+

मिर्गौलामा पत्थरी किन हुन्छ, उपचार के छ ?

२०८१ असार  २ गते १२:०५ २०८१ असार २ गते १२:०५
मिर्गौलामा पत्थरी किन हुन्छ, उपचार के छ ?

मिर्गौलाले रगतलाई फिल्टर गर्दा त्यसबाट सोडियम र क्याल्सियमका साथै अन्य मिनरल्सका अवशेष राम्रा कणहरूको रुपमा निस्किएर युरेटरको माध्यमबाट ब्लेडरसम्म पुग्छ, जुन पिसाबसँगै शरीरबाट बाहिर निस्किन्छ । तर कहिलेकाहीं रगतमा यी तत्त्वको मात्रा बढेर गयो भने यो किड्नीमा जम्मा भएर बालुवाको कण वा ढुंगाको टुक्राजस्तो आकार ग्रहण गर्छ र यसबाट ब्ल्याडरसम्म पिसाब पुग्ने बाटोमा रोकावट आउँछ ।

कहिलेकाहीं शरीरमा भएका क्याल्सियम, अक्सालेट, फोस्फेट, सोडियम, म्याग्नेसियम, युरिक एसिड लगायत विभिन्न इलेक्ट्रोलाइटयुक्त तत्त्वको तालमेल मिल्दैन, जसले गर्दा मिर्गौलामा पत्थर जम्मा हुने गर्छ ।

मिर्गौलाबाट आएको पिसाब मूत्रनली हुँदै पिसाबथैलीमा आउनुपर्छ । तर यदि मिर्गौला र मूत्रनलीको बनावट राम्रो छैन भने पिसाबथैलीमा आउन सक्दैन । जसले गर्दा पिसाब मिर्गौलामा नै रहिरहन्छ र नुन थिग्रिएर ढुङ्गा बन्छ ।

कसैमा जन्मजात मिर्गौला तथा मिर्गौला मार्गमा समस्या हुनसक्छ । जस्तो- मिर्गौलाको मुख बन्द भएको हुनसक्छ, जसले गर्दा मिर्गौलाबाट पिसाबनली हुँदै पिसाबथैलीमा पुग्न पाउँदैन र पिसाब मिर्गौलामा जम्मा भएर बस्छ । यस्तो हुँदा पनि सोडियम थिग्रिएर ढुंगा बन्न सक्छ । साथै कसैमा जन्मजात रगतमा समस्या हुन्छ । जसले गर्दा पिसाबमा खनिजको मात्रा बढी हुन्छ । जसले मिर्गौलामा पत्थरी बन्ने सम्भावना बढ्छ ।

लामो समय पिसाब रोक्दा यूटीआई अर्थात् पिसाबसम्बन्धी संक्रमणको खतरा हुन्छ । संक्रमणको कारण नै पत्थरी बन्ने समस्या समेत हुन्छ । वीर अस्पतालमा युरोलोजी डिपार्टमेन्टमा आउने बिरामीमध्ये ६० देखि ७० प्रतिशत पत्थरीको समस्या लिएर आउने गर्छन् । अस्पतालहरूको आँकडा हेर्ने हो भने कुल जनसंख्याको ४० प्रतिशत व्यक्तिमा शरीरको कुनै न कुनै ठाउँमा सानो ढुंगा भएको पाइन्छ ।

शरीरको जुनसुकै अंगमा पत्थरी बन्न सक्छ

शरीरको जुनसुकै अङ्गमा ढुङ्गा बन्न सक्छ । तर ९० प्रतिशत भन्दा बढी ढुंगा मिर्गौलामा बन्छ । कुपोषणग्रस्त बच्चाहरूमा पिसाबथैलीमै पनि ढुङ्गा बन्छ भने वृद्ध उमेरका पुरुषमा प्रोस्टेटमा पनि ढुङ्गा बन्न सक्छ ।

युरिक एसिड भएका व्यक्तिलाई पनि मिर्गौलाको पत्थरी हुने सम्भावना बढी हुन्छ । युरिक एसिडको स्तर बढेमा पिसाबमा खनिज बढी हुन्छ, जसले मिर्गौलामा पत्थरी गराउँछ । त्यस्तै, अत्याधिक मोटोपन पनि मिर्गौला पत्थरीको लागि जिम्मेवार मानिन्छ ।

पत्थरीका लक्षणहरू

पत्थरी कुन भागमा छ र आकार कति ठूलो छ भन्ने आधारमा पनि लक्षणहरु फरक हुन्छन् । मिर्गौलामा बन्ने पत्थरी मूत्र बाहिनी नलीमा आएर अड्किन सक्छ । त्यो पत्थरी नलीमा अड्कियो भने त्यसले गर्दा मिर्गौलाबाट पिसाब निस्कन पाउँदैन अड्किन्छ, जसले गर्दा मिर्गौला फुल्छ र ढाड दुख्छ ।

ढुंगा पिसाबथैलीमा आयो भने तल्लो पेट दुख्ने पिसाबथैलीको मुखमा गएर पिसाब नै रोक्ने समस्या हुन सक्छ । ढुंगाले पिसाबको बाटोमा घाउ बनाएर रगत पिसाबमा रगत आउने समस्या समेत देखिन सक्छ ।

पत्थरीको आकार सानो भएमा लक्षण नदेखिने र त्यो पिसाब गर्दा आफैं पनि जान सक्छ  । यद्यपि, मध्यम तथा ठूलो साइजका पत्थरीले दुःख दिन्छ ।

धेरै मात्रामा पानी तथा बियर पिउँदा ढुङ्गा बगेर जान्छ ?

पानी कम पिउँदा शरीर डिहाइड्रेट भएर ढुङ्गा बन्ने सम्भावना बढ्छ । यस्तोमा उचित मात्रामा पानी पिउनुपर्छ । तर शरीरलाई आवश्यक पर्ने भन्दा धेरै पानी पिएमा भने समस्या हुनसक्छ । त्यसैले सामान्य तापक्रममा दैनिक तीन लिटर पानी पिउनु उचित हुन्छ । पानी उचित मात्रामा पिउँदा पिसाब सफा हुन्छ ।

मिर्गौलाले बालुवा आकारको सानो ढुङ्गा बनाउँदा नै प्रशस्त मात्रामा पानी पिएमा त्यो पिसाबको माध्यमबाट बगेर जान्छ । त्यसैले सानो सानो ढुङ्गा भएको व्यक्तिलाई नै चिकित्सकले नै प्रशस्त पानी पिउने सल्लाह दिन्छन् ।

बियर धेरै पिउँदा ढुङ्गा झर्छ भन्ने गलत धारणा छ । बियर पिउँदा अन्य तरल पदार्थको तुलनामा बढी पिसाब हुने भएकाले बियर पिउँदा ढुङ्गा जान्छ भन्ने कुरा आम मानिसले गरेका  हुन् । तर पत्थरीमा बियर पिउनु भनेर सल्लाह दिनु गलत हो । बियर नभएर झोलिलो खानेकुराको मात्रा बढाएर साना ढुङ्गालाई पिसाबको माध्यमबाट बगाउन सकिन्छ ।

उपचार

पत्थरीको प्रकार, आकार, स्थान र संरचनाअनुसार उपचार गर्ने विभिन्न तरिका छन् । साना पत्थरीको उपचार औषधिको सेवनबाटै सम्भव हुन्छ । पत्थरी स–साना छन् भने बिरामीलाई औषधि र पानीको मात्रा बढाउन लगाइन्छ । जसकारण पत्थरी सजिलै पिसाबसँगै बगेर जान्छ ।

पत्थरीको उपचारमा अहिले नयाँ नयाँ प्रविधि भित्रिएका छन् । एउटा शल्यक्रिया विधिलाई यूआरएस भनिन्छ । विशेषगरी पिसाबनलीमा पत्थरी भएको अवस्थामा यस्तो विधिको सहारा लिने गरिन्छ । यस्तो प्रकृतिको उपचार गर्दा पहिले पिसाबनलीबाट पाइप छिराएर पत्थरलाई फोड्ने काम गरिन्छ । जसका लागि फ्लेक्जिबल युरिन लेजरको प्रविधि प्रयोग हुन्छ । अनि पत्थरी झिक्ने काम गरिन्छ ।

अर्को, छालाबाट प्वाल पारेर गरिने उपचार पीसीएनएल विधि हो । यस्तो शल्यक्रिया गर्दा प्वालबाट दुई प्रकारका पाइप छिराइन्छ । एउटा स्टाडर्ड पीसीएनएल पाइपको प्रयोग गरिन्छ । अर्को चाहिं मिनी पीसीएनएल पाइप । खासगरी सानो खालको पत्थरको लागि मिनी पीसीएनएल पाइपको प्रयोग गरिन्छ । त्यही प्वालबाट पाइप छिराएर टेलिस्कोपको माध्यमले पत्थरीको अवस्था अवलोकन गरिन्छ र त्यसै पाइपबाट पत्थर निकालिन्छ ।

निकै ठूलो पत्थर भएको अवस्थामा शल्यक्रिया गरेर निकाल्नुपर्ने हुन्छ, जुन चिरेर पत्थरी निकाल्ने गरिन्छ ।

अर्को उपचार विधि ईएसडब्लुएल हो । यो पनि नचिरीकनै गरिने अप्रेसन हो । यस्तो विधिमा बाहिरबाटै सेकेर पत्थरलाई फुटाइन्छ र त्यो फुटेको पत्थरलाई पिसाबको माध्यमबाट बगाइन्छ ।

पत्थरी नरम छ, १०-१५ एमएमसम्मको छ भने लिट्रोट्रिस्पी अर्थात् बाहिरबाट रे मार्फत उपचार गर्न सकिन्छ ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

डा. रविनबहादुर बस्नेत पत्थरी मिर्गौला
डा. रविनबहादुर बस्नेत
लेखक
डा. रविनबहादुर बस्नेत
प्रमुख कन्सल्टेन्ट युरोसर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४५४८ एमएस, एमसीएच हाल काठमाडौंस्थित वीर अस्पतालमा युरोलोजी विभागीय प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय