३२ जेठ, काठमाडौं । बलर पेट कमिन्सले इंग्ल्याण्डलाई टी–२० विश्वकपबाट बाहिर राख्न अष्ट्रेलियाले नेट रन रेटमा अस्वाभाविक हेरफेर गर्ने कहिल्यै सोच्न नसक्ने बताएका छन् । साथै यो क्रिकेटको भावना अनुसार पनि नहुने उनले बताए ।
बिहीबार राति इंग्ल्याण्डले ओमानसँग खेल्नुअघि यस्तो परिस्थिति पनि देखिएको थियो कि यदि अष्ट्रेलियाले स्कटल्याण्डलाई झिनो अन्तरमा हरायो भने इंग्ल्याण्ड समूह चरणबाटै घर फर्किन सक्छ । अनि, अष्ट्रेलियाका फास्ट बलर जोस ह्याजलउडले पनि शीर्ष टोलीमध्ये एक इंग्ल्याण्डलाई बाहिर राख्नु अष्ट्रेलियाको हितमा हुने बताएका थिए ।
तर ओमानमाथि शानदार जित निकालेपछि इंग्ल्याण्ड नेट रेन रेटमा स्कटल्याण्डभन्दा माथि आएको छ ।
कमिन्स, जो गत वर्ष लर्ड्समा जोनी बेयरस्टोको स्पम्पिङलाई लिएर भएको क्रिकेटको खेल भावनाबारे भएको बहसको केन्द्रमा थिए, उनले ह्याजलउडको टिप्पणी गम्भीर नभएको बताएका छन् ।
हरेक पटक खेल्दा आफूहरूको प्रयास शतप्रतिशत दिने हुने उनले बताए । कमिन्सले थपे, ‘यदि तपाईँले यस्तो गर्नुभएन भने शायद त्यो क्रिकेटको भावना विपरीत हुन्छ ।’
आफूले जोश ह्याजलउडसँग समेत कुराकानी गरेको भन्दै उनले भने अष्ट्रेलियाको खेल्ने शैलीमा कुनै परिर्वतन नहुने बताए । ‘खेललाई अगाडि लैजाने र आक्रामक हुने सोच विना म कहिल्यै मैदान प्रवेश गरेको छैन,’ उनले भने ।
यद्यपि समूह चरणबाट जोडेको अंक वा रन रेटले सुपर ८ मा कुनै लाभ नहुने भएकाले अष्ट्रेलियाले स्कटल्याण्डसँग खेल्दा केही खेलाडीलाई आराम दिनसक्छ ।
क्यामरुन ग्रिन, जोश इंग्लिस र एश्टन एगरले हालसम्म अवसर पाएका छैनन् र सम्भवत: उनीहरूले खेल्न सक्छन् ।
मिचेल स्टार्क टिममा फर्किन सक्छन् । इंल्याण्ड विरुद्धको खेलका क्रममा पिडुलामा समस्या भएपछि उनले नामिबियाविरुद्ध खेलेका थिएनन् ।
ओमानसँग भएको खेलमा भने कमिन्स खेलेका थिएनन् । दुवै अवसरमा नाथन एलिस टिममा आएका थिए ।
अष्ट्रेलियन टिममा खेलाडीहरूको रोटेसन (आलोपालो)बारे सोधिएको प्रश्नमा बलर कमिन्सले भने, ‘मैले छनोटकर्ता वा कसैसँग कुरा गरेको छैन । त्यसैले उनीहरूले के सोचेका छैन, मलाई थाहा छैन ।’
क्रिकइन्फोको सहयोगमा
प्रतिक्रिया 4