नेपाल–भारत खुल्ला सीमा संवाद समूह सिरहाले बिहीबार सिरहामा आयोजना गरेको ‘नेपाल–भारत खुल्ला सीमा सुमधुर सम्बन्धको आधारशिला’ विषयक अन्तरक्रियामा सहभागीहरुले सो धारणा राखेका हुन् ।

संवाद समूहका केन्द्रीय अध्यक्ष राजिव झाले पछिल्लो समय चेकजाँचको नाममा सर्वसाधारणलाई दुबै देशका सुरक्षाकर्मीबाट दुर्व्यवहारका घटना बढेको बताए । चेकजाँचको नाममा दुई देशका नागरिकमाथि हुने अनुचित घटनाहरुले धार्मिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध चिसिँदै गएको उनको तर्क छ । ‘खुल्ला सीमाले हुने तस्करी, लागूऔषध ओसारपसार, अपराध प्रहरी प्रशासनले चाहे नियन्त्रण गर्न सक्छन् । तर त्यता तिरभन्दा सर्वसाधारणलाई दुःख दिने नियत देखिन्छ । यस्ता कार्यले दुबै देशको सदियौंको रोटीबेटी सम्बन्धमा दरार पैदा भइरहेको छ,’ उनले भने ।

सीमामा अपराध तस्करी रोक्न तारजाली गर्नु समस्याको समाधान नरहेको भन्दै खुल्ला रुपमै वैज्ञानिक पद्धति अपनाएर व्यवस्थित गर्न सके पर्यटन प्रवद्र्धन हुने उनको विश्वास छ ।

भारत कम्युनिष्ट पार्टी मालेका नेता भुषण सिंहले खुल्ला सीमा व्यवस्थापनका लागि अभियान चलाउनुपर्ने बताए । सीमा सुदृढीकरण नभए अपराध मौलाउँदै जाने र सुरक्षाकर्मीको व्यवहारले धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धमा थप तिक्तता बढ्ने उनको भनाइ थियो ।

सिरहाका प्रबुद्ध नागरिक समाजका अगुवा डा. रामप्रताप यादवले सीमा सम्बन्धी नीति र कानुनमा सुधार आवश्यक रहेको बताए । दुबै देशले राष्ट्रियता बचाएर तस्करी, अपराध न्यूनीकरण गर्दै सुमधुर सम्बन्ध अनुकुल बनाउनु पर्ने विचार उनको छ ।

प्रोफेसर चन्देश्वर प्रसाद यादवले अपराध न्युनीकरणका लागि सीमा व्यवस्थापनको विषयमा थप मन्थन आवश्यक्ता रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?