+
+

लुम्बिनीका मुख्यमन्त्री र संयुक्त राष्ट्रसंघका प्रतिनिधिबीच भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १३:३१

३२ जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हान्ना सिंगर हेम्डीबीच भेटवार्ता भएको छ ।

मुख्यमन्त्री कार्यालय दाङ देउखुरीमा भएको भेटवार्तामा मुख्यमन्त्री महराले संयुक्त राष्ट्रसंघले नेपालमा गरेका कार्यक्रमहरू प्रशंसनीय रहेको बताए ।

नेपालको शान्ति प्रकृयामा अनमिनले महत्वपूर्ण भूमिका खेलेको भन्दै महराले दिगो विकासमा संयुक्त राष्ट्रसंघले गरेका कार्यक्रमहरू सन्तोषजनक रहेको जानकारी बताएका थिए ।

लुम्बिनी प्रदेश सरकारले प्रविधिको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, रोजगार, पूर्वाधार र सांस्कृतिक क्षेत्रमा विकास गर्न खोजेको भन्दै मुख्यमन्त्री महराले सहयोगको अपेक्षा गरे ।

उनले नेपालका भूमिहीन, सुकुमबासी र असहायको पक्षमा प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमबाट सम्बोधन गर्ने प्रयास गरेको भन्दै सहकार्यका लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरे ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमा वातावरणमैत्री र हरियालीयुक्त आधुनिक सहरको योजना निर्माणमा प्रदेश सरकार संयुक्त राष्ट्रसंघसँग सहकार्य गर्न इच्छुक रहेको महराले बताए ।

आवासीय संयोजक हान्ना सिंगर हेम्डीले संयुक्त राष्ट्र संघको शान्ति मिसनमा नेपाली सैनिकको मूल्याङ्कन उच्च रहेको भन्दै नेपाली महिला सैनिकहरूको सहभागिताको पनि प्रशंसा गरिन् ।

उनले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुमबासीका विषयमा नेपालको संविधान विश्वमा उत्कृष्ट रहेको भन्दै उनीहरूको जीवनस्तर माथि उकास्नका लागि प्रदेश सरकारले प्रभावकारी काम गर्नुपर्ने सुझाव दिइन् ।

संविधानको मर्मअनुसार भूमि आयोगले सीमान्तकृत समुदाय, भूमिहीन, मुक्त कमैया र सुकुम्बासीका पक्षमा काम गरोस् भन्ने पक्षमा संयुक्त राष्ट्रसंघ रहेको हेम्डीले बताइन् ।

अति कम विकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुने क्रममा नेपालले प्रशंसायोग्य प्रगति गरेको भन्दै संयोजक हेम्डीले विकासका लागि वित्त परिचालन, जलवायु, सुशासन र सामाजिक सेवामा क्षमता अभिवृद्धि गर्नमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले नेपाललाई सहयोग गर्ने जानकारी दिइन् ।

लुम्बिनी प्रदेशको सांस्कृतिक धरोहरको रुपमा रहेको बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसंघको प्राथामिकतामा रहेको भन्दै हेम्डीले विश्व सम्पदा सूचीमा सूचिकृत लुम्बिनीको थप विकासमा सबैको सहकार्यको आवश्यकता रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?