+
+

कावासोती घटनामा १० बुँदे सहमति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते १६:२६
कावासोती नगरपालिका कार्यालयमा भएको तोडफोड ।

३२ जेठ, चितवन । पूर्वी नवलपरासीको कावासोती घटनामा स्थानीय प्रशासन र स्थानीयवासीबीच १० बुँदे सहमति भएको छ ।

बिहीबार नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएपछि शुक्रबार कावासोती नगरपालिका कार्यालय रहेको आसपास क्षेत्र तनावग्रस्त भएको थियो ।

शुक्रबार अपराह्न दुई पक्षबीच घटनास्थलमा मृतकको शिलालेख तयार गर्ने, मृतक परिवारका एक सदस्यलाई रोजगारी दिने र रोजगारी पुस्तान्तरण गर्ने सहमति भएको छ ।

त्यस्तै मृतकका परिवारलाई ५ लाख नगद र ५ लाख मुद्दती खातामा जम्मा गरिदिने, उनीहरूका बालबालिकालाई १२ कक्षासम्म शैक्षिक सामग्रीसहित पढाइको व्यवस्थापन गर्ने पनि सहमति भएको छ ।

बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो ।

नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको छ ।

घटनाको विषयमा आन्दोलनमा उत्रिएका स्थानीयवासीले पूर्वी नवलपरासीको कावासोती नगरपालिका कार्यालय र मेयर विष्णुप्रसाद भुषालको घरमा तोडफोड गरेका थिए ।

घटनामा परेर ४ जना प्रहरी सामान्य घाइते भएका छन् । आन्दोलन नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।

कावासोती नगरपालिकाको शुक्रबार बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेको थियो ।

नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?